विदेशबाट फर्केका श्रमिकलाई सहयोग गर्न स्विट्जरल्यान्डले ८६ करोड दिने

  २०७९ जेठ २५ गते १६:००     विकासन्युज

काठमाडौं ।  वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारका अधिकारीबीच हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र काठमाडौंस्थित स्विट्जरल्यान्ड दूतावासका चार्ज डी अफेयर्स सिल्भाना होगले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रदेश नं १ र मधेस प्रदेशका २० स्थानीय तहमा पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले करिब ८६ करोड १३ लाख उपलब्ध गराउने छ । उक्त सहयोग नेपाल सरकारको खर्च प्रणालीबाट कार्यान्वयनमा जानेछ । स्वदेश फिर्ती आप्रवासी श्रमिकलाई सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रमा पुनः एकीकरण गर्न परियोजनाले सघाउ पु¥याउनेछ ।

वैदेशिक रोजगारबाट फर्केका श्रमिकको पुनः एकीकरण गरी उनीहरुसँग भएको ज्ञान, सीप, पूँजी, अनुभवको सदुपयोग गर्दै मुलुकको विकासमा लगाउने परियोजनाको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त परियोजना जुलाई २०२२ बाट सुरु भएर पाँच वर्षसम्म चल्नेछ ।

सो अवसरमा अर्थ मन्त्रालयका सहसचिव अर्यालले वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई समाजमा पुनः एकीकरणका लागि सो परियोजना अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । परियोजनाले घरफिर्ती आप्रवासी श्रमिकको सामाजिक, राजनीतिक तथा आर्थिक जीवनमा परिवर्तन ल्याइने उनको भनाइ छ । सहसचिव अर्यालले नेपालको आर्थिक सामाजिक विकासमा आप्रवासी श्रमिकको ज्ञान, सीप, पूँजी र अनुभवको सदुपयोग हुने बताए । उनले विकास सहायताका लागि स्विट्जरल्यान्ड सरकारप्रति आभार प्रकट गरे ।

काठमाडौंस्थित स्विट्जरल्यान्ड दूतावासका चार्ज डी अफयेर्स साल्भानाले नेपालको विकासका लागि आप्रवासी श्रमिकको ज्ञान, सीप, अनुभवन तथा पूँजी प्रयोगको व्यापक सम्भावना रहेको बताए । उनले आप्रवासी श्रमिकको व्यवस्थापनसम्बन्धी नीति तथा योजना निर्माणमा स्विट्जरल्यान्ड सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.