‘५ वर्षपछि सबै अस्पताल बन्द हुन्छन्, स्वास्थ्य बीमा नगर्नु’

  २०७९ असार ८ गते १४:४७     विकासन्युज

काठमाडौं । बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा नगर्न सुझाव दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले स्वास्थ्य बीमा नगर्न सुझाव दिएका हुन् ।

‘मेरो सुझाव बीमा नगर्नुस्, रुवाएर छोड्छ,’ उनले भने ।

अहिले अप्रत्यक्ष रुपमा बीमितले दुःख पाउने गरेको भन्दै उनले स्वास्थ्य बीमाबाट कुनै फाइदा नहुने बताएका हुन् । बीमा गरेपछि जुन हस्पिटलमा भनिएको छ त्यसमा प्रत्यक्ष गर्न पाउनुपर्नेमा पहिला सरकारी अस्पतालमा गएर, त्यहाँबाट रिफर गरेर मात्रै निजी हस्पिटलमा रिफर हुने गरेको छ । जसले गर्दा बीमितले दोहोरो दुःख पाउने गरेको प्रसाईं बताउँछन् ।

‘यसको मतलब जुन हस्पिटललाई दिने हो उसलाई डाइरेक्ट देऊ, बीएण्डसी देखाएर बीमा गरेको छ भने डाइरेक्ट देऊ, नोबेल देखाएर गरेको छ भने डाइरेक्ट देउ, बीमित बिहानै आओस्, लाइन बस्नु परेपनि बसोस्, तर, एउटामा ३/४ घण्टा लाइन बसेर झमेला खेपिसकेकोलाई पछि अर्कोमा रिफर गरिदिन्छ, त्यहाँ पनि त्यस्तै झमेला खेप्नुपर्छ, यसको मतलब यो बीमा गरेको हो की सजाय दिएको हो सरकारले ?, प्रसाईंले प्रष्टाउँदै भने ।

साथै, नेपालमा उद्योगधन्दा गर्नु तथा कलकारखाना खोल्नु भनेको जेलमाभन्दा सजाय भोगेर बस्नु जस्तै रहेको उनको गुनासो छ ।

नेपालमा १४० वटा नर्सिङ कलेज बन्द भएको जानकारी गराउँदै अब दुई तीन वर्षपछि फिलिपिन्सबाट बिएण्डसी मेडिकल कलेजले नर्स ल्याउने उनले बताए । विभिन्न कलेजहरु बन्द भएपछि नर्सिङ म्यानपावर नपाउने भएकाले फिलिपिन्सबाट नर्स ल्याउनु पर्ने बाध्यता आउने भएकाले त्यसको तयारी समेत थालिसकेको उनले बताए ।

भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्

साथै, प्रसाईंले अबको ५ वर्षभित्र नेपालका सबै हस्पिटल बन्द हुने बताएका छन् ।

‘अबको ५ वर्षपछि नेपालमा भएका सबै हस्पिटल बन्द हुँदैछन्, किनभने डा. गोबिन्द केसी अनसन बसेपछि जुन चिकित्सा शिक्षा ऐन आयो, त्यो एउटा मिसनका साथ आएको थियो, त्यसले देशमा भएका १५० वटामध्ये १३७ वटा नर्सिङ कलेज बन्द गर्यो, कलेज बन्दपछि नर्सिङ नेपालमा पढ्न नपाउने, नेपालका नर्सहरु विदेश जाने, केही नर्स काम गर्न नसक्ने अवस्थाका हुने जस्ता समस्या आउँछन्, र प्रडक्ट नभएपछि नेपालका नर्सहरु ५/७ वर्षभित्रमा सकिन्छन्,’ उनले थप प्रष्ट पार्दै भने ।

प्रसाईंका अनुसार बि एण्ड सी मेडिकल कलेजले नर्स नपुगेर फिलिपिन्सबाट नर्स ल्याउन शुरुवात गरिसकेको छ । नेपालमा प्रडक्ट नभएपछि नेपालले इन्डिया, फिलिपिन्सबाट नर्स ल्याउनु पर्ने बाध्यता आउने बताउँदै उनले आफुले अहिले नै फिलिपिन्सबाट नर्स ल्याउने प्रकृया अघि बढाएको जानकारी गराए ।

‘मैले यहाँ एउटा नर्सलाई २/३ लाख दिएर उपचार गर्ने, डक्टरलाई ५/१० लाख दिएर उपचार गर्ने, बैंकको व्याज १८ प्रतिशत तिरेर हामीले कस्तो खालको सुविधा दिन्छौं,’ उनले भने- ‘हामीले एमबीबीएस पढ्न बाहिर पठायौं, नर्स पढ्न बाहिर पठायौं, प्लस टुदेखि बाहिर पठायौं, अब बिरामी पनि बाहिर पठाउँदै छौं, त्यसैले यी भएका हस्पिटल पनि बन्द हुँदै छ, नेपाल यो वातावरण तिर जाँदै छ, यसमा मनन् गर्न जरुरी छ,’ उनले भने ।

सम्बन्धित समाचार

दुई मेडिकल कलेजले पाएनन् एक अर्ब बढी बीमा भुक्तानी, सेवा रोक्ने घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.