आजदेखि पोखरा–जनकपुर सिधा उडान सुरु

  २०७८ चैत २१ गते १९:४५     विकासन्युज

 

काठमाडौं । पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आजदेखि सुरु भएको छ । बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो । पोखरा–जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए ।

पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए ।

पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली आज जनकपुर गएको छ । पचास मिनेटको हवाई यात्रा हुने पोखरा–जनकपुरको उडानमा प्रतियात्रु सबैभन्दा बढी नौ हजार ३६० र सबैभन्दा कम चार हजार १०० भाडा निर्धारण गरिएको छ । उडानसँगै दुई सहरबीचको प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

बुद्ध एयरले केही दिन अघिमात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.