‘बिग मर्जर हामीले गर्‍यौं, पुँजी पनि हाम्रै ठूलो छ, नम्बर वान ग्लोबल आईएमई नै हो’ (भिडियोसहित)

  २०७८ चैत १३ गते १३:५०     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको जुनसुकै नीति कार्यान्वयनमा पनि अगाडि देखिएको बताएका छन् । आइतबार बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन कार्यक्रममा उनले सरकार तथा राष्ट्र बैंकले ल्याएको जुनसुकै नीति तथा निर्देशन पालना गर्ने पहिलो बैंक ग्लोबल आईएमई रहेको बताएका हुन् ।

‘राष्ट्र बैंकले ल्याएका नीति निर्देशन पालनामा हामी अगाडि नै छौं, राष्ट्र बैंकले बैंकहरुको बिग मर्जर नीति पनि हामीले नै सुरुमा सफल गर्‍याैं, पुँजी पनि ग्लोबल आईएमई बैंकको नै ठूलो छ, दुर्गम ठाउँमा बैंकिङ सेवा दिनेमा पनि हामी अगाडि नै छौं,’ कार्यक्रममा अध्यक्ष ढकालले भने ।

यस्तै, उनले ग्लोबल आईएमई बैंक विदेशमा शाखा खोल्ने पहिलो बैंक बन्ने बताएका छन् । उनले कोरियामा शाखा खोल्नका लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेकाे पनि जानकारी दिए ।

उनले रेमिट्यान्स भित्र्याउन अर्थात विदेशी डलर स्वदेशा ल्याउनका लागि बैंकले पहल गरिरहेको बताए । तरलताको समस्यालाई समाधान गर्न यसले टेवा पुग्ने उनको भनाइ छ ।

यस्तै, उनले आगामी दिनहरुमा विभिन्न देशहरुमा शाखा खोलेर नयाँ–नयाँ काम गर्ने, कार्यान्वयनमा टेवा पुर्याउने विषयहरुमा ग्लोबल आईएमई बैंकको प्राथमिकता हुने बताए ।

भित्तेपात्रो विमोचन कार्यक्रममा उनले ग्लोबल आईएमई बैंकले हरेक वर्ष कला संस्कृतिलाई प्रवर्द्दन गर्ने उद्धेश्यका साथ काम गरिरहेको पनि बताए । ग्लोबल आईएमई बैंक स्थापना कालदेखि नै मोफसल तथा दुर्गम क्षेत्रमा पुर्‍याउने उद्देश्यका साथ काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि विशेष प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले बैंकले कला संस्कृतिको प्रवद्र्धनमा पनि ध्यान दिएको बताए । राष्ट्रिय पहिचान दिने मिथिला चित्रमा बैंकले प्रवर्द्धन गर्न खोजेको उनको भनाई छ ।

बैंकले सार्वजनिक गरेको भित्तेपात्रोको मुख्य विषयवस्तुका रुपमा मिथिला चित्रकलालाई प्रस्तुत गरिएको छ । पात्रोमा कलाकार अमितकुमार शाह र गिताकुमारी ठाकुरका मिथिला चित्र राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.