१६ बीमा कम्पनीले पालना गरेनन् बीमा ऐन, लाइसेन्स नवीकरण नगर्ने मनस्थितिमा समिति

  २०७८ चैत २३ गते १०:१६     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति विभिन्न १६ वटा कम्पनीहरुको लाइसेन्स नवीकरण नगर्ने मनस्थिति बनाएको छ । समितिले हाल सञ्चालनमा आएका ४१ कम्पनीमध्ये १६ वटाले बीमा ऐनमा भएको व्यवस्था पालना नगरेको भन्दै लाइसेन्स नवीकरणमा कडाई गर्ने संकेत गरेको हो ।

समितिले चैत मसान्तभित्र वार्षिक साधारणसभा नगरेका कम्पनीहरुलाई थप कडाई गर्न लागेको हो । सो अवधिसम्म सभा नगर्ने कम्पनीको लाइसेन्स नवीकरणमा थप कडाई गर्न लागिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । बीमा ऐनमा चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा गरिसक्नु पर्ने भन्ने व्यवस्था छ ।

‘हामीले पहिलेदेखि नै चैत मसान्तभित्रमा वार्षिक साधारणसभा नगर्ने कम्पनीको लाइसेन्स नवीकरण गर्दैनौं भन्दै कम्पनीहरुलाई सूचित गराइरहेका थियौं, सूचित गर्दा गर्दै पनि नटर्ने कम्पनीहरुको लाइसेन्स नवीकरण हुँदैन,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने ।

यससँगै चैतभित्र सभा नगर्ने कम्पनीको सूचीमा जीवन र निर्जीवन गरी १६ वटा कम्पनी रहेका छन् । जसमध्ये निर्जीवन बीमा क्षेत्रका सबैभन्दा बढी छन् । निर्जीवन बीमाको १० वटा र जीवन बीमाको ६ वटा कम्पनीले २०७८ चैत मसान्त भित्रमा सभा गर्न सकेका छैनन् ।

निर्जीवन बीमातर्फका नेपाल इन्स्योरेन्स, यूनाईटेड, एभरेष्ट, सगरमाथा, शिखर, लुम्बिनी जनरल, राष्ट्रिय बीमा कम्पनी, जनरल इन्स्योरेन्स, प्रुडेन्सियल र आईमई जनरलले गत आर्थिक वर्ष २०७७/७८ को सभा गरेका छैनन् ।

यीमध्ये राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि यता कुनै पनि वर्षको सभा गर्न सकेको छैन । कम्पनीले २०७५ असोज १९ गते आर्थिक वर्ष २०६३/६४, २०६४/६५, २०६५/६६, २०६६/६७, २०६७/६८ गरी ५ वर्षको सभा एकैदिन गरेको थियो ।

जीवन बीमा व्यवसाय गर्दै आएका आईएमई लाइफ इन्स्योरेन्स, यूनियन लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा लाइफ, राष्ट्रिय बीमा संस्थान, सन नेपाल लाइफले पनि चालु आवमा सभा गर्न सकेका छैनन् । उनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ देखिको साधारण सभा हालसम्म बोलाएका छैनन् ।

यससँगै समयमै सभा नगर्ने कम्पनीले कम्पनी रजिष्ट्रार कार्यालयमा जरिवाना तिर्नुपर्ने हुन्छ । तर, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले भने कुनै पनि जरिवाना तिर्नु पर्दैन ।

नेपालमा विदेशी कम्पनीको शाखा कार्यालयको हैसियतमा सञ्चालन हुँदै आएका नेशनल इन्स्योरेन्स, मेट लाइफ र दि ओरियन्टलले भने साधारण सभा गर्न जरुरी छैन ।

चैतभित्रै सभा गर्ने तयारीमा रहेका कम्पनी

सञ्चालित कम्पनीहरुमध्ये अब २ वटा कम्पनीहरु चैतभित्रै सभा गर्ने तयारीमा छन् । सिद्धार्थ र प्रभु इन्स्योरेन्सले एकैदिन अर्थात चैत ३० गते नै सभा आव्हान गरेका छन् । सिद्धार्थले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, प्रभुको साधारण सभाले ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गर्दै छ ।

४ कम्पनीले बैशाखमा बोलाए

चैतभित्र सभा गर्न नसकेका कम्पनीमध्ये ४ वटा कम्पनीले आगामी बैशाखभित्र गर्ने गरी मिति तय गरिसकेका छन् । जसमा २ निर्जीवन बीमा कम्पनी (प्रुडेन्सियल र आईमई जनरल) र २ जीवन बीमा कम्पनी (सन नेपाल र आईएमई लाइफ इन्स्योरेन्स) छ ।

जसमध्ये सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी बैशाख ९ गते वार्षिक साधारणसभा डाकेकोे छ । इन्स्योरेन्सले सो दिन अपराह्न्न ४ बजे काठमाडौंको ताहाचलस्थित हायात प्लेसमा आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभाले कम्पनीको पुँजी वृद्धि लगायतको नियमावली संशोधन गर्ने लगायत सञ्चालक समितिमा ४ जनालाई चयन गर्ने प्रस्तावलाई पारित गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले बैशाख ११ गते बिहान साढे १२ बजे पर्साको दियालो लर्डस प्लाजामा २०औं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सभामा ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ४० लाख ८४ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव लैजाँदै छ । सभामा जान कम्पनीले चैत २४ गते बुक क्लोजको मिति समेत तोकिसकेको छ ।

आईएमई जनरल इन्स्योरेन्सले अधिकृत पुँजी साढे २ अर्ब रुपैयाँ पुर्याउने प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले बैशाख ९ गते बिहान १० बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा आफ्नो २६औं वार्षिक साधारणसभा डाकेको हो । सभाले पुँजी वृद्धिसँगै आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ४२ लाख ६४ हजार ७९० रुपैयाँ बराबरको नगद लाभांश प्रस्तावलाई पारित गर्दै छ ।

त्यसैगरी, आईएमई लाइफ इन्स्योरेन्स पनि २०७९ बैशाख १४ गते चौंथो वार्षिक साधारण सभामा जाँदै छ । उक्त सभाले कम्पनीको आईपीओ जारी गर्ने र आफु अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा एक्विजिशनमा जाने सम्बन्धी विशेष प्रस्तावलाई अख्तियारी दिँदै छ ।

हालसम्म कुन कुनले गरे सभा ?

सञ्चालित बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनीले चालु आवभित्रमा सभा गरिभ्याई सकेका छन् । निर्जीवन कम्पनीले आर्थिक वर्ष २०७७/७८ को र जीवन कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा गरिसकेका हुन् ।

जसमध्ये निर्जीवनतर्फ एनएलजी, नेको, हिमालयन जनरल, अजोड, प्रिमियर र सानिमा जनरल इन्स्योरेन्सले भने चैतभित्रै गत आर्थिक वर्षको सभा सम्पन्न गरिसकेका छन् । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सले पनि गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभा गरिसकेको छ । नेपाल पुनर्बीमा कम्पनीले पनि गत पुसमा अघिल्लो आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ ।

जीवन बीमातर्फ एशियन, सूर्या, गुराँस, प्राइम, नेशनल लाइफ, ज्योति लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सिटिजन लाइफ, महालक्ष्मी लाइफ, नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशनले सभा गरिसकेका छन् । उनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सभा चालु आवको चैतभित्रमा सम्पन्न गरेका हुन् ।

कम्पनी ऐन अनुसार कम्पनीहरुले पुस मसान्तभित्रमा साधारणसभा गरिसक्नु पर्ने हुन्छ । तर बीमा कम्पनीहरुले भने चैत मसान्तसम्ममा पनि सभा गर्न सकेका छैनन् । नेपालमा एक्चुरी नभएकोले विदेशमा गर्नुपर्ने भएकाले कम्पनीहरुलाई समयमै लेखापरीक्षण तथा साधारणसभा गर्न सकेका छैनन् । र, समयमा सभा गर्न नसेकेको कारण उनीहरु कम्पनी रजिष्ट्रार कार्यालयमा जरिवना तिर्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.