एनसेलले पुल्चोकका विद्यार्थीलाई दियो २४ लाखको छात्रवृति

  २०७९ जेठ ११ गते १९:१२     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त छात्रवृति प्रदान गरेको हो ।

यस वर्षका लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेकाे छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेकाे हाे ।

२०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको कम्पनीले जनाएकाे छ ।

एनसेलले कोभिड–१९ महामारीका कारणले गर्दा गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको कार्यक्रम गर्न नसकेकाेले यसै कार्यक्रममा २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाण पत्र पनि प्रदान गरेकाे छ ।कम्पनीले गत वर्षकाे सम्मानको नगद पुरस्कार भने पुल्चोक क्याम्पसमार्फत विद्यार्थीहरुलाई प्रदान गरेकाे थियो ।

एनसेलकाे अनुसार हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाखकाे रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.