सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ

  २०७८ चैत २० गते १५:२७     विकासन्युज

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा नेपाल विद्युत प्राधिकरणले अघोषित १४ घण्टा लोडसेडिङ गरेको भन्दै उद्योगी व्यवसायीले उद्योग चलाउन समस्या भएको बताएका छन्।

अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन्। प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए तापनि एक सातादेखि बेलुका ६ बजेदेखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन्।

उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिई अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन् । प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो रहेको छ।

सरकार तथा विद्युत् प्राधिकरण आफैंले ग्यासको खपत कम गरौं खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौँ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताए।

उनले सरकार र प्राधिकरण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताए। सरकारले उद्योगहरुमा तत्काल विद्युत उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाई छ। अग्रवालले प्राधिकरणले तत्काल रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गरे।

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले उद्योगमा लामो समयदेखि विद्युत् आपूर्तिमा पटक–पटक न्यून पावर ट्रिपिङ तथा विद्युतको भोल्टेजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै गुनासो गरे।

उनले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्यून पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको उल्लेख गर । व्यवस्थापक पोखरेलले ४ हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनु पर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताए । उनले उद्योगमा बस्ने कर्मचारीको लागि छुट्टै लाइनबाट विद्युत् दिएकोमा त्यो विद्युत‍्समेत कटौती गरिएको दाबी गरे।

उद्योगमा विगतमा जडान गरिएका जेनेरेटर तथा डिजेलको व्यवस्थापन लोडसेडिङ अन्त्यपछि त्यतिकै भएकाले तत्काल सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा रहेको जानकारी दिए।

त्यस्तै, विराटनगरमा सञ्चालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको ब्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरूमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताएका छन् ।

उनले १४ घण्टा उद्योगहरूले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने बताए । उद्योग १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै सरकारले तत्काल उद्योगलाई विद्युत् सहज रुपमा आपूर्तिको व्यवस्था गर्नुपर्ने सञ्चालक अग्रवालको भनाइ छ। उनले विद्युत् प्राधिकरण आफैं उद्योगीलाई ठूला-ठूला उद्योग ल्याउनुस् जति पनि विद्युत दिन तयार छौँ भन्ने तर प्राधिकरण आफैँ १२ देखि १४ घण्टा लोडसेडिङ गर्ने कुरा व्यवहारिक नभएको बताए।

करिब साढे ३०० मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगहरूमा रातिमा बिजुली काट्न थालेको बताएको छ। पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीहरुले प्राधिकरणको चर्को आलोचना गरिरहेका छन्।

विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरूको गुनासो छ।

प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको थियो। तर अघोषित रूपमा बिजुली कटौती गरिरहेको उद्योगी व्यवसायीहरूले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.