म्याग्दीमा विकास खर्च न्यून

  २०७८ चैत १८ गते १६:३८     विकासन्युज

म्याग्दी । चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा म्याग्दीमा विकासतर्फको बजेट खर्च निराशाजनक छ ।

जिल्लामा रहेका विकास योजनामा सङ्घ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च न्यून देखिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार जिल्लामा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म भएको पुँजीगत खर्चमध्ये सङ्घतर्फ १२ दशमलब ६७ प्रतिशत र प्रदेशतर्फ २८ दशमलब २३ प्रतिशत खर्च भएको छ ।

सो अवधिमा सङ्घतर्फ कुल ५३ करोड १६ लाख ९२ हजार बजेटमध्ये ६ करोड ७३ लाख ७० हजार (१२ दशमलब ६७) प्रतिशत खर्च भएको छ । विकासमा प्रदेशतर्फ रहेको कुल ६२ करोड ६८ लाख ५० हजार बजेटमध्ये १७ करोड ७० लाख ६ हजार २७५ बजेट (२८ दशमलब २३) प्रतिशत खर्च भएको कोष नियन्त्रक युक्तप्रसाद शर्माले जानकारी दिए ।

सङ्घतर्फ रहेका कुल बजेटमध्ये करिब ५० करोड बजेट सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र अन्य योजनामा खर्च भइरहेको तथा त्यसको भुक्तानी नहुँदा खर्च न्यून देखिएको जनाइएको छ ।

आर्थिक वर्षको आठ महिनामा सङ्घ तथा प्रदेशको ४० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने मान्यता रहेको छ । तर विकासतर्फको बजेट कार्यान्वयनमा साउन भदौ बर्खा, असोज कात्तिक चाडपर्व र मङ्सिर पुस लगायतको महिना जाडो र कोभिडका कारण सोचे जस्तो रुपमा विकास खर्च हुन नसकेको कोष नियन्त्रक शर्माले बताए ।

“विकास योजनाको काम भइरहेको छ, अधिकांश योजनाको बजेट भुक्तानीको चरणमा छ”, उनले भने । त्यस्तै प्रदेशतर्फको विकास बजेटमध्ये पूर्वाधार विकास कार्यालयको ३८ करोड ४२ लाख ३० हजारमध्ये १२ करोड १९ लाख ४१ हजार खर्च भएको छ । उक्त कार्यालयको उपलब्धि ३२ प्रतिशत देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.