दश महिनामा थपियो ७१ ठूला उद्योगमा २ खर्ब १९ अर्ब लगानी

  २०७९ वैशाख २८ गते १०:२३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा ठूला उद्योगमा करिब सवा दुई खर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार गत साउनदेखि बैशाख १५ गतेसम्ममा स्वदेशी लगानीका ७१ वटा ठूला उद्योगमा लागि २ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृत भएको हो ।

चालु आर्थिक वर्षको दश महिनामा स्वीकृत भएको लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो । गत आर्थिक वर्ष २०७७/०७८ को दश महिनामा (साउनदेखि बैशाख १५ गतेसम्म) ३७ वटा ठूला उद्योगमा १ खर्ब १७ अर्ब ८६ करोड १५ लाख रुपैयाँ लगानी स्वीकृत भएको थियो ।

उर्जामा थपियो एक खर्ब ३८ अर्ब

चालु आर्थिक वर्षको १० महिनामा थपिएका ठूला उद्योगमध्ये सबैभन्दा धेरै लगानी उर्जामूलक उद्योगमा आएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार बैशाख १५ गतेसम्म ३४ वटा उर्जामूलक उद्योगमा १ खर्ब ३८ अर्ब ४३ करोड ९२ लाख ९५ हजार ५६५ रुपैयाँ लगानी थपिएको हो ।

विभागका अनुसार मनाङको नासोङ गाउँपालिकामा तीनवटा जलविद्युत आयोजना निर्माणको लागि लगानी स्वीकृत भएको छ । ती जलविद्युत आयोजनाहरुमा ४५ अर्ब १४ करोड रुपैयाँ लगानी हुने भएको हो । बुटबल पावर कम्पनीले चिनिखोला जलविद्युत आयोजनामा मार्फत नासोङमा १ अर्ब २९ करोड ६३ लाख ५७ हजार, सिता हाइड्रोपावरले १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ र बुटबल पावर कम्पनीले मनाङकै नासोङमा ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ लगानी गर्ने स्वीकृति लिएका छन् ।

पुवाखोला वान हाइड्रोपावरले ओखलढुंगाको मोलुङ गाउँपालिकामा ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ, हिमाली हाइड्रो फन्डले ताप्लेजुङको पापुङ गाउँपालिकामा १ अर्ब ९० करोड, वाटर इनर्जीले इलामको देउमाई नगरपालिकामा हाइड्रोका लागि १ अर्ब ६५ करोड २२ लाख ६३ हजार र कोप्लाङ ईनर्जीले दोलखाको गौरीशंकर गापामा १ अर्ब २९ करोड २२ लाख २४ हजार रुपैयाँ लगानीको स्वीकृति पाएका छन् ।

यस्तैगरी, मेन्छिमय हाइड्रोले संखुवासभाको चैनपुर नगरपालिकामा १ अर्ब ३० करोड ५१ लाख, रुरुगाड पावर कम्पनीले कालीकोटको तिलागुफामा ४ अर्ब ३७ करोड ८८ लाख, रिभरसाईड हाइड्रो इनर्जीले ताप्लेजुङको फत्ताङलुङमा ५ अर्ब ९५ करोड ७० लाख, ठूलोखोला हाइड्रोपावरले म्याग्दीको रघुगंगा गाउँपालिकामा २ अर्ब ५५ करोड ६९ लाख र ब्रहयणी हाईड्रोपावरले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५ अर्ब ९५ करोड रुपैयाँ लगानी स्वीकृत गरेका हुन् ।

सानिमा जुम हाईड्रोपावरले दोलखा जिल्ला बिगु गाउँपालिकामा १० अर्ब ५३ करोड ३१ लाख ४७ हजार, गणेश हिमाल हाईड्रोपावरले धादिङको खनियावास गाउँपालिकामा ४ अर्ब २४ करोड २७ लाख ८६ हजार, मौलाकालिका हाईड्रोपावरले तनहुँको देवघाट गाउँपालिकामा ५ अर्ब ९६ करोड, इवीएम नेपालले ताप्लेजुङको मिक्काखोलामा चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन गर्न ५ अर्ब ५८ करोड ७६ लाख, ह्यापी इनर्जी प्रालिले संखुवासभाको सिलिचोङमा ५ अर्ब ९५ करोड १७ लाख, हनुमान हाईड्रोपावरले धादिङको रुबिभ्याली गाउँपालिकामा ३ अर्ब १७ करोड ३७ लाख रुपैयाँ लगानी स्वीकृत पाएको छ ।

विभागका अनुसार उत्पादनमुलक क्षेत्रका २३ वटा उद्योगमा ५३ अर्ब ८ करोड ५५ लाख, पर्यटन क्षेत्रका ८ उद्योगमा १५ अर्ब ३८ करोड, सेवामूलक क्षेत्रका ५ उद्योगमा ११ अर्ब ६३ करोड ६६ लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित उद्योगमा प्रभु डिजिटल लिमिटेडले १ अर्बको लगानी स्वीकृत गरेको छ ।

२७४ उद्योगमा करिब तीन खर्ब लगानी

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा करिब ती खर्ब बराबरको स्वदेशी लगानीका उद्योग दर्ता भएको छ । उक्त अवधिमा २७४ स्वदेशी उद्योगमा २ खर्ब ८८ अर्ब २० करोड ९१ लाख ५८ हजार रुपैयाँ लगानी स्वीकृत भएको हो ।

यस्तैगरी दश महिनाको अवधिमा विदेशी लगानीका १६३ वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । उक्त उद्योगका लागि विभागले ३८ अर्ब ५५ लाख ३० करोड रुपैयाँ बढी लगानी स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.