राष्ट्र बैंकको निष्कर्ष : ब्याजदर बढाऔं, आयातमा थप कडाइ गरौं

  २०७८ चैत २३ गते ११:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्नु पर्ने निष्कर्ष निकालेको छ । नेपालको बाह्य क्षेत्रको विद्यमान अवस्था, समस्या/चुनौती तथा सुधारका उपायको विषयमा राष्ट्र बैंकले गरेको एक अध्ययनमले आयातमा थप कडाइ गर्नु पर्ने निष्कर्ष निकालेको हो । आयातमा कडाईसँगै अध्ययन कार्यदलले बैंकदरमा पनि कडाइ गर्नु पर्ने निष्कर्ष निकालेको हो ।

राष्ट्र बैंकको अध्ययन कार्यदलले घरपरिवारको आम्दानी बढेको तथा न्यून दरमा सहज कर्जा उपलब्ध भएको अवस्थामा आयात थप विस्तार हुने भएकोले यसतर्फको कर्जालाई निरुत्साहित गर्न प्राथमिकताप्राप्त क्षेत्रको कर्जा प्रभावित नहुने किसिमले नीतिगत दरहरू (जस्तैः बैंकदर, सीआरआर, एसएलआर आदि) बढाई मौद्रिक व्यवस्थापनलाई कसिलो बनाउनु पर्ने निष्कर्ष निकालेको हो ।

अध्ययनले नेपालको बाह्य क्षेत्रको अवस्था केही कमजोर हुँदै गएकोले सरकार तथा केन्द्रीय बैंकलगायत सरोकारवालाहरूको ध्यान यसतर्फ केन्द्रीत भएको, कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्र विस्तारै पुनरुत्थानको चरणमा प्रवेश गरेपछि समष्टिगत मागमा चाप पर्न गई आयात उच्च दरले बढेको तर विदेशी मुद्रा आर्जनका स्रोतहरू कमजोर बन्दै गएका कारण समग्र बाह्य क्षेत्रमा दबाब परेको उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को शुरुदेखि नै कमजोर रहेको शोधनान्तर घाटा निरन्तर बढ्दै जाँदा विदेशी विनिमय सञ्चितिमा चाप पर्न गई यसबाट बैकिङ्ग क्षेत्रको तरलता, लगानीयोग्य साधन, अल्पकालीन ब्याजदरलगायत अर्थतन्त्रका अन्य क्षेत्र समेत कुनै न कुनै रुपमा प्रभावित भएका छन् । तत्कालको लागि विदेशी विनिमय सञ्चितिको तहलाई कम हुन नदिन आयात नियन्त्रण पहिलो उपाय हो भने अनौपचारिक व्यापार नियन्त्रण दोस्रो महत्वपुर्ण उपाय र विप्रेषण आप्रवाहमा वृद्धि गर्ने उपाय खोजी प्रभावकारी कार्यान्वयन गर्नु तेस्रो उपाय भएको अध्ययनमा उल्लेख छ ।

यस्तै, स्वदेशी उत्पादनमा अभिवृद्धि गरी आयात प्रतिस्थापन गर्ने कार्य केहि समय पछि मात्र गर्न सकिने विषय भएकोले यी विषयहरूको कार्यान्वयन गर्नुका साथै विदेशी सहयोग र दीर्घकालिन अवधिको वैदेशिक ऋण तथा लगानीलाई आर्कषण गर्ने उपायको सँगसँगै नेपाली वस्तु तथा सेवाको उत्पादन र उपभोगलाई प्रोत्साहन गर्ने र आयातलाई विभिन्न माध्यमवाट निरुत्साहित गरी निर्यात एवं पर्यटन आयलाई बढाउने रणनीति अनुसार तत्कालै कार्य गर्नुपर्ने अध्ययन प्रतिवेदनको निश्कर्ष छ ।

अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारी तथा विप्रेषण आप्रवाहको अवस्थालगायत हाल बाह्य क्षेत्रमा देखिएका समस्याबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेका प्रभावको विश्लेषण गरी समस्या समाधानका लागि वस्तुगत सुझावहरू पेश गरिएको छ ।

हालको समस्या सृजना हुनुमा कोडिड-१९ महामारीका साथै विगतदेखि सम्बोधन हुन नसकेका समस्याहरू जिम्मेवार देखिएकोले हालको अवस्था थप जटिल नहोस् भन्नाका लागि केही नियन्त्रणात्मक उपायहरू उपयोगी भएपनि अन्ततः स्वदेशमै वस्तु तथा सेवाको उत्पादन विस्तार गरी बाह्य क्षेत्रलगायत मुलुकको समग्र अर्थतन्त्रलाई सुदृढ बनाउँदै जानुपर्ने विषयमा केन्द्रीत रही सुझावहरू अध्ययनमा उल्लेख छन् ।

2 comments on "राष्ट्र बैंकको निष्कर्ष : ब्याजदर बढाऔं, आयातमा थप कडाइ गरौं"

  • c.k.shahi says:

    FIXED DEPOSIT 15 PERCENT N LOAN 18 PERCENT SUGGESTION ONLY

  • तोरी says:

    बल्ल घैटोमा घाम लाग्यो ? राष्ट्र बैंकले पहिला कार्टेलिङ्ग गरेर ब्याज नियन्त्रण गरेको हबिगत आज राज्यले भोग्दै छ। अब राष्ट्र बैंकले जिम्मेवारी लिने कि नलिने ? भबिष्यमा पनि फेरी सिमित व्यक्तिको फाइदाको निम्ति
    देशलाई नै भडखालोमा हाल्नेगरि राष्ट्र बैंकका पदाधिकारीहरुले कार्टेलिङ्गलाई नियमित गर्ने नै त होलान नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.