सरकारले घटायो पेट्रोलियम पदार्थको कर

  २०७९ जेठ १३ गते ११:५५     विकासन्युज

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएको छ । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सो कुरा बताएका हुन ।

उनका अनुसार यही जेठ १० गतेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको हो । उनले कर घटाउने निर्णय भएतापनि कुन शिर्षकमा कति कर घटाइएको विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको बताए ।

सरकारले पेट्रोलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क उठाउँदै आएको छ ।

यस्तै, उनले नेपाल आयल निगमलाई निजीकरण गर्ने कुरा नभएको भन्दै निगममा प्रशासनिक, वित्तीय एवंम व्यवस्थापकीय सुधार गर्दै प्रतिस्पर्धी बनाउने विषयमा तयार भएको बताए ।

हाल पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा, एक सिलिन्डर ग्यासमा तीन सय २७ रुपैयाँ ३७ पैसा, डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ ९१ पैसा र मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्ने गरेको छ ।

पेट्रोलमा सरकारले भन्सार र प्रज्ञापनपत्र शुल्क गरेर २५ रुपैयाँ २३ पैसा असुल्ने गरेको छ । त्यस्तै, सडक मर्मतसम्भार शुल्कका नाममा चार रुपैयाँ, प्रदूषण शुल्क एक रुपैयाँ २५ पैसा, पूर्वाधार कर १० रुपैयाँ, मूल्य अभिवृद्धि कर २० रुपैयाँ ७१ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क एक रुपैयाँ ८० पैसा उठाउने गरेको छ । यसका अतिरिक्त ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बीमा खर्च, प्राविधिक नोक्सानी, विक्रेताको खर्च तथा नाफासमेत गरी १४ रुपैयाँ २३ पैसाको भार पनि उपभोक्तालाई थपिने गरेको छ ।

पछिल्लो पटक नेपाल आयल निगमले जेठ ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले मूल्य बढाएपछि पेट्रोल प्रतिलिटर एक सय ८० तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ पुगेको छ । हवाई इन्धन लिटरको एक सय ६३ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय पु¥याइएको छ ।

केही समय अगाडी भारतले डिजेल र पेट्रोलमा लाग्ने कर कटौती गरेसँगै नेपालमा पनि कर घटाउनुपर्ने कुरा उठेको थियो ।

सरकारले कर घटाएपछि उपभोक्ता मूल्य घट्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.