एउटै कम्पनीले कोरोना बीमाको ४ अर्ब बढी दिन बाँकी, कुनको कति ?

  २०७९ असार ५ गते १०:३३     मञ्जरी पौडेल

काठमाडौं । दुई वर्षअघि उत्साहका साथ शुरु गरिएको कोरोना बीमाबाट बीमितहरु निरुत्साहित भएका छन् । दावी परेको दुई वर्ष बढी बित्दा पनि भुक्तानी नपाएपछि बीमितहरु निरुत्साहित हुनु स्वभाविक पनि हो ।

नेपालमा २०७७ बैशाख ७ गतेदेखि कोरोना बीमा शुरु भएको थियो । बीमा समितिले महामारीको समयमा नेपालीलाई राहत दिन भन्दै सञ्चालित २० वटै कम्पनीहरुबाट कोरोना बीमा गर्न शुरु गरेको हो । शुरु शुरुमा त उक्त कार्यक्रम प्रभावकारी नै भएको थियो । तर, पछि कम्पनीहरुलाई जोखिमको भार बढी भयो भन्दै सो कार्यक्रम नै पूर्ण रुपमा हटाइयो ।

उत्साहका साथ ल्याइएको उक्त बीमामा बीमितहरुले पनि उत्साहका साथ दावी दिएका थिए । हरेक बीमितहरुले संक्रमण भएपछि तत्कालै पुरै रकम पाएका पनि थिए । तर, पछि पछि भएपछि त्यसको मापदण्डहरु परिवर्तन हुँदै गए । सबै रकम एकमुष्ट रुपमा कम्पनीबाटै पाउने व्यवस्था हटाइयो । जसले गर्दा दावी भुक्तानीको लागि बीमितले गर्नुपर्ने प्रकृयाहरु थप झण्झटीलो भयो । र, प्रकृया पुरा गर्दा गर्दै पनि बीमितहरुले हालसम्म (दुई वर्ष) रकम पाउन सकेका छैनन् ।

समिति श्रोतका अनुसार उक्त बीमामा १५ लाख ५८ हजार ३४३ जना बीमितले कूल १ लाख ६५ हजार ५९ वटा दावी दिएका थिए । जसमध्ये ५१ हजार ६६९ वटा दावीको भुक्तानी भइसकेको छ भने बाँकी रहेको १ लाख १३ हजार ३९० वटा दावीको भुक्तानी हुन बाँकी छ ।

२० वटा कम्पनीमा कूल १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ बराबरको दावी परेको थियो । जसमध्ये कम्पनीहरुले ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २३५ रुपैयाँ भुक्तानी गरिसकेका छन् भने १० अर्ब ८४ करोड ६ लाख ८३ हजार ३१९ रुपैयाँ बराबरको कोरोना दावी भुक्तानी गर्न बाँकी छ ।

भुक्तानी हुन बाँकी रकममध्ये सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको छ । कम्पनीले ४१ हजार ३२८ जना बीमितलाई कूल ४ अर्ब १३ करोड २८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ ।

त्यस्तै, दोश्रोमा शिखर इन्स्योरेन्स, तेश्रोमा नेको र चौथोमा सगरमाथा इन्स्योरेन्स छन् । शिखरले १ अर्ब २७ करोड ४२ लाख, नेकोले ६५ करोड ९ लाख र सगरमाथा इन्स्योरेन्सले ५६ करोड १६ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

समितिका अनुसार अधिकांश कम्पनीले १० करोड रुपैयाँ बढीको दावी भुक्तानी गर्न बाँकी छ । दि ओरियण्टल, प्रुडेन्सियल र नेशनल इन्स्योरेन्स बाहेक सबै कम्पनीमा १० करोडभन्दा माथिको दावी भुक्तानी बाँकी देखिएको छ । यी कम्पनीले क्रमशः ६ करोड ८६ लाख, ७ करोड २५ लाख र ५ करोड ३३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । अन्य कम्पनीको तुलनामा यी कम्पनीमा थोरै दावी परेकोले रकम पनि थोरै देखिएको हो ।

कुन कम्पनीले कति भुक्तानी गर्न बाँकी ?

यद्पि कम्पनीहरुले कोरोना मापदण्डअनुसार कम्पनीहरुले भुक्तानी गर्नु पर्ने सबै रकम भुक्तानी गरिसकेका छन् । तर यता सरकारबाट रकम निकासा नभएकाले कोरोना बीमाको भुक्तानी पूर्ण रुपमा रोकिएको हो । त्यसैले अब सरकारले रकम निकासा गरेपछि मात्रै बीमितलाई दावी भुक्तानी गरिने कम्पनीहरु बताउँछन् ।

कोरोना बीमाको भुक्तानी : कुन कम्पनीले कति दिए ? (सूचीसहित)

कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ ।

रकम निकासा गर्न पटक पटक ताकेता गरिरहेको अर्थमन्त्रालयले हालसम्म सफल हुन सकेको छैन । सोहि रकम भुक्तानी गर्नको लागि बीमा समितिमा विभिन्न पत्र पठाउँदै आएको अर्थमन्त्रालयले केहि दिनअघि मात्रै अर्को पत्र पठाएको छ । जसमा कुन कुन कम्पनीले कति रकम दावी गरेका छन्, कति बाँकी छ त्यसको विवरण दिन समितिसँग माग गरिएको अर्थमन्त्रालय श्रोतले बताएको छ ।

यता बीमा समितिले पनि अर्थमन्त्रालयको मागअनुसारको विवरण समितिमा पेश गरिसकेको कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए ।

त्यस्तै, पछिल्लो समयमा भने अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि समिति नै गठन गरेको छ । मन्त्रालयले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रमेश कुमार केसीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । यससँगै विगतका दिनमा पटक पटक रकम निकासा गर्ने आश्वासन देखाएको अर्थमन्त्रालयले अब भने यो विषयलाई छिट्टै टुंग्याउँछ की भन्ने आशा बीमा समिति, कम्पनी लगायत आम बीमितहरुमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.