‘सरकारका कारण दुई पाँग्रे सवारीको व्यापार बन्द गर्नुपर्ने अवस्था आयो’

  २०७९ जेठ २४ गते १४:२५     विकासन्युज

काठमाडौं । अटो व्यवसायी अभिक ज्योतीले सरकारका कारण दुई पाँग्रे सवारीको बिक्री वितरण बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

मंगलबार नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको बजेटमा विद्युतीय सवारी साधनमा बढाइएको कर माथिको छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

नाडाको दुई पाँग्रे सवारीका सभापति समेत रहेका ज्योतिले बजेटमा समावेश भएको विषय कार्यान्वयन हुँदा दुई पाँग्रे सवारीको व्यापार नै बन्द गर्नुपर्ने वातावरण सिर्जना हुुने बताए ।

उनले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा २०० सीसी माथिका सवारीमा बढाइएको कर तत्काल फिर्ता हुनुपर्ने माग राखे ।

नेपालको भौगोलिक बनावट र पर्यटन प्रवर्द्धनका लागि २०० सीसी माथिका दुई पाँग्रेको प्रयोग हुने गरेको भन्दै उनले कर घटाउनुपर्नेमा जोड दिए ।

उनले एसेम्बलिङ उद्योगलाई सरकारले दिएको प्राथमिकता राम्रो रहेको बताए ।

कति बढ्यो कर

मोटरसाइकलमा २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । २५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ ।

हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो । अब २०० सीसीभन्दा कम सीसीका मोटरसाइकल तथा स्कूटरमा ३० प्रतिशत भन्सार महशुल लाग्ने भएको छ ।

२०० सीसी माथिका मोटरसाइकलमा अन्तशुल्क पनि बढाएको छ । २०० सीसी देखी २५० सीसी नाघेको मोटरसाइकलमा ८० प्रतिशतले बढेको छ । हाल २०० देखि २५० सीसी ननाघेको ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो ।

२५० देखि ५०० सीसीसम्मका ९० प्रतिशत र ५०० सीसी देखि माथिकामा १०० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ ।

अहिले २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । ५०० देखि ८०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र ८०० सीसीमाथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.