उपत्यकामा फैलदै हैजा, संक्रमितको संख्या १२ पुग्यो

  २०७९ असार १३ गते १२:४३     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकाभित्र हैजाका संक्रमितहरु बढ्न थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको छ । हालसम्म बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नैकपमा हैजा देखिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो ।

महाशाखाका अनुसार पछिल्लोपटक थपिएका हैजाका दुई बिरामीको पाटन अस्पताल र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको छ भने अन्य बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।

यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरु कामपा–२८ बागबजारमा बस्दै आएका थिए ।

काठमाडौंमा भित्रभित्रै हैजा फैलिएको विज्ञहरूको दाबी छ । विज्ञहरुले काठमाडौं उपत्यकामा हैजा फैलनुको प्रमुख कारण नै खानेपानी रहेको बताउँदै आएका छन् ।

हैजाको मुख्य स्रोत नै खानेपानी भएको भन्दै ललितपुर महानगरपालिकाले २९ वटै वडामा पानीपुरी तथा चटपटे बिक्रीवितरणमा रोक लगाएको छ ।

महानगरले आइतबारदेखि नै बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए ।

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए ।

एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.