डा.सुशिला : शिक्षकपछि चिकित्सक, आफ्नै अस्पताल खोल्ने तयारी

  २०७९ वैशाख २९ गते १२:४४     डोमी शेर्पा

काठमाडौं । डा. शुशिला शाक्य वैद्यलाई तीन दशक अगाडि बिताएका ती संघर्षका दिनहरु हिजो जस्तै लाग्छन् । सुशिला पेशाले चिकित्सक । वि.स २०२० सालमा ललितपुर महानगरपालिका–९ मा जन्मिएकी बुवा शान्तमान शाक्य र दुर्गादेवी शाक्यकाे पहिलाे सन्तान सुशिलाले अहिले जति उपलब्धि हासिल गरेकी छन् त्योभन्दा बढी उनले चुनौति र थुप्रै समस्याहरु सामना गर्नु पर्यो ।

उनको हजुरबुबा कुलमान सिंह शाक्य ललितपुरकै ठूलो व्यापारी । मंगलबजारदेखि पुल्चोकसम्मका अधिकांश पसल शाक्य परिवारकै छ । उनको हजुरबुबाको सात छोरा र पाँच छोरी । उनको बुबा सानै हुँदा हजुरबुबा र हजुरआमा बितेपछि टुहुरो भए । सुशिलाको फुपुले उनको बुबाको १७ वर्षकै उमेरमा बिहे गर्दिए । बुबा १८ वर्षको हुँदा शुशिलाको जन्म भयो ।सुशिलाका दुई भाइ छन् ।

आमाबुबाको पहिलो सन्तान शुसिला जन्मिदा उनको बुबा शान्तमान शाक्य पनि संघर्षको खुड्किलामा थिए । उनको बुबालाई बाजेको पनि साथ थिएन । सुशिला ५ कक्षामा पढ्दा उनका बुबाले एसएलसी दिएको उनलाई अझै सम्झना छ । उनले कक्षा १ देखि ३ सम्म मंगलबजारको कन्या निकेतनमा र ४ देखि १० कक्षासम्म उनले पुल्चोकको मदन स्मारक विद्यालयमा अध्ययन गरिन् ।

पढाइ सँगसँगै पेन्टिङ्ग, गीत, खेलकुदमा पनि सक्रिय सुशिला विद्यालयमा हुने हरे गतिविधिहरुमा भाग लिन्थिन् । उनको अर्को रूची ‘साइकल राइडिङ’ । सानो छँदा स्कूलको गेट खोल्ने बित्तिकै दौडिएर साइकल भाडामा लिएर चलाउने उनी सुनाउँछिन् । एउटा कापी भरिएपछि दाेस्राे किन्नलाई पनि धाउधाउ पर्ने उनलाई बुवाले आफ्नाे भागकाे पसल पाएपछि मात्र विस्तारै आर्थिक स्थिति सुध्रिँदै गएको उनी बताउँछिन् ।

३ सय तलबबाट पढाउन सुरु

सुशिला आफुले एसएलसी पास गरेपछि काम सुरु गरेको बताउँछिन् । उनी प्लस टु पढ्न पाटन बहुमुखी क्याम्पसमा भर्ना भइन् । बिहान उनी कलेज र दिउँसो काम सुरु गरिन् । उनले मासिक ३०० तलबमा स्कुलमा पढाउन सुरु गरिन् ।

‘मैले ५ वर्ष सोही स्कूलमा पढाएँ, पछि जागिर परिवर्तन गरेँ, कान्तिपथको एउटा अफिसमा सेक्रेटरीको काम गरेँ, त्यहाँ मासिक १५ सय तलब पाएँ,’ उनले आफ्नो विगत सुनाउँदै भनिन् ।

पढाइ र काम सँगसँगै अगाडि बढाउँदै गइन् । उनी स्नातकोत्तर पढ्दै थिइन् । घरबाट विवाह गर्नु पर्छ भनेर ‘प्रेसर’ आयो । साथीको दाइ प्रेमराज वैद्यसँग उनको विवाहको कुरा चल्यो । र, चिनिरहेको राम्रो लाग्ने मान्छे भएर सुशिलाले सो प्रस्तावलाई स्वीकार गरेको उनी सुनाउँछिन् ।

उनले वि.स २०४७ फागुनमा प्रेमराज वैद्यसँग विहे गरिन् । प्रेमराज त्यसबेला औषधीको आफ्नै विजनेश गरिरहेका थिए । उनले त्यसबेलासम्म हेल्थ एसिस्टेन्ट भएर पाटन अस्पतालमा काम गरिसकेका थिए ।

‘बिजनेश विस्तारै विस्तार हुँदै थियो, मेरो श्रीमानलाई पढ्ने रहर आएछ, उहाँले रुसमा एमबिबिएस पढ्ने विज्ञापन देख्नुभयो, त्यसमा आवदेन दिएर जानु भयो,’ उनले भनिन् । केही समयपछि सुशिलाको पनि रसियाबाट भिसा आयो । त्यो भिसा आफुलाई सप्राइजको रुपमा आएको उनी सुनाउँछिन् । माइला दाइकाे सल्लाह बमाेजिम प्रेमराजले उनलाई त्यसबारे खबर नै नगरी पठाएका थिए ।

त्यतिखेर उनी गर्भवती थिइन् । आफुलाई गर्भवती भएर विदेशमा जाँदा अफ्ठ्यारो हुन्छ भन्ने सोच नै नआएको उनी बताउँछिन् । र उनी श्रीमान् सँगै रसिया गइन् ।

रुसमा भोगेको त्यो दुःख

रुसको सुरुवाती बसाइँ उनका लागि कष्टकर नै बन्यो । त्यसबेला त्यहाँ सरकार परिवर्तन भएकाले खानाहरु पाउन निकै मुस्किल थियाे । सुत्केरी सुशिलालाई त्यसले धेरै दुख दियाे । त्यसमाथि भाषको समस्या । उनलाई एक वर्ष भाषा सिक्न नै लाग्यो ।

विस्तारै दिनहरु सहज बन्दै गए । आफुलाई श्रीमानले भाषा सिक्न पनि रातदिन सिकाएको उनी बताउँछिन् । उनका अब बच्चा पनि जन्मियो । कलेजको डिनले विश्वविद्यालयमा पहिलोचोटी बाहिरबाट आएकाको बच्चा जन्मिएकोले उनलाई आफ्नो नातिनी बनाए । उनले ठूलो भिडियो क्यामरा लिएर हस्पिटलबाट डिस्चार्ज भएदेखि आफैले भिडियो लिएर खिचेर आफ्नै गाडीमा उनीहरूलाई लिन आएको उनी स्मरण गर्छिन् ।

बच्चा ३ महिनाको भएपछि उनीहरू नेपाल फर्किए । त्यसपछि सुशिलालाई रुस फर्किने कि नफर्किनेमा अन्यौल भयो । बिरामी बच्चा छोडेर जान एकतर्फी मन नमान्ने अर्कोतर्फ बच्चा हेरे आफ्नो पढाइ छुट्ने समस्या थियो । तर, उनले बच्चालाई छाडेर जाने निर्णय गरिन् ।

सुरुमा कुन विषय पढ्ने भन्ने अलमलमा परेकी सुशिला नेपालबाट गएका सबैले एमबिबिएस पढेपछि उनले पनि एमबिबिएस पढ्ने निधो गरिन् । एक वर्ष पढेर निधो गर्ने सोचेकी सुशिलाले पहिलो वर्ष निकै राम्रो गरिन् । एमबीबीएस पढ्न गएकी उनी पहिलो वर्षको परीक्षापछि फेरि नेपाल फर्किएको बताउँछिन् ।

बिरामी छोरी छोडेर पढ्न गएकी उनले नेपाल फर्केपछि छोरीको उपचार गर्न भारत लगिन् । त्यसले त्यस्तो समस्याको उपचार नेपालमा नहुने र भारतमा महँगो भएकोले उनले बिरामी छोरीलाई पनि रुस नै लगिन् । त्यही जन्मेको बच्चा भएर सबै सेवा सुविधा निःशुल्क थियो । रुसमै छोरीको अपरेसन गर्ने निर्णय भयो । अपरेसन पनि सफल भयो । पछि वैद्यका श्रीमानले त्यही अस्पतालमा ओपन हार्ट सर्जरी विषय पढे ।

लाइसेन्स नपाएपछि भोलिन्टिएरमा काम

भाषासहित ७ वर्ष पढेपछि उनी एमडीको सर्टिफिकेट सहित श्रीमानलाई उतै छाडेर उनी नेपाल फर्किइन् । नेपाल फर्केपछि आइएस्सी गरेर विदेश जानेहरुले तुरुन्त लाइसेन्स पाए । पढेर जुन खुशी लिएर डाक्टर बनेर फर्किएकी सुशिलाले त्यो समय धेरै समस्या पनि भोगिन् ।

उनले लाइसेन्स पाइनन् । लाइसेन्स पाउनका लागि आफुले ठूलो संघर्ष गर्नु परेको उनी बताउँछिन् । लाइसेन्स नपाएपछि भाेल्युन्टियर रुपमा काम गरिन् त्यसक्रममा उनले बिएण्डबिमा इन्टर्नको रुपमा दुई वर्ष काम गरिन् । बिएण्डबिमा उनले ठूलो डाक्टरहरुसँग काम गर्न मौका पाइन् । उनी त्यसको लािग आफुलाई भाग्यमानी ठान्छिन् ।

श्रीमान् पनि विदेश पढिरहेका थिए । उनी पनि भाेल्युन्टियर रुपमा काम गर्थिन् । छोरी सेन्टमेरीजमा पढिरहेकी थिइन् । त्यतिखेर उनलाई खर्च धान्न पनि समस्या भयो ।

‘सासुले गाबाहालमा मेरो लागि सानो क्लिनिक खोलिदिनुभयो, बिएण्डबी बाट आएर म एक घण्टा त्यहाँ बस्थेँ, त्यसबाट केही पकेट खर्च मात्रै आउँथ्यो, सो समयमा मलाई केही डिप्रेसनको पनि समस्या भयो,’ उनले भनिन् ।

लाइसेन्स र जागिर नपाएको कारण उनलाई एकदमै समस्या भयो । अब उनी पिजी पढ्न पुनः विदेश जाने निर्णयमा पुगिन् । उनले छोरीलाई होस्टेलमा राखेर पिजी गर्न विदेश गइन् । उनले त्यहाँ थेरापी पढिन् ।

लेजर मेसिन बोकेर नेपाल

उनले त्यसबेला मस्कोको एउटा भारतीय स्कुलमा करिब ६ महिना काम गरिन् । उनको मासिक तलब ३०० डलर थियो । त्यहाँ काम गरेको पैसाले लेजरी मेसिन किनेर उनी नेपाल फर्किएको स्मरण गर्छिन् ।

उनले त्यसको लाइसेन्स पाउनकै लागि ६ महिना बिएण्डबिमा प्रि इन्टर्न, विर अस्पताल, प्रसुती गृह, आँखा अस्पताल, शुक्रराज ट्रपिकल अस्पतालदेखि लिएर कान्ती अस्पतालमा विभिन्न संकायको इन्टरर्नसिप गरिन् । त्यसपछि बल्ल उनले लाइसेन्स पाइन् ।

उनले आफ्नो पेशाको दौरानमा जटिल प्रकारका केशहरु पनि सहजै सफल गरेको सुनाउँछिन् । उनी छात्रवृतिमा पढ्नकै लागि किर्गिस्थान पनि पुगेको बताउँछिन् । त्यहाँ उनले गाइनोकोलोजी ३ वर्ष पढेर ६ महिनाको ट्रेनिङ्ग लिएर नेपाल फर्किइन् ।

‘रसियनहरु ड्युटी सिध्याएर भाग्ने गर्थे, तर म चाहिँ मौका पायो कि सर्जरी गर्न ढुकेर बस्थेँ, यो पेशामै रहेर पनि विदेश र स्वदेशमै पनि धेरै समस्याहरु झेल्नु पर्यो, धेरै केसहरु सामना गर्नु पर्यो, कतिपय ‘क्रिटिकल केशहरू सफलताका साथ सफल पारको देखदा गर्व पनि लाग्छ,’ उनी विगत सम्झिदै भन्छिन् ।

क्लिनिकपछि अब अस्पताल

चिकित्सकको रुपमा उनले स्वदेश र विदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा काम गरिन् । समय व्यवस्थापन गर्न नसकेरै आफुले भक्तपुर क्यान्सर अस्पतालमा काम छाडेको बताउँछिन् । सो संस्थामा काम छाडेपछि तीन/चार जना डाक्टर मिलेर नेसनल हस्पिटल एण्ड क्यानसर रिर्सच सेन्टर स्थापना गरको उनले बताइन् । जुन नेपालकै पहिलो प्राइभेट क्यान्सर अस्पताल हो ।

पुतलीसडक, न्यूरोड र घरको क्लिनिकमा बिरामीहरु बढ्दै गएपछि उनले पुतली सडकको काम पनि छाडिन् । त्यसपछि उनले पुतलीसडकको क्लिनिकमा काम छाडेर अल्का अस्पतालमा एउटा कोठा लिएर काम सुरु गरिन् । अल्का अस्पताल, गाबाहाल र न्युरोडमा लेजर थेरापीको काम गरिन् ।

उनको चर्चासँगै बिरामीहरु बढ्दै गए । बिरामीको चाप बढेसँगै अहिले उनी क्यान्सर अस्पतालमा बोर्ड मिटिङ्ग र त्यस्तै खालको बिरामी आएको अवस्थामा मात्र अस्पताल पुग्छिन् । उनलाई अल्काको कोठा पनि सानो भएपछि नजिकै अर्को घर भाडामा लिएर क्लिनिक सुरु गरिन् । त्यो पनि सानो भएपछि अहिले त्यही सँगैको एउटा पुरा घर भाडामा लिएर काम गरिरहेकी छन् ।

आफु यो स्थानमा आइपुग्नुमा परिवारको ठूलो साथ भएको उनी बताउँछिन् । श्रीमान् र श्रीमान्को परिवारको सहयोगले मात्र आफु डाक्टर बन्न सकेको उनको भनाइ छ ।

सुशिलाको क्लिनिकमा लेजर थेरापीको ७ वटा मेसिन, फिजियो थेरापीमा दुई सेट र मसाजमा दुईवटा मेसिनबाट काम हुन्छ । दैनिक ४०/५० बिरामी आउने उनी बताउँछिन् । उनी बिहानको ८ बजेदेखि साँझ ८ बजेसम्म आफ्नै पल्चोकस्थित क्लिनिकमा काम गरिरहेकी छन् । उनले हाल १५ जनालाई रोजगारी दिएकी छन् । १२ लाख रुपैयाँ लगानीबाट सुरु गरेको उनको व्यवसाय अहिले ५० लाख बढीको पुगेको उनी बताउँछिन् ।

नेपालमा पहिलो पटक लेजर थेरापी भित्र्याउने उनले अचम्मको केसहरु निको पारेकी छिन् । उनीसँग आउने अधिकांश बिरामी निको भएका छन् । ब्रेन स्ट्रोक भएर वा प्यारालाइसिस भएर शरीर नचल्नेहरु उनकोमा आएर निको भएका छन । २५ हजारभन्दा बिरामी निको पारेको डाटा सुशिलासँग छ । उपत्यका बाहिरबाट आएका बिरामी धेरै र त्यसमाथि काठमाडौंमै पनि टाढाबाट आउने बिरामीहरुलाई ओहोरदोहोर गर्न गाह्रो भएको भन्दै शुसिला अर्को अस्पताल खोल्ने तयारीमा छिन् ।

One comment on "डा.सुशिला : शिक्षकपछि चिकित्सक, आफ्नै अस्पताल खोल्ने तयारी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.