स्थानीय तहमा व्यवसायीको ‘इन्ट्री’, दर्जनौं व्यापार सम्हालेका गोपाल बने धनगढीको मेयर

  २०७९ जेठ ८ गते १२:५२     विकासन्युज

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतान्तरले निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरे । यस्तै, अर्का उम्मेदवार नेकपा (एमाले)का रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका छन् ।

हमाल धनगढीका चर्चित व्यवसायी पनि हुन् । उनी व्यापार व्यावसायसँगै सामाजिक क्षेत्रमा उनी अग्रसर छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारमा उठेका उनी नृप वडसँग नै झिनो मतले पराजित भएका थिए । अहिले उनी भारी मतान्तरले विजयी भए ।

सुदूरपपश्चिममा चर्चित व्यवसायी छवि बनाएका हमाल ‘दिनेश ग्रुप’ को अध्यक्ष हुन् । उनले दिनेश ग्रुप अन्तर्गतका विभिन्न व्यापार व्यवसाय गर्दै आएका छन् । दिनेश यातायात, दिनेश एग्रो, दिनेश होटल, दिनेश एफएम, दिनेशखबर र दिनेश मोटर्सजस्ता व्यापारमा उनको लगानी छ ।

यस्तै, दिनेश कन्सर्न, दिनेश फोर ह्विल, दिनेश अटो मोटिभ्स, दिनेश मेटल, दिनेश पेन्ट्स, दिनेश कम्प्युटर्सजस्ता व्यवसायमा पनि उनको सेयर स्वामित्व छ । सुदूरपश्चिमको विकासममा एक अभियन्ताको परिचय बनाएका हमालको विजयी पछाडि धेरैको आशा पनि छ ।

उनले लामो समयसम्म कैलाली उद्योग वाणिज्य संघ र सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष भएर काम गरिसकेका छन् ।

सचिवालय सुदृढ बनाउँछु : मेयर हमाल

धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित हमालल आफ्नो पहिलो काम सचिवालय सुदृढ बनाउने बताएका छन् । विजयी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले पहिलो काम सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने धारणा राखेका हुन् ।

उनले सचिवालयलाई चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउने कामलाई पनि पहिलो प्राथमिकता दिने बताए ।

सचिवालय सुदृढ नहुँदासम्म काम बन्दैन, मेरो काम सचिवालय सुदृढ गर्ने हुनेछ, त्यसपछि यसअघिका जनप्रतिनिधिहरूले अुधरै छोडेका कामहरू सम्पन्न गर्नेछु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.