लगानी बोर्ड र युएनडीपीबीच समझदारी : साझा हितका क्षेत्रमा सहकार्य गर्ने

  २०७८ चैत ८ गते १७:१७     विकासन्युज

काठमाडौं । लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच साझा हितका क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडीपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरे ।

संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने कुरा समझदारीपत्रमा उल्लेख छ ।

परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्याङ्कन मापदण्ड, परियोजना विकास सम्झौता र परियोजना लगानी सम्झौता निर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यको लागि सहयोग स्थापित गर्ने कुरा समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

लगानी बोर्डको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन स्टयाण्डर्ड अपरेटिङ प्रोसिडियोर विकास गर्न सहकार्य गर्ने लगायतका अन्य सहकार्य गर्न सकिने क्षेत्रमा संयुक्त रुपमा अघि बढ्ने समेत समझदारीपत्रमा उल्लेख छ ।

लगानी बोर्डको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यस समझदारीले नेपालमा लगानी प्रवर्द्धनमा आशाहरु सिर्जना गर्ने बताए ।

साथै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि लाबेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले विश्वका १७० भन्दा बढी देशमा सहकार्य गरिरहेको जानकारी गराए । त्यस्तै नेपाल विकासशील देशमा स्तरोन्नति हुँदै गरेको अवस्थामा लगानी बोर्ड नेपालसँगको सहकार्यले तीन तहकै सरकारका क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.