निर्वाचनको कारण सुनसान काठमाडौं (फोटो फिचर)

  २०७९ वैशाख २९ गते १८:००     विकासन्युज

काठमाडौं । शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका कारण धेरैले काठमाडौं उपत्यका छोड्नु र यहाँ रहेकाहरूले पनि पसल नखोल्दा काठमाडौंका मुख्य बजार र मेन रोड सुनसान छन् ।

आफ्नो मताधिकारका लागि लाखौंले काठमाडौं छाड्दा यहाँका मतदाताहरू पनि आफ्नो मतदान केन्द्रमा केन्द्रित हुन थालेका छन् । त्यसैले व्यावसायिक रुपमा चल्ने अधिकांश पसल होटल तथा शोरुमहरू बन्द छन् भने खुलेका पसलमा पनि ग्राहक न्यून छन् ।

आइतबार ५६ हजार ८७२ जना, सोमबार ५५ हजार ७४६ र मंगलबार ५९ हजार ८१ जना नागरिकहरू काठमाडौंबाट बाहिरिए । बुधबारमात्रै ८३ हजार नागरिकले काठमाडौंबाट उपत्यका छाडिसकेका प्रहरीले जनाएको छ । यही २१ देखि २८ गतेसम्म ५ लाख ५० हजार बढी यात्रुले उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले जानकारी दिए ।

आज राति १२ बजदेखि सवारीसाधन सञ्चालन गर्न नपाउने भएकाले पनि यसअघि जान नपाएका मतदाता आज साँझसम्म फर्किने तरखरमा रहेका छन् । यसपालि निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् ।

मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

मङ्गलबार राति १२ बजेदेखि लागू हुनेगरी मौन अवधि सुरु भइसकेको छ भने अन्तर्राष्ट्रिय सीमा नाकासमेत बन्द गरिएको छ । मुलुकभर प्रचारप्रसारसहित मतदाता प्रभावित पार्ने गतिविधिमा रोक लगाइएको छ ।

उपत्यका भित्रिने सवारी प्राय छैन भने बाहिरिने सवारी साधनको चाप अझै देखिएको छ । मतदाताहरु काठमाडौंको कलङ्की, बालाजु, कोटेश्वर, बल्खु, गौशालालगायत विभिन्न नाकाबाट गाउँ फर्किने क्रम जारी रहेको छ । आज मात्रै सवारी चल्ने भएकाले पनि यसअघि जान नपाएका यात्रु आज राति अबेरसम्म भए पनि गाउँ फर्किने तयारीमा छन् । उपत्यकाभित्र पनि न्यून मात्रामा सवारीसाधन सञ्चालन छ । अघिपछि जाम हुने थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, कलङ्कीलगायतका चोक प्रायः खुलाजस्तै छ ।

यातायातका साधन कुनै पनि चोकको जाममा पर्नुपर्ने अवस्था नरहेको सवारी चालकहरुले बताएका छन् । सडकमा ट्राफिक प्रहरी न्यून मात्रामा परिचालन भएका छन् । विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाईसमेत निर्वाचनमा परिचालन गरिएकाले सडकमा सुरक्षाकर्मीको उपस्थिति कम छ ।

थप तस्बिरहरू हेर्नुस् :-

तस्बिर :विवश कुलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.