यस कारण घट्यो एक दर्जन वाणिज्य बैंकको नाफा

  २०७९ वैशाख ७ गते १८:३८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार अधिकांश बैंकहरूको नाफा घटेको छ । बैंकहरूले सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणका अनुसार एक दर्जन वाणिज्य बैंकहरूको नाफा घटेको छ भने १५ वटा वाणिज्य बैंकहरूको नाफा बढेको छ ।

२७ वटा वाणिज्य बैंकहरूले तेस्रो त्रैमाससम्म कुल ५१ अर्बभन्दा बढी नाफा गरेका छन् । गत वर्षको सोही अवधिमा बैंकहरूको खुद नाफा ५० अर्ब ७४ करोड रुपैयाँ थियो । गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको नाफा ०.५४ प्रतिशतले मात्रै बढी हो ।

२७ वटा वाणिज्य बैंकमा यो पटक सबैभन्दा बढी नाफा गर्नेमा ग्लोबल आईएमई बैंक अगाडि छ । ग्लोबल आईएमई बैंकले तीन अर्ब ७२ करोड नाफा गरेर पहिलो स्थानमा छ ।

नाफा घट्ने बैंकहरूमा लक्ष्मी, प्रभु, नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू, सानिमा, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र कुमारी बैंक रहेका छन् । कुमारी बैंकको नाफा केही लाखले मात्रै घटेको छ ।

सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकको ६६ प्रतिशतले घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा नाफा ६६ करोडले घटेको छ ।

नेपाल बंगलादेश (एनबी) बैकको नाफा ३२.१८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ए अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस्तै, लक्ष्मी बैंकको खुद नाफा ३३.३१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ । लक्ष्मीले गत आवको सोही अवधिमा एक अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रभु बैंकको नाफा ३५ करोडले घटेर एक अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ खुद नाफा कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंक अफ काठमाडू (बीओके) ले ८७ करोड सात लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा एक अर्ब १६ करोड ९३ लाख रुपैयाँ थियो । गत आवको तुलनामा बीओकेको खुद नाफा २५.५३ प्रतिशतले घटेको छ ।
नबिल बैंकको नाफा ३२ करोडले घटेर तीन अर्ब ३५ करोड, कृषि विकास बैंकले १७ करोडले घटेर एक अर्ब ९० करोड नाफा गरेको छ भने इनभेष्टमेन्टको ३७ करोडले घटेर दुई अर्ब ४७ करोड र प्राइम बैंकको नाफा नौ करोडले दुई अर्ब ७२ करोड खुद नाफा आर्जन गरेको छ ।

किन घट्यो नाफा ?

बैंकरहरू ब्याज खर्च बढी, स्प्रेडदर कम, प्रोभिजनिङलगायत कारणले नाफा घटेको तर्क गर्छन् । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकहरूले बढी प्रोभिजनिङ गर्नुपर्ने बाध्यता, अन्य खर्च बढ्दा, स्प्रेडदर कम हुँदा अधिकांश बैंकहरूको नाफा घटेको बताए ।

‘नाफा घट्नुको मुख्य कारण ब्याज खर्च बढ्नु हो, यो समयमा बैंकहरूले धेरै प्रोभिजनिङ पनि गर्नुपर्‍यो, स्प्रेडदर पनि अर्को कारण हो, यी विभिन्न कारणले नाफामा संकुचना आएको हो,’ उनले भने ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण धेरै उद्योगी व्यवसायी तथा सर्वसाधारणहरूलाई पनि ऋण तथा ब्याज तिर्न समस्या भएकै कारण बैंकहरूले प्रोभिजनिङ गर्नुपरेको उनको भनाइ छ ।

उनले तेस्रो त्रैमासमा नाफामा संकुचन आए पनि चौथो त्रैमासमा भने नाफा बढ्न सक्ने धारणा राखे ।

यस्तै, एक वाणिज्य बैंकका सीईओले अहिले कम स्प्रेडदर भएका बैंकहरूको नाफा घटेको र बढी स्प्रेडदर भएका बैंकहरूको नाफा बढेको तर्क दिए ।

‘अहिले एक दर्जन बैंकहरूको नाफा घटेको देखिएको छ, ती सबै बैंकहरूको स्प्रेडदर नाफा बढेका बैंकको भन्दा कम छ, हामीले (नाफा घटेका बैंक) ले स्प्रेड नबढाएकै कारण नाफा कम भयो, बैंकहरूको लोनलस प्रोभिजनिङ पनि बढेको छ, नाफा मात्रै भन्दा पनि ‘अपरेटिङ प्रोफिट बिफोर प्रोभिजन’ हेर्दा कुन बैंक अब्बल भन्ने थाहा भइहाल्छ,’ उनले विकासन्युजसँग भने ।

One comment on "यस कारण घट्यो एक दर्जन वाणिज्य बैंकको नाफा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.