मध्यपहाडी लोकमार्ग पनि निर्धारित समयमै सम्पन्न नहुने

  २०७९ जेठ २५ गते १०:२४     राजिव न्यौपाने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणको काम समयमै नसकिने भएको छ । लक्ष्य अनुसारको काम नहुँदा सो राजमार्ग निर्माणको काम समयमै नसकिने भएको हो ।

आर्थिक वर्ष २०७९/८० सम्ममा सो राजमार्ग सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, आयोजना निर्देशनालयले समेत तोकेको समय सीमाभित्रै काम नसकिने बताएको छ ।

आयोजना निर्माण सम्पन्न गर्ने समय सकिन अब एक वर्ष मात्रै बाँकी रहँदा हालसम्म ६२ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजना निर्देशनालयका सूचना अधिकारी सुरजहरि अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार हालसम्म भौतिक प्रगति ६२.४४ भएको छ भने वित्तीय प्रगति ५७.९६६ प्रगति भएको छ । नेपाल सरकारको आन्तरिक स्रोतबाटै सम्पूर्ण खर्च व्यहोरिने गरी बनिरहेको यो लोकमार्गमा हाल सञ्चालनमा रहेका कतिपय साना राजमार्ग र सडक खण्डहरु पनि जोडिएका छन् ।

सो राजमार्ग निर्माण गर्नको लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ ८ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बजेट थियो । जसमध्ये सो राजमार्ग निर्माणका लागि बैशाखसम्म ३ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको पनि अधिकारीले जानकारी दिए ।

मध्यपहाडका २६ जिल्लाका २ सय १५ बस्ती जोड्दै निर्माण हुने सो सडकबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । तर, निर्माण सुरु भएको दुई दशक बितिसक्दा पनि राजमार्गको भौतिक प्रगति भने निराशाजनक छ ।

कोभिड महामारीका कारण पनि सो राजमार्ग काम लामो समयसम्म रोकिएको थियो । कोभिडपछि उक्त राजमार्ग निर्माणको काम द्रुत गतिमा भइरहेको आयोजना निर्देशनालयले दाबी गर्दै आएको छ ।

बेला–बेला आउने मुआब्जा वितरण विवाद, निर्माण सामाग्री अभाव, सार्वजनिक खरिद सम्बन्धी ऐन र अन्य विविध कारणले लक्ष्यअनुसार काम हुन नसकेको आयोजनाको भनाइ छ ।

‘राजमार्ग निर्माणमा सामान कै अभाव छ, पहाडको ठाउँ भएको हुँदा बालुवा, गिट्टी, सिमेन्टको अभाव हुनपुग्दा भनेको समयमा काम गर्न नसकिने अवस्था छ,’ सुचना अधिकारी अधिकारीले भने ।

सो राजमार्गको काम सडक विभाग अन्तर्गत ४ वटा कार्यालयले हेर्दै आएको छ । त्यस्ता कार्यालयहरुबाट नै राजमार्गमा पर्ने सडकको कालोपत्रे र पुल निर्माणको काम भई रहेको पनि अधिकारीको भनाइ छ ।

राजमार्गमा पर्ने केही ठाउँको मर्मत गर्ने काम पनि भइरहेको आयोजना निर्देशनालयले जनाएको छ । राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वबाट पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी २०६४÷६५ बाट आयोजना सुरु गरेको थियो ।

सरकारले आव २०६९\७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकताका साथ निर्माण कार्य अघि बढाएको थियो । आयोजनाको सुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ ।

यस्तै, आगामी आर्थिक वर्षको लागि २६ जिल्लाहरूलाई सडक सञ्चालनमा आबद्ध गर्न सो राजमार्गको २ सय ३५ किलोमिटर कालोपत्रे र १६ वटा पुल निर्माण गर्नको लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

२१ सय किमि सडक कालोपत्रे र ९२ वटा पुल बने

हालसम्म मध्यपहाडी राजमार्गमा पर्ने १२ सय २१ किलोमिटर (किमि) सडकको कालोपत्रे भएको छ । १८ सय ७९ किलोमिटरमध्ये हालसम्म १२ सय २१ किलोमिटर सडकको कालोपत्रे भएको हो । यस्तै, १ सय २९ वटा पुल मध्ये ९२ वटा पुल निर्माणको काम सम्पन्न भएको छ ।

हल पनि राजमार्गमा पर्ने पुल निर्माण र कालोपत्रेको काम भइरहेको छ । अधिकारीका अनुसार सो आयोजन सञ्चालन भएदेखि हालसम्म ५७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ खर्च भइसकेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.