स्मार्टलाइसेन्स नविकरण भएन, यातायात कार्यालयको डाटा गायब

  २०७९ जेठ २६ गते १०:४४     नारायण अर्याल

काठमाडौं । चन्द्रागिरी नगरपालिका निवासी सुदिप बास्कोटाले २०५३ सालमा सवारी साधनको अनुमतिपत्र (लाइसेन्स) लिएका हुन् । उनले लाइसेन्स लिएको २५ वर्ष पुरा भएको छ । अहिलेसम्म बास्कोटाले आफ्नो लाइसेन्स ४ पटकसम्म नविकरण गरिसकेका छन् ।

०७३ सालमा लाइसेन्सको चौथोपटक नविकरण गरेसँगै बास्कोटासँग अहिले स्मार्ट लाइसेन्स रहेको छ । गत चैतको पहिलो हप्तामा उनको लाइसेन्सको म्याद सकिएको छ । सरकारको नीति अनुरुप बास्कोटाको लाइसेन्स यतिबेला ५ औं पटक नविकरण गर्नुपर्ने भएको छ ।

आगामी असार ६ गतेसम्म बास्कोटाको लाइसेन्स नविकरण भइसक्नुपर्छ । अन्यथा उनले जरिवाना तिरेर लाइसेन्स नविकरण गर्नुपर्ने हुन्छ । सोही कुरालाई मध्येनजर गरेर उनी यहि जेठ १९ गते यातायात व्यवस्था कार्यालय ललितपुर, एकान्तकुनामा आफ्नो लाइसेन्स नविकरणको लागि गएका थिए ।

विगतमा झैं यसपटक पनि आफ्नो लाइसेन्स नविकरणको लागि बास्कोटाले पैसा र आवश्यक कागजात बोकेर कार्यालय पुगेका थिए । उनले यातायात व्यवस्था विभागको कार्यालयमा लाइसेन्स नविकरणको लागि सँधै झै निवेदन बुझाए । तर विगतमा झैं यसपटक भने उनको लाइसेन्स नविकरण भएन ।

कार्यालयका कर्मचारीले बास्कोटाको लाइसेन्स खारेज हुने अवस्थामा रहेको भन्दै नविकरण हुन नसक्ने बताए । विकासन्युजलाई बास्कोटाले बताएअनुसार उनको लाइसेन्स ०६८ सालदेखि नै नविकरण नभएको रेकर्ड कार्यालयको सिस्टमले देखायो । बास्कोटाले ०६८ पछि ०७३ समेत नविकरण गरेर आफूले स्मार्ट लाइसेन्स लिइसकेको अवस्थामा यो कसरी भयो भन्ने प्रश्न कर्मचारीहरुलाई सोधे ।

‘तपाईंको लाइसेन्स ०६८ सालदेखि नविकरण भएको देखिँदैन । १० वर्षसम्म नविकरण नगरेपछि लाइसेन्स खारेज हुने कानुनी व्यवस्था रहेको छ । यहि अवस्थामा तपाईंको लाइसेन्स नविकरण गर्न सकिँदैन् । यस्तो समस्या अरु धेरै मान्छेहरुको पनि आएको छ । यसको लागि मन्त्रालयमा कुरा हुँदैछ । तपाईं अहिले जानु, सरकारले छिट्टै यो विषयमा केही निर्णय गर्दैछ । १०/१५ दिनपछि आउनुस,’ कर्मचारीले बास्कोटालाई भनेका रहेछन् ।

त्यसपछि बास्कोटा आफ्नो निवेदन बोकेर घर फर्किए । अब उनको लाइसेन्स नविकरण हुने हो वा खारेज हुने हो त्यो उनलाई थाहा छैन । बास्कोटा अचम्ममा परेका छन कि उनको अन्तिम नविकरण भन्दा अगाडि नविकरण नभएको कसरी देखियो । बाँस्कोटाले २०६८ बैशाख १३ गते तेस्रो पटक लाइसेन्स नविकरण गरेको बताए ।

कर्मचारी भन्छन्–‘रेकर्डमा विवरण नभएपछि कसरी नविकरण गर्ने ?’

यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोख्रेलले विगत १५ दिन यता लाइसेन्स नविकरणको समस्या लिएर सेवाग्राही आउने गरेको सुनाए । त्यसरी आउने सेवाग्राहीले पछिल्लोपटक आफ्नो लाइसेन्स नविकरण गरेको कागजात ल्याएपनि त्यसभन्दा अगाडि नविकरण गर्दा विभागको प्रणालीमा विवरण अपडेट नभएको पोख्रेलले बताए ।

विगतमा कर्मचारीहरुको कारण नै नविकरणको विवरण अपडेटमा समस्या देखिएको भन्दै त्यस्ता लाइसेन्सको नविकरण नगरिएको पोख्रेलले बताए । ‘पहिला घर बसेर नविकरण गरेर लिएर जाने, फोटो पठाएर लिएर जाने, १०/१५ वर्षदेखि लाइसेन्स बोकेको छ, मेरो लाइसेन्स भ्यालिड हो भन्छ पब्लिकले । तर, हामीलाई त सिस्टममा रेकर्ड त चाहियो नि त । सिस्टममा रेकर्ड नभइकन कसरी भ्यालिड हो भन्न सकिन्छ,’ इन्जिनियर पोख्रेलले भने ।

कि व्यक्तिको कि त्यतिबेला काम गर्ने कर्मचारीको गल्ति भएको इन्जिनियर पोख्रेलको धारणा छ । आफ्नो विचारमा त्यस्तो प्रकारको लाइसेन्स नविकरण गर्न नहुने भन्दै सम्बन्धित मन्त्रालयले कसरी निर्णय गर्छ सो विषयमा आफुलाई थाहा नभएको उनले बताए । यातायात विभागका सूचना अधिकारी तथा सवारी शाखाका प्रमुख इश्वरी प्रसाद पनेरुले भने आफूलाई सो विषयमा जानकारी नभएको बताए ।

पछिल्लो समय विभिन्न सरकारी निकायका कर्मचारीले सेवाग्राहीसँग लिएको राजश्व आफ्नो खल्तीमा हालेको घट्नाहरु सार्वजनिक भैरहेको समयमा यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा पनि त्यस्तै भएको अनुमान धेरैले गरेका छन् । सेवाग्राहीसँग लिएका रकम कर्मचारीले खल्तीमा हाल्ने र उक्त रकमबारे सरकारले जानकारी नपाओस भनेर प्रशासन प्रणालीमा कागजपत्र नदेखाउने प्रवृति बढ्दै गएको छ । सुदिप बास्कोटाको जस्तो समस्या भविष्यमा अरु धेरै सेवाग्राहीले नभोग्नुपर्ला भन्न सकिदैन ।

One comment on "स्मार्टलाइसेन्स नविकरण भएन, यातायात कार्यालयको डाटा गायब"

  • Bishal Dangol says:

    Veda karmachari haru lai k garne hola. Kei kam garna aauna, Gyaummai khanu cahi parcha. Hey prabhu kun lok ka narka patru lai loksewa pass garayau k?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.