नागरिक उड्डयन प्राधिकरणको आम्दानी बढ्यो, वित्तीय प्रगतिमा ४८ प्रतिशतको सुधार

  २०७९ साउन १६ गते १९:१३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ बराबरको आम्दानी गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल शुल्कवापतको ल्याण्डिङ पार्किङ, नेभिगेशन, भाडा आदिबाट आम्दानी गर्न सफल भएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले गत वर्ष छ अर्ब ६८ करोड २९ लाख रुपैयाँ आम्दानी प्रक्षेपण गरेकामा सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ आम्दानी भएको छ ।

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष जम्मा ४३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा २१ अर्ब ३२ करोड एक लाख रुपैयाँ खर्च भएको जनाएको छ । यसमध्ये वित्तीय व्यवस्थापनमा सात अर्ब ५३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएकोमा चार अर्ब ६९ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । कार्यालय सञ्चालनतर्फ चार अर्ब १० करोड ८१ लाख रुपैयाँ विनियोजन भएकोमा तीन अर्ब २६ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणले समग्रमा गएको आवमा वित्तीय ४८.८१ प्रतिशत प्रगति गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको आव २०७९/८० को बजेट तथा कार्यक्रममा विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन, प्राधिकरणको संस्थागत सुधार, उड्डयन तथा हवाइ सुरक्षा सुदृढीकरण, मानव संशाधन विकास र गैरउडान आय वृद्धिलाई प्राथमिकता दिएको छ ।

प्राधिकरणले चालु आव २०७९/८० का लागि ४१ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो आव ४३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पर्यटन पुनरुत्थानका लागि प्राधिकरणले चालु आवभित्र गरिने कामको सुरुवात गरिसकेको जनाएको छ । त्यसका लागि नीतिगत सुधार, पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन र उच्चतम प्रविधिको उपयोग गर्दै सेवालाई सुदृढीकरण बनाइनुका साथै आन्तरिक तथा अन्तराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन व्यवस्थापन तथा सौन्दर्यकरणलगायत कार्य गरिने प्राधिकरणको बजेट तथा कार्यक्रममा उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.