बिएण्डसीद्वारा विपन्नलाई निःशुल्क बीमा

  २०७८ चैत १० गते ११:४४     विकासन्युज

झापा । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ । आफ्नो सामाजिक उत्तरदायित्तत्वअन्तर्गत अस्पतालले पछिल्लो समय निःशुल्क स्वास्थ्य बीमा, विपन्न समुदायमा खानेपानी तथा खेतीपातिका लागि कल वितरण तथा विद्यालय भवन निर्माणमा सहयोगी हात अगाडि बढाइराखेको छ ।

यसैक्रममा अस्पतालले गत सोमबार बाह्रदशी गाउँपालिकाकाको वडा नम्बर १ देखि ७ सम्मका एक हजार ५०० भन्दा बढी विपन्न परिवारको निःशुल्क बीमा गरिदिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रममा आर्थिक अभावकै कारण आवद्ध हुन नसकेका ती गरिब परिवारलाई कार्यक्रममा आबद्ध हुन लाग्ने शुल्क तीन हजार ५०० अस्पतालले सहयोग गरिदिएको हो । यसबाट ती नागरिकले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट दुई लाखसम्मको सेवा निःशुल्क पाउने जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै भने, ‘स्वास्थ्य उपचारको अभावका अकालमा कोहीले मृत्युवरण गर्नुपर्दैन । स्वास्थ्य सेवाको सहज पहुँचका लागि म सहयोग गर्न सधैं तयार छु । बीमा भएपछि दुई लाखसम्मको सेवा बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट उपलब्ध हुनेछ । झापाको कर्णाली भनेर चिनिएको बाह्रदशीका नागरिकका लागि आफूले सेवा गर्न पाएकोमा म खुसी छु ।’

प्रदेशसभा सदस्य वसन्त बानियाँले संविधान प्रदत्त स्वास्थ्यका अधिकार कार्यान्वयन गर्न राज्यले नसकिरहेका अवस्थामा समाजसेवी प्रसाईंको मानवीय सेवा उदाहरणीय रहेको बताए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा वीरेन्द्र यादवले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका साथसाथै महिलाका लागि निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’कार्यक्रम जारी रहेको जानकारी दिए । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा विपन्न नागरिकको स्वास्थ्य, शैक्षिक तथा आर्थिक जीवनस्तर माथि उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि १० करोड खर्च गर्ने जनाएको छ ।

कार्यकारी निर्देशक प्रसाईंले हालै कचनकवल गाउँपालिका-४ केचनामा खानेपानी तथा खेतीपातीका लागि आवश्यक २०० कल वितरण गरेको थियो । यसबाट ती गाउँका १०० अतिविपन्न मुस्लिम समुदायलाई ठूलो सहयोग मिलेको जनाइएको छ ।

जिल्लाकै हल्दिबारी र कचनकलवका अतिविपन्न तीन हजार परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने अस्पताले तयारी गर्दैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.