रुस-युक्रेन युद्धको असर नेपाली पर्यटनमा, आरोहणको अनुमति दिएबापत आउने राजश्व गुम्ने चिन्ता

  २०७८ चैत ८ गते १३:१४     विकासन्युज

काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । बसन्त ऋतुको लागि हिमाल आरोहणको सिजन सुरु भए पनि आरोहणका लागि आरोहीहरुमा उत्साह नदेखिएको पाइएको छ ।

विगतका वर्षहरुमा यो समयमा पर्यटन विभागका अधिकारीहरुलाई आरोहण अनुमति दिन भ्याइनभ्याइ हुने गर्थ्यो । सिजन सुरु भएपछि एकछिन समेत फुर्सद नपाउने विभागका कर्मचारीहरु अहिले फुसर्दिला बनेका छन् ।

यो सिजनको आरोहणका लागि आरोहीमा खासै उत्साह नदेखिएको विभागका सूचना अधिकारी मोहनबहादुर जिसी बताउँछन् ।

‘गत वर्षदेखिएको उत्साह अहिले पनि देखिने हामीले अनुमान गरेका थियौँ, तर रुस युक्रेन युद्धका कारण अधिकाशं आरोहीले आरोहण रद्द गरेका छन्’, उनले भने, ‘अहिलेको अवस्था हेर्दा गत वर्षभन्दा कम आरोहण अनुमति जारी हुने हामीले अनुमान गरेका छौँ ।’

कोरोना महामारीकैबीच सन् २०२१ को वसन्त ऋतुमा विश्वकै अग्लो चुचुरो सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै आरोहीले आरोहण अनुमति लिएका थिए ।

सन् २०२० को आरोहण सुरु हुने समयमा कोभिड–१९का कारण आरोहण नै रोकिएपछि सन् २०२१ को सिजनमा हालसम्मकै धेरै आरोहीले आरोहणको अनुमति लिएको जिसी बताउँछन् । गत वर्ष विभागबाट १६ हिमाल आरोहण गर्न ७४ समूहका ६५९ आरोहीले आरोहण अनुमति लिएका थिए ।

पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार विभिन्न हिमाल आरोहणका लागि छिट्ट फुटट् आरोहीहरु विभागमा आउन थालेका छन् ।

‘आरोहणकोे सिजन सुरु भएको छ, रुस–युक्रेन युद्धको असर आरोहणमा देखिने हाम्रो अनुमान छ’, उनले भने, ‘दुई देशबीचको युद्धका कारण युरोपेली मुलुकबाट आउने आरोहीले प्रि बुकिङ रद्द गर्न थालेको हामीलाई जानकारी आएको छ ।’

ट्रेकिङ कम्पनीहरुले यस वर्ष सगरमाथा आरोहणका लागि प्रिबुकिङ गरेका अधिकाशं आरोहीले बुकिङ रद्द गर्न थालेको जनाएका छन् ।

विभागको तथ्यांक अनुसार सन् २०१९ मा रुसका ५० भन्दा बढी आरोहीले विभिन्न हिमाल आरोहणको अनुमति लिएका थिए । आरोहण अनुमति लिएकामध्ये ३१ आरोहीले आरोहण सफल गरेका थिए ।

यस्तै, सन् २०१९ मा नै युक्रेनका २० आरोहीले आरोहण अनुमति लिएकामा ७ आरोहीले सफल आरोहण गरेका थिए ।

यस्तै नेपाल पर्वतारोहण संघबाट सन् २०१९ मा रुसका २८३ र युक्रेनका १०३ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

सन् २०२१ को आरोहणको तथ्यांक विभागले सार्वजनिक गरेको छैन् । विभागका अधिकारीहरु सन् २०१९ को तुलनामा २०२१ मा रुस र युक्रेनबाट धेरै आरोहीले आरोहण अनुमति लिएका थिए ।

कति लाग्छ शुल्क ?

सगरमाथाको आरोहण गर्न विदेशी नागरिकले बसन्त ऋतुको समयमा ११ हजार डलर नेपाल सरकारलाई शुल्क बुझाउनु पर्नेहुन्छ । नेपालीहरूले भने ७५ हजार रुपैयाँ तिनुपर्नेछ हुन्छ । यस्तै, शरद ऋतुमा विदेशी नागरिकले ५ हजार ५ डलर र नेपालीहरूले ३७ हजार ५०० रुपैयाँ, जाडो र गर्मी महिनामा विदेशीहरूले २ हजार ७५० डलर र नेपालीहरूले १८ हजार २५० रुपैयाँ तिनुपर्नेछ हुन्छ ।

८ हजार मिटर भन्दा अग्लो हिमाल आरोहण गर्न विदेशी नागरिकले नेपाल सरकारलाई बसन्त ऋतुको समयमा १ हजार ८०० डलर शुल्क बुझाउनु पर्ने हुन्छ भने नेपालीहरूले १० हजार रुपैयाँ बुझाउनु पर्नेहुन्छ । शरद ऋतुको समयमा विदेशीलाई ९०० डलर शुल्क लाग्ने छ भने नेपालीलाई ५ हजार रुपैयाँ लाग्नेछ । जाडो र गर्मी मौसममा विदेशी आरोहीहरूले ४५० डलर शुल्क तिनुपर्ने हुन्छ भने नेपाली आरोहीहरूले २ हजार ५०० रुपैयाँ तिनु पर्ने हुन्छ ।

यस्तै ७ हजार ५०० मिटरदेखि ८ हजार मिटर मुनीका हिमालको आरोहण गर्न बसन्त ऋतुको समयमा विदेशीले ६०० डलर शुल्क तथा नेपालीले ८ हजार रुपैयाँ तिनु पर्ने हुन्छ । शरद ऋतुको समयमा विदेशीले ३०० डलर र जाडो साथै गर्मीको समयमा १५० डलर तिनु पर्ने हुन्छ भने नेपालीले ४ हजार र २ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

७ हजार मिटर अग्लोदेखि ७ हजार ५०० मिटर अग्लो हिमालको आरोहण गर्न बसन्त ऋतुको समयमा विदेशी आरोहीले ५०० डलर, शरद ऋतुमा २५० डलर र जाडो साथै गर्मी मौसम १२५ डलर शुल्क तिनु पर्ने हुन्छ भने नेपालीले क्रमशः ६ हजार ३ हजार १ हजार ५०० रुपैयाँ शुल्क तिनु पर्ने विभाको तथ्याङ्कले देखाएको छ ।

६ हजार ५०० मिटर अग्लोदेखि ७ हजार मिटर मुनीका हिमालको आरोहण गर्न विदेशी आरोहीहरूले बसन्त ऋतुको समयमा, शरद ऋतुको समय र जाडो साथै गर्मीको समयमा क्रमशः ४००, २०० र १०० डलर शुल्क तिनु पर्ने हुन्छ भने नेपाली सोही हिमालको आरोहण गर्न क्रमशः ५ हजार २ हजार ५०० र १ हजार २५० रुपैयाँ राजश्व भुक्तानी गर्नुपर्ने हुन्छ ।

सरकारले २०७६ बाट बाह्रै महिना हिमाल आरोहणका लागि खुला गरेको थियो । तर कोरोना महामारीका कारण बन्द भएको हिमाल आरोहण विस्तारै सुरु हुन थालेको छ । अब पर्यटक कम हुँदा राजश्वमा पनि कमि आउने विभागकाे प्रक्ष्येपण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.