निजगढ पुगेर शीर्ष नेताहरुले भने : अन्तर्राष्ट्रिय विमानस्थल यही बन्छ

  २०७९ असार १८ गते १४:००     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित निजगढ पुगेका शीर्ष नेताहरुले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताएका छन् । शनिबार बिहान निजगढ विमानस्थल अवलोकन गर्न निजगढ पुगेका गठबन्धनका शीर्ष नेताहरुले सो कुरा बताएका हुन ।

निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । करिब ३ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेपछि अदालतले अहिलेसम्मका सबै प्रक्रिया रद्द गर्ने आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल नबनाउने आदेश गरेको हो ।

निजगढमा विमानस्थल बनाउन २४ लाखभन्दा बढी रुख काट्नुपर्ने अध्ययनले देखाएको थियो । वातावरण अभियन्ताहरूले निजगढमा विमानस्थल बनाउन नहुने माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । निजगढमा विमानस्थल बनाउँदा पर्यावरणमा ठूलो क्षति पुग्ने बताउँदै सर्वोच्चले विमानस्थल नबनाउन आदेश गरेको हो ।

सर्वाेच्चले नबनाउन आदेश दिएको विमानस्थल प्रधानमन्त्री देउवाले अदालतको आदेश अनुसार नै विज्ञ समूह बनाएर अध्ययन गरी न्यून वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरिने बताए ।

आदेश जारी गरेको एक महिनापछि आएको पूर्णपाठमा भने निजगढको विकल्प निजगढ नै पनि हुन सक्ने तर प्रक्रियागतरूपमा अर्को विकल्प खोज्न भनेपछि शीर्ष नेताहरूको उपस्थितिले निजगढ विमानस्थल सोही स्थानमा बन्ने सन्देश दिन खोजिएको देखिएको छ ।

शनिबार बिहानै प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानीमन्त्री उमाकान्त चौधरीलगायतका नेता निजगढ पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.