नेक्सन इभीको कारोबार ब्ल्याकमार्केटमा, सिप्रदीमा भन्दा हाम्रो बजारमा ५१ हजार बढी मूल्य

  २०७९ वैशाख ७ गते १२:४०     विकासन्युज

काठमाडौं । गाडी आयातका लागि एलसी बन्द गर्ने सरकारको अल्पकालिन निर्देशनसँगै गाडीको कालोबजारी शुरु भएको छ । नेपाल राष्ट्र बैंकले दुई साताअघि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर गाडी लगायत विलासीका सामान आयात रोक्नु पर्ने भन्दै गाडीको एलसी कारोबार बन्द गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंंकले निर्देशन दिएको दुई साता नबित्दै गाडीको कालोबजारी शुरु भएको प्रष्ट देखिएको छ । टाटा मोटर्सको इलेक्ट्रिक गाडी नेक्सन इभी ब्ल्याक मार्केटमा खरिद बिक्री भैरहेको पाइएको छ ।

नेपालको लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ हो । उसले ग्राहकको माग अनुसार नेक्सन इभी आपूर्ति गर्न सकिरहेको छैन । यहि मौकामा उक्त गाडीमा कालोबजारी हुन थालेकाे भेटिएको छ ।

सिप्रदी ट्रेडिङले नेक्सन इभी लक्जरीको उपभोक्ता मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर हाम्रो बजार अनलाइनमा सोही गाडीको मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकेर बिक्रीमा राखिएको हो ।

सिप्रदी ट्रेडिङले नयाँ गाडी आयात गरेर बिक्री गर्छ । हाम्रो बजार अनलाइनमा प्रयाः उपभोक्ताले खरिद गरेर प्रयोग गरिसकेको सामान बिक्रीमा राखिन्छ । पछिल्लो समय अनलाइन मार्फत बस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताको बढ्दो ट्रेनसँग नयाँ वस्तु बिक्रेताले पनि हाम्रो बजार डटकमबाट सामान बिक्री गर्दै आएका छन् ।

सामान्यतयः उपभोक्ताले नयाँ गाडी खरिद गरेपछि तत्काल बिक्री गर्न चाहेमा खरिद मूल्यमा १० देखि २० प्रतिशत घाटा बेहोर्नुपर्ने हुन्छ । तर हाम्रो बजारमा राखिएको नेक्सन इभीको मूल्य सिप्रद्रीले तोकेको भन्दा ५१ हजार रुपैयाँ बढी छ ।

ग्राहकले चाहेको समयमा नेक्सन इभीे किन्न पाइरहेका छैनन् । तोकिएको रकम भुक्तानी गरेर गाडी बुक गरेको ५ देखि ६ महिनासम्ममा गाडी उपलब्ध गराउन सकिने सिप्रदीका एक कर्मचारीले बताए ।

हाम्रो बजार अनलाइनमा गाडी बिक्रीमा राखेका दीपक शर्माले नेक्सन इभी लक्जरी गाडी तत्काल उपलब्ध गराउन सकिने बताए । ‘मैले सिप्रद्रीबाट लिएर दिने हो । गाडी नयाँ छ । शो रुमको भन्दा मूल्य अलि बढी राखेको छु’ उनले भने ।

‘सिप्रदीले गाडी बुक गरेको ६ महिनासम्म दिन नसक्ने बताएपछि मैले पनि बजारमा १ लाख ५० हजार रुपैयाँ बढी तिरेर किनेको थिएँ । पहिलाको घाटा उठाउने गरी मैले नयाँ गाडी बेच्न लागेको हुँ’ शर्माले विकासन्युजसँग भने । आफूले बेच्ने गाडी सिप्रदीसँग नै किनेर दिने उनले बताए ।

सरकारले गाडी आयातलाई निरुत्साहित गर्ने नीति लिएपछि बजारमा गाडी बिक्रेताले स्टकमा भएको गाडी समेत मूल्य बढाएर बेच्न थालेको जानकारहरु बताउँछन् । पुराना गाडीको समेत मूल्य वृद्धि भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.