एलसी सिस्टम खारेज गर्नु पर्ने न्यूरोडका व्यापारीको माग

  २०७९ असार ४ गते १८:०८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । सङ्घले आज आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरुले व्यवसाय दर्तादेखि घरभाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताए । “जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुन्छ”, उनले भने ।

अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक रु १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने विश्वास दिलाए ।

उनले बजारलाई सुरक्षित बनाउनका लागि आवश्यक पर्ने सिसिटिभी जडानलाई वडाले विशेष प्राथमिकता दिने उल्लेख गरे। राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गरे ।

व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष हेम खरेलले बैंकले एलसीका लागि नगद जम्मा गर्ने नियम लागू गर्दा मझौला व्यवसायी समस्यामा परेको बताए। उनले यसकाे खारेज गर्नु पर्ने बताए । बिक्रेताले ढुवानीको पैसा तिनुपर्ने नियमले व्यवसायी मर्कामा परेकाे उनकाे भनाइ छ ।

सङ्घका पूर्वध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, महासचिव वैकुण्ठ दाहालगायतले बजारलाई सुन्दर र व्यवस्थित बनाउनका लागि बजारभित्र गल्लीको नामाङ्कन गरी ‘लोकेशन म्याप’ राख्नुपर्नेमा जोड दिए । विसं २०६१ मा स्थापना भएको सङ्घमा न्यूरोड क्षेत्रका दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.