११ बुँदे घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

  २०७८ चैत ३० गते १२:१४     विकासन्युज

काठमाडौं । काठमाडौंमा दुई दिने ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाज/समुदाय निर्माणमा आ–आफ्नो क्षेत्रमा अगाडि बढ्ने सहकारी एवम् लघुवित्त संस्थाहरूले संकल्प गरेका छन् ।

यस्तो छ ११ बुँदे घोषणापत्र

१) ‘घर–घरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ’ भन्ने नारालाई मुर्त रुप दिन सम्मेलनका सहभागी सदस्यहरूले आ–आफनो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियन्ताको रुपमा कार्य गर्ने ।

२) लघुवित्त संस्थाहरूले आफ्ना ग्राहक सदस्यहरूको वृद्धि मापन गरी सम्भावित उद्यमी सदस्यहरूको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा सक्षम उद्यमी बनाउनको लागि स्थानीय सेवाप्रदायक संस्थाहरू स्थानीय निकायहरूसँग समेत समन्वय गरी उद्यमशीलता अभिवृद्धिको लागि सहजीकरण गर्ने ।

३) हालसम्म पनि लघुवित्तको पहुँचबाट टाढा रहेका तथा दुर्गम स्थानका अतिविपन्न वर्गमा पर्ने परिवारहरूको पहिचान गरी विवरण तयार गर्ने र कार्य योजना बनाइ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने । यसरी समेटिने अति विपन्न परिवारको अनुगमन प्रणालीमा समेत विकास गर्ने ।

४) लघुवित्त सेवाको आधारभुत मूल्य मान्यता तथा ग्राहक संरक्षण सिद्धान्तहरू पूर्ण पालना हुने गरी कार्य पद्धतिमा पुनरावलोकन गरी पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने ।

५) लघुवित्तका सदस्यहरूलाई ऋणको अतिभारबाट जोगाउन साख सूचना लिने दिने कार्यलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने । कर्जा सूचना केन्द्रबाट लघुवित्त संस्थाहरूबीच मात्र साख सुचना लिनेदिने पद्धतिलाई ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू र सहकारी संस्थाहरूबीचको विपन्न वर्ग कर्जा कारोबारलाई समेत साख सूचना लिने दिने पद्धति लागू गर्न सम्बन्धित निकायहरू समक्ष अनुरोध गर्ने ।

६) लघुवित्तको माध्यमबाट गरिबी न्यूनीकरण गर्न साविकको कार्य पद्धतिमा भएको कमि कमजोरी यकिन गरी कर्जाको सदुपयोग, स्वरोजगारी, वचत परिचालन, बीमा, सुरक्षण, बजारीकरणको प्रणाली क्रियाशील रहने व्यवस्था गर्ने ।

७) लघुवित्तका असल प्रयासहरू दोस्रो पुस्ता, अर्थात सदस्यका छोराछोरी जस्ता युवाहरूलाई उनीहरू अध्ययन गर्ने विद्यालय, कलेजमा गई अन्तरक्रियाको माध्यमबाट घरपरिवारको आर्थिक अवस्था, पारिवारिक बजेट, कर्जा, बचत, बीमा, रेमिटान्स, डिजिटलाइजेसन, स्वरोजगारी, उद्यमशीलता, पर्यावरण संरक्षणजस्ता विषयमा छलफल गर्ने । उनीहरूलाई ३ शून्य क्लबको माध्यमबाट पनि परिचालन गर्ने ।

८) सदस्यका छोराछोरीहरू अर्थात् युवाहरूलाई स्थानीय साधन स्रोत, सम्भावनाहरू पहिचान गर्ने र ती साधन स्रोत परिचालन गरी पर्यावरणलाई कमभन्दा कम हानी गर्ने गरी व्यवसाय सञ्चालन गर्न स्वरोजगार बन्न, रोजगारीका अवसर सृजना गर्न घरपरिवारबाट, स्थानीय निकायहरूबाट र लघुवित्त संस्थाहरूबाट अभिप्रेरित गर्ने । युवाहरूको स्वभाव नै सृजनशिल हुने कुरालाई मनन गरी नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने । लघुवित्त संस्थाहरूमार्फत त्यस्ता युवाहरूलाई समेत वित्तीय सेवा उपलब्ध गराउने ।

९. लघुवित्त संस्थाहरूले सदस्यहरूको हित एवम् सुरक्षाको लागि बीमा कम्पनीहरूसँगको समन्वयमा कर्जा बीमा, लघुबीमा जस्ता कार्यक्रमहरूमा आबद्ध गराई उनीहरूको सुरक्षणको प्रबन्ध मिलाउने । उपलब्ध सेवाहरू आवधिक रुपमा पुनरावलोकन गर्दै सदस्यहरूको आवश्यकताअनुसार सेवाको दायरा बढाउँदै लैजाने ।

१०.बिग्रँदो वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै सकेसम्म वातावरणमा कम हानी पर्ने गरी दिगो कृषि प्रणाली, पानीको मुहान संरक्षण, बोटबिरुवाको संरक्षण सहितको स्वरोजगारीयुक्त उद्यमशिल स्वावलम्बी नमुना गाउँको विकास गर्न हरेक लघुवित्त संस्थाले आफ्नो कार्यक्षेत्रको कम्तीमा एक गाउँमा पहल गर्ने ।

११. हरेक संस्थाले कम्तीमा एउटा स्थानीय माध्यमिक विद्यालयसँग सहकार्य गरी उद्यमी निर्माण केन्द्रको रूपमा विकास गर्ने । सो स्कुलमा अध्ययन गर्ने सदस्यका छोराछोरीहरूसँग संवाद गरी उद्यमी बन्न प्रोत्साहित गर्ने र कर्जा सुविधा उपलब्ध गराउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.