निर्माण व्यवसायी महासंघले आइतबारदेखि सबै निर्माणको काम बन्द गर्ने

  २०७९ वैशाख ९ गते १७:२१     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार (वैशाख ११) देखि ‘कन्स्ट्रक्शन होलिडे’मा जाने बताएको छ ।
शुक्रवार महासंघ सचिवालय अनामनगरमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले ‘कन्स्ट्रक्शन होलिडे’ आह्वान गरिएको बताए ।

महासंघले निर्माण सामाग्रीहरूमा भएको अत्याधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई यही आइतबारदेखि लागू हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने जानकारी दिएको हो ।

‘कन्स्ट्रक्शन होलिडे’ को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने अध्यक्ष सिंहले बताए । महासंघले पत्रकार सम्मेलनमार्फत् आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअन्र्तगत ७७ जिल्ला संघहरुले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा वैशाख १३ गते देखि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

पछिल्लो समयमा निर्माण सामाग्रीहरूमा भएको अत्याधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनका केही त्रुटिपूर्ण बुँदा लगायतका कारणले निर्माण उद्योग धराशायी भएको अध्यक्ष सिंहले बताए । निर्माण उद्योगमा आवद्ध १७ हजार न्दा बढी व्यवसायीहरू पेशाबाटै पलायन हुने स्थिति देखा परिसकेको र उनीहरूमा आश्रित लाखौं परिवारको भविष्य अन्यौलमा परेको पनि अध्यक्ष सिंहले बताए ।

निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा अत्यन्त नकारात्मक असर परेको बारे प्रधानमन्त्री, मन्त्रीहरू, मुख्य सचिव, सचिवहरू लगायत सरोकारवाला सबैको समयमै ध्यानाकर्षण गराई माग पूरा गर्ने समयसीमा दिँदा समेत कुनै सुनुवाइ नभएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.