कोरोनापछि अधिकांश देशको अर्थतन्त्र संकटमा, कुन देशले कस्तो नीति अपनाए ?

  २०७९ जेठ ७ गते १२:०५     विकासन्युज

काठमाडौं । लामो समयसम्म महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण अधिकांश देशको अर्थतन्त्र समस्यामा छ । कोरोना महामारी कारण उत्पन्न लकडाउन, सटडाउन तथा निषेधाज्ञा लगायतले अर्थतन्त्र ठप्प हुँदा र कोरोना कम हुँदै गएपछि आर्थिक गतिविधि चलायमान हुँदा अधिकांश देशको अर्थतन्त्रमा समस्या देखिएको बताइएको हो ।

अर्थतन्त्रमा समस्या भन्ने बित्तिकै धेरैले श्रीलंकाको उदाहरण दिन्छन् । तर, आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा अहिले संकटकाल घोषणा गरिएको छ । अहिले श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा विदेशी मुद्राको अभावमा खाद्यान्न र इन्धनको चरम अभाव भएको छ ।

कोरोनासँगै श्रीलंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो । केही अर्थशास्त्रीले भने लगातार वैदेशिक ऋण लिने र अव्यवस्थापनका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मु्द्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो ।

श्रीलंकासँग अब पेट्रोलियम पदार्थ खरिदका लागि समेत पर्याप्त रकम नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो समय देखिएको संकटका कारण श्रीलंकामा उद्योग क्षेत्र‚ शिक्षा क्षेत्रसमेत धराशायी बन्दै गएका छन् । पेट्रोल पम्पमा पेट्रोलियम पदार्थका लागि र ग्यास पसलका अगाडि ग्यास सिलिन्डरका लागि मानिसहरूको लामो लाइन देख्नु श्रीलंकाको दिनचर्याजस्तै भइसकेको छ ।

अहिले नेपालमा पनि अर्थतन्त्रमा समस्या छ । कतिपयले श्रीलंका बन्न लागेको टिप्पणी गरिरहेका छन् भने कतिपय श्रीलंकाको स्थितीमा नपुगेको धारणा राखिरहेका छन् । व्यापार घाटा उच्च, मुद्रास्फिति बढेको बढ्यै र विदेशी मुद्रास्थिती निरन्तर घटेकोले नेपालको अर्थतन्त्रमा पनि केही समस्या देखिएको हो । नेपाल सरकारले पनि केही वस्तुको आयातमा रोक लगाएको छ भने केहीमा कडाइ गरेको छ ।

यस्तै, पाकिस्तानको पनि अर्थतन्त्रमा समस्या देखिएको छ । पाकिस्तानले अति आवश्यक बाहेकका तथा विलासिताका सामानहरूको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गरेको छ ।

यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ। यहाँको सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई दिएको प्रतिबद्धताअनुसार पाकिस्तानले आर्थिक सुधारका लागि सहुलियत घटाउनेदेखि आयात प्रतिबन्ध लगाउन लागेको हो ।

ठूलो अर्थतन्त्र भएको देश भारतमा पनि अर्थतन्त्रको समस्या देखिन थालेको छ । मूल्यवृद्धि उच्च भएपछि भारत सरकारले गहुँ निर्यातमा रोक लगाएको छ । भारतमा उपभोक्ता मुद्रास्फिती बढेर ७.७९ प्रतिशत पुगेपछि सरकारले गहुँ निर्यातमा अल्पकालीन रोक लगाएको हो । भारत सरकारले मुलुकभित्र बढ्दो खाद्य सुरक्षा र महँगीलाई ध्यानमा राख्दै निर्यातमा रोक लगाउने निर्णय गरेको विज्ञप्तिमार्फत् प्रष्ट पारेको छ । पछिल्लो समय विभिन्न देशमा रुस र युक्रेनबीचको युद्धका कारण विभिन्न वस्तुको मूल्य बढेको छ ।

हालसालै सार्वजनिक तथ्यांकका अनुसार भारतमा इन्धन र खाद्यान्नको उच्च मूल्यका कारण अप्रिलमा उपभोक्ता मुद्रास्फीति ८ वर्षकै उच्चमा पुगेको देखाएको छ । विश्वव्यापी रुपमा उच्च मागका कारण, २०२१–२२ मा भारतको गहुँको निर्यात बढेर ७० लाख टन वा २.०५ बिलियन अमेरिकी डलर पुगेको छ ।

यस्तै, बंगलादेश सरकारले पनि सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ । कोभिडपछि नै देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै सरकारले विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हो ।

बंगलादेश सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरु ल्याएको जनाएको छ । ती कार्यक्रमहरुमा सहयोग गर्न सबै सरकारी अधिकारीहरुलाई यहाँको अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ । अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमणहरु सबै प्रकारका हाललाई रोकिएको जनाएको छ ।

बंगलादेशको केन्द्रीय बैंकले बंगलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ । केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययीता सम्बन्धी कार्यक्रमहरु ल्याएको थियो । सो कार्यक्रममा सरकारी अधिकारीहरुले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरुको आयातमा रोक लगाइएको छ । सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै यहाँ खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरु सामानहरुको आयातमा रोक लगाइएको बताइएको छ ।

कोरोनापछि अर्थतन्त्र समस्या परेका यी सबै देशहरूले आयातमा रोक लगाएका छन् । अर्थतन्त्रलाई लयमा ल्याउन सक्ने विकल्प सबै देशहरूले आयात रोक्नु नै देखेको बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.