कर असुली प्रभावकारी बनाउन रसुवाका ४० कर्मचारीलाई अभिमुखीकरण

  २०७८ चैत ८ गते १३:५५     विकासन्युज

रसुवा । लेखा प्रणालीको व्यवस्थापन एवं कर असुली कार्यलाई प्रभावकारी बनाउन रसुवा जिल्लाका राष्ट्रसेवकलाई प्रशिक्षण दिइएको छ ।

कर दस्तुरबापतको प्राप्त राजस्वका विवरण तदारुकताका साथ अनलाइन प्रविधिमा रुपान्तरण गराउने र सरकारी जिन्सी सामग्रीको अभिलेख चुस्त पार्ने उद्देश्यले यहाँका लेखापाल तथा स्टोर किपरलाई प्रशिक्षण दिइएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेलका अनुसार सार्वजनिक वित्त व्यवस्थापनअन्तर्गत सञ्चालनमा ल्याइएका, सिग्यास, आरएम, आइएस, आरएसका विषयमा भएका सुधार तथा आगामी दिनमा गर्नुपर्ने कार्यको विषयमा यथेष्ट ज्ञान दिई असुल भएका कर दस्तुरको विवरण छिटोछरितो राजस्व विभागद्वारा सञ्चालित आरएएस प्रणालीमा पठाउने प्रविधिका विषयमा प्रशिक्षण दिइएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रसुवाको आयोजनामा सञ्चालित प्रशिक्षण कार्यक्रममा रसुवाभित्रका सङ्घीय, प्रदेश,स्थानीय–तह, सुरक्षा निकायमा कार्यरत आर्थिक प्रशासन तथा जिन्सीका कर्मचारीलाई प्रमुख कोष नियन्त्रक पौडेल एवं आन्तरिक राजस्व कार्यालय बालाजुका कर अधिकृत विजय लामिछाने र प्राविधिक अधिकृत सुरेश बाँस्तोलाले प्रशिक्षण दिएको थियो ।

कर्मचारीको क्षमता अभिवृद्धि गर्न जिल्लास्तरमै पहिलोपटक सञ्चालन गरिएको प्रशिक्षणले सरकारी खर्च तथा आम्दानी रकम एवं मालसामानको अभिलेख थप व्यवस्थित पार्न स्थानीय–तहका वडामा समेत सहज भएको कार्यक्रममा सहभागी कालिका गाउँपालिका–४ का सचिव माधवप्रसाद देवकोटाले जानकारी दिए । प्रशिक्षणमा लेखा तथा जिन्सीका ४० कर्मचारी सहभागी भएको प्रमुख कोष नियन्त्रक पौडेलले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.