विदेशमा पढाइ : सेवा सुविधा र भिसा प्रकृयामा कुन देश राम्राे ?

  २०७९ साउन १ गते १२:१७     विकासन्युज

काठमाडौं । कक्षा १२ को नतिजा आउन केही समय मात्रै बाँकी छ । कक्षा १२ को परिक्षा दिएर बसेका मध्ये ठूलो संख्याका विद्यार्थीहरुले विदेश गएर पढाई र आम्दानीलाई सँगसँगै अगाडि बढाउँछन् । स्नातक तह पढ्दै गरेका र कक्षा १२ को परिक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका हजारौं विद्यार्थीहरुले विदेशमा पढ्न जानको लागि विभिन्न विदेशी भाषा परिक्षा दिने तयारी गरिरहेका छन् ।

कन्सल्टेन्सीहरुका अनुसार यतिबेला सबैभन्दा धेरै विद्यार्थीहरुले आइएलटिस, टोफेल, पिटई जिआरई, जिएमएटी, एसएटी लगायतका भाषा पढ्ने गरेका छन् । साथै जापान गएर पढ्न चाहने विद्यार्थीहरुले जापानी भाषाको पनि अध्ययन गरिरहेका छन् ।

जापान

पछिल्लाे समय नेपाली विद्यार्थीका लागि जापान पढाइ र काम गर्नका लागि सबैभन्दा बढी राेजाइमा पर्छ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका कोषाध्यक्ष अनिल शर्मा पौडेलले जापान अध्ययन गर्न जानको लागि कम्तिमा कक्षा १२ पास भएको विद्यार्थी हुनुपर्ने बताउँछन् ।

जापान पढ्नको लागि उमेरको कसिलो हद नभएको तर, जापानमा गएर पढेर नै केही गर्छु भन्ने आकांक्षा भएको विद्यार्थी हुनुपर्ने उनको भनाइ छ । जापान पढ्न जान चाहेको स्कुल वा कलेजले नै अन्तर्वार्ता लिने हुँदा त्यसमा उत्तिर्ण हुनु पर्छ ।

जापानमा अध्ययन भिसामा जाने विद्यार्थीले हप्तामा २८ घण्टा भन्दा धेरै काम गर्न नपाइने व्यवस्था छ । साथै डिस्को, डान्सबार जस्ता क्षेत्रहरुमा विद्यार्थीहरुले काम गर्न पाउँदैनन् । विद्यार्थी भिसामा गएका विद्यार्थीले कामको लागि तोकिएको समय र क्षेत्रलाई उलंघन गरेमा त्यसलाई गैरकानूनी मानी कारवाही हुने पौडेल बताउँछन् ।

उनका अनुसार जापानको कलेजमा अध्ययन गर्दा वार्षिक ५ देखि ८ लाखसम्म शुल्क बुझाउनुपर्ने हुन्छ । त्यस्तै होस्टेल वापत वार्षिक १ लाख ८० हजार देखि २ लाख ८० हजार सम्मको शुल्क बुझाउनुपर्ने हुन्छ । भिसा प्रकृया शुल्क ५ हजार रुपैयाँ लाग्ने गर्दछ । तर, जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थीले कम्तिमा ६ महिनाको भाषा कोर्ष गरेर जाँदा मात्रै राम्रो हुने पौडेल बताउँछन् । त्यसरी भाषा अध्ययन गरेर जाँदा मात्रै अध्ययन र कामको लागि सहज हुने उनको तर्क छ ।

अष्ट्रेलिया

यतिबेला धेरै नेपाली विद्यार्थीको आकर्षणको केन्द्र अष्ट्रेलिया बनेको छ । आइएलटिस र पिटिई भाषा परीक्षा दिएर हजारौं नेपाली विद्यार्थीले अष्ट्रेलियाको लागि भिसा आवेदन गरिरहेका छन् । ३ महिना अघिको अवधिसम्म आवदेन गरेका धेरै विद्यार्थीको भिसा लागेपनि अहिले भने झण्डै ९८ प्रतिशत विद्यार्थीको भिसा लागको छैन ।

चेरब एजुकेसन कन्सल्टेन्सीका सञ्चालक इश्वर श्रेष्ठका अनुसार अष्ट्रेयामा पढ्न जान चाहेको विद्यार्थीले कक्षा १२ मा कम्तिमा ५५ प्रतिशत ल्याएर उत्तिर्ण भएको हुनुपर्छ । अष्ट्रेलिया अध्ययन भिसा लाग्नको लागि विद्यार्थीले आइएलटिएस, टोफेल, पिटिई जस्ता भाषा परीक्षामा ६० प्रतिशत ल्याएर उत्तिर्ण हुनुपर्दछ । त्यस्तै र १२ कक्षा पास गरिसकेपछि ३ वर्षभन्दा धेरै ग्याब भएको विद्यार्थीले अष्ट्रेलियामा अध्ययनको लागि आवदेन गर्न सक्दैनन् ।

श्रेष्ठकाअनुसार अष्ट्रेलियामा इन्स्ट्च्यिुट, कलेज र विश्वविद्यालय गरी तीन प्रकारका शैक्षिक क्षेत्र हुन्छन् । इन्स्टिच्युटहरुमा पढ्नको लागि वार्षिक रुपमा ८ हजार देखि १२ हजार अष्ट्रेलियन डलर सम्म शुल्क लाग्छ । कलेजमा वार्षिक रुपमा १४ हजार देखि २२ हजार सम्म र विश्वविद्यालयहरुमा २६ हजार देखि ३५ हजार अष्ट्रेलियन डलर शुल्क लाग्छ ।

विद्यार्थीहरुलाई इन्स्टिच्युटले १ हजार डलर सम्म, कलेजले २० प्रतिशत सम्म र विश्वविद्यालयले ३० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने गरेको श्रेष्ठले बताए । कलेजको शुल्क बाहेक विद्यार्थीले होस्टेल, खाना लगायतका शिर्षकमा समेत खर्च गर्नुपर्ने हुन्छ । अष्ट्रेलिया अध्ययनको लागि जान ६३५ डलर भिसा शुल्क तिर्नुपर्ने र स्वदेशमा नै बायोमेट्रिक र मेडिकल रिपोर्ट बनाउनुपर्ने हुन्छ ।

अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीले कानूनी रुपमा दिनको २ घण्टा र हप्तामा २० घण्टा काम गर्न पाउँछन् । तर, अहिले कोभिड महामारीसँगै त्यहाँको सरकारले विद्यार्थीलाई काम गर्नको लागि समयलाई कसिलो नबनाएको श्रेष्ठको भनाइ छ ।

युरोपियन मुलुक

वर्षेनी ठुलो संख्यामा नेपाली विद्यार्थीहरु युरोपका विभिन्न मुलुकमा अध्ययन भिसामा जाने गर्दछन् । अन्य मुलकहरुमा अध्ययन गर्न जाने जाने प्रकृया जस्तै युरोपका मुलुकमा जानको लागि पनि केही सिमित प्रकया अवलम्बन गर्नुपर्ने हुन्छ ।

डाइरेक्सन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक शिबु रानाले युरोपियन मुलुकमध्ये धेरै विद्यार्थीको रोजाइको मुलुक युके भएको बताए । युकेमा १ वर्षमा नै डिप्लोमा कोर्ष पूरा गर्न सकिने उनको भनाई छ । युरोपका जुनसुकै देशमा अध्ययन भिसा लाग्नको लागि कक्षा १२ पास गरेको हुनुपर्ने साथै कम्तिमा २ दशमलब ४ जिपिए ल्याएको हुनुपर्छ । तर, मेडिकल लगायत अन्य प्राविधिक विषयको हकमा भने धेरै ल्याउनुपर्ने उनको भनाई छ ।

त्यस्तै युरोपियन मुलुकमा अध्ययन भिसा प्राप्त गर्नको लागि विद्यार्थीले टोफेल, आइएलटिएस र पिटिइ जस्ता भाषा परीक्षा कम्तिमा ५ दशमलब ५ अंक ल्याउनुपर्दछ ।

युरोपका मुलुकमा पढ्न जाने विद्यार्थीले अन्यत्र जस्तै हप्तामा २० घण्टा काम गर्न पाउने र मास्टर्स तहको अध्ययन पश्चात २ वर्षको काम गर्ने स्वीकृति प्राप्त गर्न सक्छन् । तर, डेनमार्कमा अध्ययन पश्चातको काम गर्ने भिसा प्राप्त गर्नको लागि भने विद्यार्थीले त्यहाँको मुलुकको आधिकारिक डेनिस विश्वविद्यालयमा नै पढेको हुनुपर्ने हुन्छ ।

युरोपका अन्य मुलुकहरुमा पनि नेपाली विद्यार्थीहरु अध्ययनको लागि जाने गरेको तर, त्यस्तो संख्या तुलनात्मक रुपमा कम हुने गरेको राना बताउँछन् ।

अमेरिका

विदेश अध्ययन गर्न जाने सन्दर्भमा धेरै नेपाली विद्यार्थीहरुको पहिलो रोजाइको मुलुक अमेरिका हो । तर, सहज पहुँचको अभावमा थोरै मात्रै नेपाली विद्यार्थीहरु अध्ययनको लागि अमेरिका जाने गर्दछन् । कन्सल्टेन्सी सञ्चालक अमर लिम्बुका अनुसार केही विश्वविद्यालय वा कलेजले बाहेक अमेरिकाका अधिकांश विश्वविद्यालय तथा कलेजहरुले भाषा परिक्षामा आइएलटिएस, पिटिई र टोफेललाई मान्यता दिएका छन् । अमेरिकामा स्नातक तह अध्ययनको लागि कम्तिमा ५ दशमलब ५ र स्नातकोत्तरको लागि कम्तिमा ६ अंक ल्याएको हुनुपर्छ ।

अमेरिकाका धेरै विश्वविद्यालयरुले स्नातक तहमा अध्ययन गर्नको लागि २ वर्षसम्मको ग्यापलाई कारण खुलाएर लिने र स्नातकोत्तरको लागि ग्याप तथा उमेरको हदको घेरै कडाइ नरहेको लिम्बु बताउँछन् । अमेरिकाका धेरै विश्वविद्यालयहरुले छात्रवृत्ति प्राप्त गर्नको लागि भाषा परीक्षामा एसएटी र जिएमएटीलाई अनिवार्य गरेको हुने लिम्बुको भनाई छ । अन्यत्रको तुलनामा अमेरिकामा राम्रो विद्यार्थीले छात्रवृत्ति पाउने सम्भावना धेरै हुने र कतिपय विद्यार्थीले सय प्रतिशत नै छात्रवृत्ति प्राप्त गर्ने गरेको लिम्बु बताउँछन् ।

अमेरिकाका कलेज तथा विश्वविद्यालयहरुमा अध्ययन गर्नको लागि औसतमा हेर्दा वार्षिक शुल्क झण्डै १२ हजार डलरबाट शुरु भएको पाइन्छ । तर, क्षमतावान विद्यार्थीहरुले त्यो शुल्कमा छात्रवृत्ति प्राप्त गर्न सक्छन् । लिम्बुका अनुसार धेरै विश्वविद्यालयहरुले विद्यार्थीहरुलाई विश्वविद्यालयभित्र नै आंशिक समयको काम उपलब्ध गराउने गर्दछ । सँगै कतिपय विद्यार्थीहरुले कानूनअनुसार विश्वविद्यालयभन्दा पनि बाहिर पार्टटाइम काम गर्न पाउने अवस्था रहेको उनी बताउँछन् ।

कलेज वा विश्वविद्यालयमा लाग्ने शुरुको ६ महिनाको मात्रै शुल्क बुझाएर पनि अध्ययनको लागि अमेरिका जान सकिन्छ । साथै अन्य मुुलुकहरुमा जस्तै अमेरिकामा पनि आफ्नो अध्ययन पुरा गरीसकेपछि विद्यार्थीले कामको लागि अवसर पाउने अवस्था रहेको लिम्बुको भनाइ छ ।

खासगरी नेपाली समाज मध्यम वर्गीय आर्थिक अवस्थाको परिवारले भरिएको हुँदा सिमित लगानी र राम्रो प्रतिफल प्राप्त गर्नेगरी उच्च शिक्षा प्राप्त गर्ने तरिका धेरैले खोजिरहेका हुन्छन् । त्यसको लागि विश्वका माथि उल्लेख भएका बाहेक न्युजिल्याण्ड, चीन, रसिया, आदि लगायत ५० औं मुलुकमा नेपाली विद्यार्थीहरु आफ्नो सुन्दर भविष्य निर्माण लागि अध्ययनको लागि जाने गरेको पाइन्छ । गुणस्तरको शिक्षा, कम शुल्क र काम प्राप्तिको सम्भावनालाई हेरेर धेरै नेपाली विद्यार्थीहरुले मुलुक र विश्वविद्यालय राज्ने गरेको कन्सल्टेन्सी सञ्चालकहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.