तोकिएको समयमै निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रको निर्माण सक्न निर्देशन

  २०७९ साउन ३ गते १८:४७     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रको मंगलबार निरीक्षण गरेका छन् । निरीक्षण गर्दै मन्त्री चौधरीले फोहोरपानी प्रशोधन केन्द्रमा भएको निर्माणको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपयायहरुका बारेमा जानकारी लिएका थिए ।

दुईवटा निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा केन्द्रको निर्माण कार्य आगामी डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष रहेको छ । साथै प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताकै अर्को केन्द्रको निर्माण कार्यमा समस्या देखिएको छ ।

निरीक्षण गर्नेक्रममा मन्त्री चौधरीले अन्तिम चरणमा रहेको फोहोरपानी प्रशोधन केन्द्र छिटोभन्दा छिटो संचालन गर्नेगरी तयारी अगाडि बढाउन र निर्माणमा समस्या देखिएको केन्द्रको निर्माण कार्य केकसरी अगाडि बढाउन सकिन्छ भनि एकिन गरी कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिएका थिए ।

कुनै पनि विकास आयोजना तथा कार्यक्रम तोकिएको समयभित्रै सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री चौधरीले आयोजनाका अधुरा काम पूरा गर्नका लागि विकल्प सहितको कार्ययोजना बनाएर अघि बढ्न र स्थानीय वासिन्दासँग गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा पीआइडी आयोजना निर्देशक राजेन्द्र सापकोटाले निर्माण सम्पन्न हुने चरणमा रहेको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न हुनासाथ संचालनमा ल्याउन साझा संरचनाका रुपमा रहेको फोहोरपानी प्रशोधन क्षमता केन्द्र अन्तर्गतको इन्लृट स्ट्रक्चरको निर्माण कार्य सम्पन्न गर्न पहल भइरहेको जानकारी गराएका थिए ।

ललितपुर महानगरपालिकाका ४ का वडाध्यक्ष सन्तोष खड्काले फोहोरपानी प्रशोधन केन्द्र निर्माणका क्रममा आयोजनाबाट गरिएका सडक, ढल तथा खानेपानी सुविधा उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्न आग्रह गर्दै आयोजनामा आइपर्ने समस्या समाधानमा वडाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले काठमाडौं उपत्यकाका नगरपालिकाहरुमा फोहोरपानी व्यवस्थावनको अवस्था, विद्यमान समस्या र समाधानका सम्भावित उपाय तथा पीआइडीका आयोजना प्रवन्धक राजेश कुशवाह र डोस्वा इन्जियरिङ्ग कम्पनीका कन्सल्ट्यान्ट राजनारायण गुप्ताले फोहोरपानी प्रशोधन केन्द्रहरुका बारेमा आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.