बैंकहरूले अटो क्षेत्रलाई फाइनान्सिङको सुविधा रोके, बाइक बिक्री हुन छाडेपछि धमाधम स्कीम ल्याइँदै

  २०७९ साउन १५ गते १३:४१     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल्स बजार नकारात्मक दिशातिर लागेको छ । सरकारले विदेशी मुद्रा सञ्चितीमा कमी आएको भन्दै दुई पाँग्रेदेखि चार पाँग्रेसम्मका सवारी साधन आयातमा कडाइ गर्दा अटोमोबाइल्स क्षेत्र नकारात्मक दिशातर्फ लाग्न थालेको व्यवसायीहरु बताउँछन् ।

यसअघि गत बैशाख १३ गते सरकारले सूचना जारी गर्दै असार मसान्तसम्मका लागि २५० सीसी क्षमताभन्दा माथिका दुई पाँग्रे तथा चार पाँग्रे कार, जीप तथा भ्यान आयातमा पूर्ण रुपमा रोक लगाएको थियो ।

उक्त समयमा २५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकलको आयातमा पूर्ण रुपमा रोक लगाइयो । साउन लागेसँगै सरकारले आयातमा सहजीकरण गर्ने आशमा रहेका अटो व्यवसायीहरुलाई सरकारले पुनः आगामी भदौ १४ गतेसम्म दुईपाँग्रे सवारी आयातमा झनै कडाई गर्दै प्रतिबन्ध लम्ब्यायो ।

सरकारले १५० सीसी क्षमताभन्दा माथिका दुई पाँग्रे सवारी आयातमा रोक लगाउँदा हाल बजारमा मोटरसाइकलको अभाव हुन थालेको व्यवसायीहरु बताउँछन् । लामो समयदेखि आयात नहुँदा र भएका साधन समेत पर्याप्त मात्रामा बिक्री नहुँदा अटोमोबाइल्स व्यवसायीहरु लगानी डुब्ने खतरा बढेको भन्दै आतिन थालेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य एवंम जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल
सरकारका कारण बजारमा मोटरसाइकल अभाव हुन थालेको बताउँछन् ।

हाल अधिकाशं उपभोक्ताको रोजाइमा पर्ने १५० सीसी क्षमताका मोटरसाइकल आयातमा रोक लगाउँदा समग्र अटो व्यवसाय नकारात्मक दिशातर्फ लागेको उनकोे भनाइ छ ।

उनले नयाँ आयातसँगै व्यवसायीसँग मौज्दातमा रहेका मोटरसाइकल समेत बैंकले फाइनान्सिङको सुविधा नदिँदा बिक्री नभएको बताए ।

‘विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै आयातमा रोक लगाइएको छ, भएका साधन बिक्रीमा समेत बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङको सुविधा उपलब्ध नगराउँदा मोटरसाइकलको बिक्री लगभग ठप्प जस्तै भयो’, उनले भने ।

उनले मौज्दातमा रहेका साधन बिक्री गर्न केही कम्पनीले स्कीम सार्वजनिक गर्न थालेको बताए । आफ्नै फाइनान्स सुविधा भएका केही कम्पनीले मौज्दात बाइकको बिक्री बढाएर बजारलाई चलायमान बनाउन स्कीम ल्याएका हुन् ।

यसअघि पनि विभिन्न कम्पनीले स्कीम ल्याउने गरेको भन्दै निरन्तर मोटरसाइकल बिक्रीका लागि गरिने प्रमोसन मात्रै भएको उनको भनाइ छ ।

बिक्री बढाउन स्कीम

१५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्धसँगै बजारमा रहेका समेत बिक्री हुन छाडेसँगै केही कम्पनीहरुले स्कीम ल्याएका छन् ।

यामाहा मोटरसाइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले फाइनान्ङिको स्कीम सार्वजनिक गरेका हुन् ।

उक्त दुई कम्पनीले हाल बिक्री गर्दै आएको विभिन्न मोडलका मोटरसाइकल बिक्रीका लागि ४० प्रतिशत डाउनपेमेन्टदेखि मासिक किस्ता भुक्तानीका लागि स्कीम सार्वजनिक गरेका हुन् ।

यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले फजेड–एक्स रेट्रो, एमटी १५, जेड आर स्कुटर लगायतका मोडलका बाइक बिक्रीमा स्कीम सार्वजिनक गरेको छ ।

कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गरी बाँकी रकमलाई १८, २४ र ३० महिनाको अवधिमध्ये उपयुक्त एउटा छनोट गरी किस्तामा मोटरसाइकल खरिद गर्न सक्ने गरी स्कीम सार्वजनिक गरेको हो ।

एफजेट एक्स मोडलको बाइकमा ४० प्रतिशत डाउनपेमेन्टदेखि १८ महिनाका लागि मासिक रुपमा १५ हजार २२९, २४ महिनाका लागि मासिक किस्ता ११ हजार ८२८ र ३० महिनाका लागि मासिक किस्ता ९ हजार ८८८ रुपैयाँ तोकेको छ ।

यस्तै, एमटी १५ मोडलका बाइकमा ५० प्रतिशत डाउनपेमेन्ट, १८ महिनाका लागि मासिक रुपमा १४ हजार ३७९, २४ महिनाका लागि मासिक रुपमा ११ हजार १६८ र ३० महिनाका लागि िमासिक किस्ता ९ हजार ३३६ रुपैयाँ तोकिएको छ ।

जेडआर स्कुटरमा समेत कम्पनीले फाइनान्ङिको सुविधा दिएको छ । जेडआर मोडलका स्कुटर खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्टसँगै १८ महिनाका लागि मासिक ९ हजार १५०, २४ महिनाका लागि मासिक ७ हजार १०६ र ३० महिनाका लागि मासिक रुपमा ५ हजार ९४१ रुपैयाँमा फाइनान्स सुविधा दिने कम्पनीले जनाएको छ ।

यस्तै, हिरो मोटरसाइलको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी नेपाल जनरल मार्केटिङ (एनजीएम) ले समेत मोटरसाइकल बिक्रीका लागि फाइनान्स स्कीम सार्वजनिक गरेको छ ।

कम्पनीले एक्सपल्स २०० फोर भी मोडलका बाइक ९ प्रतिशत व्याजदरमै खरिद गर्नसकिने गरी स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ४० प्रतिशत डाउनपेमेन्ट र ९ प्रतिशत ब्याजदरमा विभिन्न मोडलका मोटरसाइकल खरिद गर्न सकिने गरी स्कीम सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.