व्यवसायीले ५० रूपैयाँले बढाए तेलको मूल्य, नियामक बेखबर

  २०७९ जेठ ८ गते १२:१५     विकासन्युज

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीहरु स्थानीय तहको निर्वाचनमा खटिएका मौकामा व्यवसायीले खाने तेलको मूल्य बढाएका छन् ।

विभागका अधिकांश कर्मचारीहरू निर्वाचनमा खटिएको समयमा तेल उद्योगीले लिटरमै ५० रुपैयाँसम्म मूल्य बढाएका हुन् ।

खुद्रा व्यवसायीहरूले स्थानीय तहको निर्वाचन सकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य उच्च भएको बताएका छन् ।

व्यवसायीका अनुसार निर्वाचन लगतै (पछिल्लो एक साताको तुलनामा) खाने तेलको मूल्य उच्च भएको हो । एक सातामा तेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्म बढेको हो ।

नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ । संघका महासचिव अमुलकाजी तुलाधर निर्वाचन लगतै उद्योगीले खाने तेलको मूल्य बढाएको बताउँछन् ।

उनका अनुसार निर्वाचन अगाडी प्रतिलिटर ३२० रुपैयाँ रहेको सनफ्लावर तेल अहिले ३७० रुपैयाँ पुगको छ । उनले एक साताको अवधिमा सनफ्लावर, सूर्यमुखी, काचो र भुटेको तोरीको तेलको मूल्य लिटरमै ५० रुपैयाँ बढेको बताए ।

‘उद्योगीले आफुखुशी हरेक पटक खाने तेलको मूल्य बढाएका छन्, रुस–युक्रेन युद्धलाई देखाउँदै तेल उद्योगीले मूल्य बढाएका छन्, उनीहरुले मूल्य बढाउँदा हामी खुद्रा व्यवसायीलाई धेरै असर पर्र्यो ।’

बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी भने दैनिक रुपमा बजार अनुगमन भैरहेको बताउँछन् ।

एक साताको अवधिमा उद्योगीले लिटरमै ५० रुपैयाँसम्म खाने तेलको मूल्य बढाउँदा विभागका अधिकारी बेखबर जस्तै बनेका छन् ।

विभागका अनुगमन अधिकृत धनेश्वर पौडले दैनिक उपभोग्य वस्तु केन्द्रित बजार अनुगमन भैरहेको बताउँछन् । खाने तेलको मूल्यको विषयमा खासै जानकारी नभएको उनको भनाई छ ।

‘हामी निरन्तर बजार अनुगमनमा छौँ, स्थानीय तह निर्वाचनका कारण केही दिन बजार अनुगमन सुस्त भएको थियो, अहिले हामीले दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीलाई लक्षित गरेर अनुगमन गरिरहेका छौँ’, उनले भने ।

उनले दैनिक बजार अनुगमनका क्रममा अधिकाशं वस्तुको मूल्य बढेको पाइएकोे बताए ।

‘अनुगमनका क्रममा अधिकांश वस्तुको मूल्य बढेको पाइएको छ, किन बढ्यो भनेर खोज्दा उद्योगबाटै बढेर आएको भेटिएको छ, उच्च रुपमा बढेका वस्तुको हामीले उद्योगसँग मूल्यसूचि नै मागेर समेत अनुगमन गर्ने गरेका छौँ,’ उनले भने ।

One comment on "व्यवसायीले ५० रूपैयाँले बढाए तेलको मूल्य, नियामक बेखबर"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.