काठमाडौं महानगरले करका दर परिवर्तन गर्ने, यस्ता छन् कर र उद्यमशीलता सम्बन्धि कार्यक्रम

  २०७९ असार ५ गते १८:२२     विकासन्युज

काठमाडौं । कामाडौं महानगरपालिकाले कर छुट तथा अनुदान सम्बन्धि विभिन्न कार्यक्रमहरु ल्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न कर छुट, जरिवाना मिनाहा तथा आवश्यक सहुलियत उपलब्ध कार्यक्रम ल्याएका छन् ।

उनले नीति तथा कार्यक्रममार्फत् सीप बिकास तथा उद्धमशिलता प्रबर्दन सम्बन्धी नीति अन्तर्गत युवा पुस्ताको नविन सोच र प्रबिधि प्रतिको आकर्षणलाई बढावा दिन सहरी ब्यवस्थापनका बिषयहरुमा राष्ट्रिय आविष्कार केन्द्रसंग सहकार्य गरिने, सीप सिक्न इच्छुक महानगरबासीहरुलाई सीप प्रशिक्षण (मूर्तिकला, काष्ठकला, धातुकला, बाजा निर्माण आदि ) कार्यक्रमहरु संचालन गरिने, महानगरपालिका क्षेत्रमा रहेका उद्योग तथा नयाँ उद्यमीलाई प्रबिधिमा सहयोग, छुट, मिनाहा तथा आवश्यक सहुलियत उपलब्ध गराइने लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

महानगरपालिका क्षेत्रभित्रका डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, मार्टहरुमा स्थानीय उत्पादन र अर्गानिक खाद्य बस्तु बिक्रि वितरणका लागि निश्चित स्थान उपलब्ध गराउन आवश्यक समन्वय गरिन, युवाहरुको व्यक्तिगत बृत्ती बिकास मार्ग पत्ता लगाउन करियर परामर्श कक्षा संचालन गरिने, काठमाडौं सहरलाई जीवन्त सहरको रुपमा चलायमान राख्न सुरक्षाको आवश्यक प्रबन्ध मिलाई रात्रीकालिन ब्यवशाय मर्यादित रुपमा संचालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने कार्यक्रम पनि ल्याएका छन् ।

यस्तै, उनले राजस्व तथा वित्त ब्यबस्था सम्बन्धी नीति अन्तर्गत महानगरपालिकाले संविधान तथा कानुन बमोजिम असुल गर्ने राजस्व (कर तथा गैरकर) प्रशासनलाई न्यायोचित, पारदर्शी र वैज्ञानिक बनाउन आवश्यक प्रवन्ध मिलाइने व्यवस्था गरेका छन् ।

उनले करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउन समग्र राजस्व प्रणालीलाई करदातामैत्री बनाइने, महानगरपालिका क्षेत्रमा रहेका करदाताहरुको विद्युतीय लगतका लागि काठमाडौं महानगरपालिकाको छुट्टै एप वनाई विश्व विद्यालयहरुसंगको सहकार्यमा करदाताहरुको विवरण संकलन गर्ने व्यवस्था मिलाइने, महानगर क्षेत्रभित्र घरजग्गा र जग्गा वहालमा लिने दिने कार्यलाई कम्पनी मार्फत व्यवस्थित गर्न आवश्यक प्रवन्ध मिलाइने लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटेका छन् ।

नीति तथा कार्यक्रममा कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालन गरिने, करका दरको पुनरावलोकन गर्न नगर सभावाट गठित समितिको पुनर्गठन गरी कार्य अगाडी वढाइने, आर्थिक ऐन अनुसार उपलब्ध गराउँदै आएको कर छटलाई पनरावलोकन गरिने, महानगरपालिकाले कर संकलनको लागि व्यस्था गरेको अन लाइन प्रणालीलाई थप ब्यवस्थित गरी सवै कर तथा गैरकरलाई करदाताको पहँचमा वृद्धि गर्न आवश्यक प्रबन्ध मिलाइन लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छन् ।

यस्तै, बाह्य बिज्ञापन गर्ने स्थान यकिन गरी तोकिएको स्थान र साइजमा मात्र विज्ञापन सामग्री राख्ने ब्यबस्था मिलाइनेछ साविकमा रहेका विज्ञापन सामग्रीलाइ तोकिएको स्थानमा स्थानान्तरण गर्न आवश्यक प्रबन्ध मिलाइने, राजस्व प्रशासनमा कार्य सम्पादनमा आधारित रही प्रोत्साहन प्रणाली लागू गरिने, महानगरपालिका क्षेत्रभित्र आवासीय प्रयोजनका लागि निर्माण भएका बहुतले भवन (अपार्टमेन्ट ) प्रयोग गर्ने करदाताहरुबाट लिंदै आइरहेको सम्पत्ती करमा पुनरावलोकन गरिने कार्यक्रम सार्वजनिक भएका छन् ।

मेयर शाहले महानगरपालिकाको साविकमा रहेको वैदेशिक ऋणको वित्तिय भार न्यून गरी सकेसम्म आगामी आर्थिक बर्षमा महानगरपलिकालाई ऋणमुक्त बनाउने उपाय अवलम्बन गरिने, महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्धन गर्ने विषयका स्वदेशी तथा बिदेशी चलचित्र/नाटकका लागि निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गरिने, वडा तहमा करदातालाई कर बुझाउन कुनै असहजता भएमा प्रत्यक्ष सम्पर्क गरी गुनासो सुन्ने, सूचना उपलब्ध गराउने, कर बुझाउन सहजीकरण गर्ने आदि कार्यका लागि विदाको दिनमा समेत कार्यालय खुल्ने गरी करदाता सहायता कक्ष सञ्चालन गरिने लगायतका कार्यक्रम पनि घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.