गण्डकीका उद्योग ४३ प्रतिशत क्षमतामा मात्रै सञ्चालित

  २०७९ जेठ २३ गते ११:५१     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका उद्योगहरु आफ्नो जडित क्षमताको ४३ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् ।

उद्योगका लागि आवश्यक पर्ने विद्युत, कच्चा पदार्थको उपलब्धता, स्वदेशी उत्पादनको लागि उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध हुन नसक्दा उद्योगहरु आफ्नो जडित क्षमताको आधाभन्दा पनि कम क्षमतामा सञ्चालन भएका हुन ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार उद्योगहरु आफ्नो कुल जडित क्षमताको ४२.७ प्रतिशत क्षमतामा सञ्चालित भएका छन् ।

नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशका ११ जिल्लाहरुमा सम्पन्न स्थलगत तथा गैरस्थलगत सर्वाेक्षण आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिना अर्थात गत साउनदेखि पुसमसान्तसम्मको अध्ययन विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा गण्डकीमा ३८.९ प्रतिशत उद्योग मात्र सञ्चालित अवस्थामा रहेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा उद्योग क्षमताको उपयोगमा वृद्धि भएको छ ।

अध्ययन प्रतिवेदनले उत्पादित वस्तुहरुको लागत बढी तथा गुणस्तरमा कमी हुनाले अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेकोले स्वदेशी उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने चुनौती देखिएको उल्लेख गरिएको छ ।

यस्तै, घर–जग्गाको निरन्तर मूल्य वृद्धि र अव्यवस्थित सहरीकरण एवम् जग्गा उपयोगको कारण लागतको दृष्टिकोणले नयाँ उद्योग स्थापना चुनौतिपूर्ण हुँदै गएको, उद्योग स्थापना, नवीकरण लगायत कर/दस्तुर आदि बुझाउँंदा प्रक्रियागत जटिलताहरु, समय तथा लागत कम गर्न एकल बिन्दु सेवाको कार्यान्वयन, प्रविधिको उपयोग, विद्युत्तीय सेवा र विद्युत्तीय भुक्तानी कारोबारको अधिकतम् प्रवद्र्धन गर्नुपर्ने चुनौती रहेको उल्लेख गरिएको छ ।

औद्योगिक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न चुनौती रहेको, पर्याप्त उर्जा आपूर्ति एवम्भरपर्दो सडक यातायातको सुविधा उपलव्ध गराउनुपर्ने चुनौती रहेको, औद्योगिक क्षेत्रको विकासको लागि पुँजीको अभाव तथा अत्यावश्यक कच्चा पदार्थको आपूर्ति सहज गर्ने कार्य चुनौतिपूर्ण रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त अध्ययन प्रतिवेदन अनुसार गण्डकीमा मौसम प्रतिकुलताको बावजुद कृषि उत्पादन १.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । गत आर्थिक वर्षको ६ महिनामा कृषि उत्पादन १.८ प्रतिशतले वृद्धि भएको थियो ।

कोरोना महामारी समस्या क्रमशः समाधान हुँदै गएकोले यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत सेवा क्षेत्रको गतिविधि समेत उल्लेख्य रुपमा विस्तार हुँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

औद्योगिक उत्पादनतर्फ समीक्षा अवधिमा तोरीको तेल, विस्कुट, चुरोट, औषधि र सिमेन्टको उत्पादनमा वृद्धि भएको छ भने दुध, चकलेट, चाउचाउ, वियर र इट्टाको उत्पादनमा ह्रास आएको उल्लेख छ ।

यस्तैगरी २०७८ पुष मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको १४.५ प्रतिशत अर्थात ५० अर्ब ९२ करोड कर्जा रकम औद्योगिक क्षेत्रमा लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.