नेपालको अर्थतन्त्र भयावह अवस्थामा पुगेको छैन : गुणाकर भट्ट

  २०७८ चैत २४ गते १५:१५     विकासन्युज

काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् ।

‘हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन्, अर्थतन्त्रका आधार त्यति कमजोर छैनन्, हाम्रो अर्थतन्त्रका ब्राइट पक्ष पनि छन्, यी आधारले गर्दा अहिले देखिएका दबावलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ ।’ उनले भने ।

मुद्रास्फितिको चाप अन्तर्राष्ट्रिय परिस्थितिको कारणले गर्दा भएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ, त्यसको परिणामस्वरूप हामीकहाँ पनि मूल्यवृद्धि हुने प्रवृत्ति छ, उद्योगहरुको कञ्चा पदार्थको आप”र्ति हुन सकेको छैन् । विदेशी विनिमय सञ्चिती गत वर्षभन्दा उल्लेखनीय घटेको हो ।’ उनले थपे ।

उनका अनुसार गत वर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने सञ्चिती थियो । अहिले त्यो घट्दै गएको छ । अहिले साँढे ६ महिना धान्नसक्ने अवस्थामा छ । शोधान्तरण स्थिति र ब्यालेन्स अफ पेमेन्ट हेर्दा नेपालबाट बाहिर रकम बढी गएको छ ।

भट्टले गत वर्षमात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिनामात्रै हेर्दा ३७ अर्बको चामल आयात गरेको सुनाए । ‘भोलि आन्तरिक रुपमा आत्मनिर्भर हुन्छौं होला, त्यो अर्को कुरा हो, भोलि औषधिलगायत अत्यावश्यक वस्तु आयात गर्नको लागि पनि विदेशी विनिमय सञ्चिती जतन गर्नुपर्छ, अहिलेको मूल्यवृद्धिले हामीले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको छ, विदेशी विनिमय सञ्चितीमा चनाखो हुनुपर्छ ।’ उनले भने ।

उनले अहिलेको नेपालको अर्थतन्त्रको डार्क साईटमात्रै नभएको दाबी गरे ।

‘आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएका छन्, वस्तु, सेवा र कर्जाको माग बढेको छ, यो पक्षलाई पनि हामीले बिर्सिनुहुँदैन्, अर्थतन्त्र नर्मल अवस्थामा आएको हुनाले पनि आयात बढेको हो, केही वस्तुको आयात भने हामीले केही समय रोक्नुपर्छ, अर्थतन्त्रलाई सही तवरले अघि बढाउनुपर्छ ।’ उनले भने ।

उनका अनुसार यो वर्षको ८ महिनाको तथ्यांक हेर्दा साँढे १६ अर्ब रेमिटान्स आएको छ । गत वर्ष १९ अर्बमात्रै आएको छ ।

उनले श्रीलंकाजस्तो संकटको अवस्थामा नेपाल नरहेको जिकिर गरे । उनले कतिपय वैदेशिक ऋण सहयोगलगायत विदेशी विनिमय सञ्चितीका स्रोतलाई पहिल्याउन सकियो भने नेपालको अर्थतन्त्र सही बाटोमा जान सक्ने पनि विश्वास दिलाए ।

उनले सोसल सेक्युरिटीको दायरा बढाउँदै जाने हो भने भोलि समस्या आउनसक्ने पनि सतर्कता अपनाए । उनले क्रिप्टो करेन्सीको कारोबारे अध्ययन गर्न अर्थमन्त्रालयले कार्यदल बनाएको र सोहीअनुसार काम गरेको पनि सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.