कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन : शिक्षामन्त्री

  २०७९ असार १२ गते १३:४७     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आईतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थमन्त्रालयलाई पठाएको बताए । मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्याइने भनेपनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्याउने गरी भन्ने भाषाको प्रयोग गरिएको बताए । उनले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटीहरु सच्याउन आवश्यक रहेको बताए ।

‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौं । ६ सम्म थपिएर आएको हुँदा खुशी व्यक्त गर्दछु । तर कक्षा ८ सम्म हामीले गरेको प्रस्ताव आएन, अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भनेको छ, नीति तथा कार्यक्रममा आयो, बजेटमा यो आएन, बजेटमा ८ सम्म पुर्याउने गरी हाललाई यो वर्ष छ भन्ने भाषामा आयो, यो मन्त्रालयको तर्फबाट भएको त्रुटी भन्दापनि यसप्रकारका त्रुटीहरु समग्र सच्याउनु पर्छ भन्नेकुरा जायज छ,’ पौडेलले भने ।

मन्त्री पौडेलले शिक्षा सम्बन्धी हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताए । उनले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.