नेपालको हवाई क्षेत्रमा वार्षिक १० लाखको दरले ट्राफिक वृद्धि, विमानस्थलको स्तर बढाउँदै प्राधिकरण

  २०७९ साउन १५ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपालको हवाई क्षेत्रमा वार्षिक १० लाखको दरले ट्राफिक वृद्धि भएको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले आइतबार आयोजित प्राधिकरणको चालु आवको बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।

‘नेपालको हवाई क्षेत्रमा वार्षिक रुपमा १० लाखका दरले ट्राफिकको वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले फुल फेजमा सञ्चालन भएको छ,’ उनले भने ।

नेपालको हवाई क्षेत्रमा आगामी दिनमा वृद्धि हुने ट्राफिक व्यवस्थापनको लागि निजगढमा विमानस्थल निर्माण गर्ने कुरा निर्विवाद र निर्विकल्प भएको महानिर्देशक अधिकारीको भनाई थियो । फास्ट ट्रयाक र रेलमार्गसँग जोडिएको क्षेत्रको हिसाबले पनि निजगढ विमानस्थल ट्रान्सपाेर्ट नेटवर्कको हबको रुपमा विकास हुने उनको भनाई छ ।

चालु आवमा ५ वटा आन्तरिक विमानस्थलका टर्मिनल भवनहरुको नयाँ निर्माण गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । सो योजना कार्यान्वयनका लागि चालु आवको कार्यक्रममा शमावेश गरिएको महानिर्देशक अधिकारीले बताए । उनका अनुसार बिराटनगर, नेपालगञ्ज, जुम्ला, भरतपुर र रामेछाप विमानस्थलको टर्मिनल भवन यही आर्थिक वर्षमा निर्माण गर्ने योजना प्राधिकरणले अगाडि बढाएको छ । त्यस्तै प्राधिकरणले चितवनको भरतपुर विमानस्थलको विस्तारको लागि आवश्यक पहल महानिर्देशक अधिकारीले बताए ।

चालु आवमा गर्ने विभिन्न कार्यक्रमहरुको लागि प्राधिकरणले ४१ अर्ब ८५ करोड ४२ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । चालु आवमा विमानस्थलहरुको स्तरोन्नतीका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चालु आवमा आफ्नो केन्द्रीय कार्यालयको निर्माण कार्य सम्पन्न गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमन हलको निर्माण गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ तथा टर्मिनल भवनको मास्टर प्लान गर्ने र अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण गर्ने कार्यक्रमलाई समावेश गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक बनाउनका लागि पनि धेरै कामहरु अगाडि बढाउने प्राधिकरणका महानिर्देशक अधिकारीले बताएका छन् । त्यसका लागि प्राधिकरणले वहुवर्षे कार्यक्रम अन्तर्गत नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण टी २ प्याकेज १ अगाडि बढाउने भएको छ । साथै, विमानस्थल परिसरमा सञ्चालन हुने सार्वजनिक ट्याक्सीमा जिपिएस जडान गर्ने र ट्याक्सी चालकले लगाउने पोशाकलाई व्यवस्थित गर्ने लगायतका कार्यक्रम अगाडि बढाउने छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिलन टी को मास्टर प्लान निर्माण गर्ने काम चालु आवबाट नै शुरु गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विमानस्थलहरुमा एटिएम, २४ सै मनी एक्सचेन्जको सुविधालाई व्यवस्थित गर्ने जनाएको छ । २२ वर्षपछि पहिलोपटक प्राधिकरणको सेवा शुल्क नियमावली पारित भएको र सोसँगै आम्दानी पनि बढेको जनाइएको छ । बढेको आम्दानीलाई कर्मचारीको बोनसका निम्ति प्रयोग गर्ने भन्दापनि विमानस्थलहरुमा भौतिक पूर्वाधार निर्माण र विस्तारमा खर्च गरिने महानिर्देशक अधिकारीले बताए ।

गत आर्थिक वर्षमा प्राधिकरणले गरेको सबैभन्दा ठुलो काम भैरहमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र सञ्चालन गर्ने कुरा रहेको महानिर्देशक अधिकारीको भनाई छ । सो विमानस्थलमा निर्माण र सञ्चालन गर्ने काम समयमा नै गर्न सक्नु प्राधिकरणको लागि गौरवको विषय भएको उनले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डफिल्ड साइट सार्ने र रिठ्ठेपानीको डाँडा काट्ने बाहेकको काम सकिएको प्राधिकरणले जनाएको छ । सानो संगठनात्मक संरचना रहेको संस्थाले एउटै समयमा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गर्ने कुरा ठुलो भएको महानिर्देशक अधिकारीको भनाइ छ ।

गत अप्रिल महिनामा आइकाओले गरेको अडिटले नेपालको उड्डयन क्षेत्रलाई सकारात्मक देखाएको छ । त्यस्तै इयुले पनि नेपालको उडड्यन क्षेत्रको अडिटको लागि आफु तयार रहेको र अडिटको लागि आउने जानकारीको पत्र पठाएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.