प्राधिकरणले सुरु गरेका कल्भर्ट बनाउने काममा सुस्तता, समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय मारमा

  २०७९ असार २६ गते १४:४६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अगाडि बढाएको पक्की फुटपाथ र बक्स कल्भर्ट निर्माणको कामले तीव्रता पाउन सकेको छैन । सो योजना सुरु भएको १ वर्ष पुराहुँदा समेत कामले तीव्रता पाउन नसकेको हो ।

एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी गत वर्ष जेठ महिनामा निर्माण कम्पनीसँग सम्झौता भएको उक्त कल्भर्टको हालसम्म ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

प्राधिकरणले बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ मा ह्युम पाइप चोकदेखि धोबीखोलासम्म ६ सय मिटर बक्स कल्भर्ट र पक्की फुटपाथ बनाउने भनेर काम अगाडि बढाएको थियो । हालसम्म ५ सय ३० मिटर ठाउँमा कल्भर्ट निर्माण भइसकेको छ भने अझै ७० मिटर बक्स कल्भर्ट निर्माण गर्न बाँकी रहेको प्राधिकरणका इन्जिनियर अमृत शर्माले जानकारी दिए ।

 

प्राधिकरणले २०७८ जेठ २३ गते निर्माण व्यवसायीसँग सम्झौता गरी काम अगाडि बढाएको थियो । उक्त काम हाल हाइज हिमालयन पीआर.जेभी ललितपुरले गर्दै आएको छ । सम्झौतामा २०७९ जेष्ठ ५ गते भित्र सम्पन्न गर्ने उल्लेख छ ।

सम्झौता अनुसार काम गर्न नसक्दा समय थप गरेर काम गर्ने प्राधिकरणको तयारीमा जुटेको छ । इन्जिनियर शर्माका अनुसार फुटपाथ र ढल हालेर माथि ढलान गर्नुपर्ने काम अझै बाँकी छ । बढ्दो सहरीकरणसँगै ढलको समस्या भएपछि उक्त कामको अगाडि बढाइएको हो ।

‘यस पटका बर्खाको समय छिटै लाग्यो, बीचमा सामानको मूल्य बढ्यो, निर्माण व्यवसायीहरू आन्दोलन गर्नतर्फ लागे त्यसले गर्दा निर्माण समयमा नै सम्पन्न गर्न समस्या भएको हो,’ उनले भने । यसको कुल लागत भ्याट सहित यसको कुल लागत भ्याट १३ करोड २ लाख ७३ हजार १ सय ८५ रुपैयाँ रहेको छ ।

सो आयोजनाको काम सम्पन्न गर्न समय लागे पनि अब छिटै निर्माणले पूर्णा पाउने शर्माले बताए । साउन १० गते भित्रमा ढल निर्माणको काम सम्पन्न गर्ने तयारी प्राधिकरणको रहेको छ ।

प्राधिकरणका अनुसार सो काम गर्नको लागि हालसम्म साढे ६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

निर्माण गति नलिँदा स्थानीयलाई सास्ती

ढल निर्माण गर्ने कार्यमा ढिलाइ हुँदा सो ठाउँका बासिन्दा थप मारमा परेका छन् । बर्खाको समयमा सडक हिलो हुँदा आवतजावतमा समस्या हुँदा स्थानीयलाई सास्ती भएको हो ।

स्थानीय गीता तामाङ भन्छिन् काम सुरु गरेको १ वर्ष भइसक्यो अझै सकिएको छैन, कल्भर्ट छाउका खाल्डा नपुर्दा हिँड्न पनि मुस्किल छ ।

‘धेरै वर्षदेखि बर्खाको समयमा यहाँका सडक हिलो हुन्थ्यो, एकातिर ढलको समस्या छदै थियो, प्राधिकरणले ढल र सडकलाई व्यवस्थित गर्ने भनेर सुन्दा निकै खुसी थियौं तर, काम छिटो नहुँदा सधै सास्ती छ, छिटै काम सकिन्छ होला भन्ने आशा छ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.