२ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, साढे ११ खर्बको व्यापार घाटा

  २०७८ चैत ७ गते १७:१२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा (साउनदेखि फागुनसम्म) २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आठ महिनाको अवधिमा एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थको आयात भएको हो ।

तथ्यांक अनुसार ८७ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ बराबरको डिजेल, ४० अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको एलपी ग्यास र ३९ अर्ब ८५ करोड ६९ लाख रुपैयाँ बराबरको पेट्रोलको आयात भएको हो ।

यस्तै, आयातको दोस्रो नम्बरमा सोयाबिन तेलको आयात भएको छ । आठ महिनामा ४३ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बराबरको तेलका लागि आवश्यक कच्चा पदार्थको आयात भएको हो ।

३० अर्ब ९९ करोड बढीको पाम तेल, २८ अर्ब १७ करोड बढीको सुन, ३३ अर्ब ७६ करोड बढीको मोबाइल फोन आयात भएको छ ।

आयातको दोस्रो नम्बरमा रहेको सोयाबिन तेलको निर्यात पहिलो नम्बरमा रहेको छ । आठ महिनाको अवधिमा नेपालले १ खर्ब ७१ अर्ब ६६ करोड १८ लाख रुपैयाँ बढीको सोयाबिन तेलको निर्यात गरेको छ ।

नेपालका तेल उद्योगीले विभिन्न देशबाट तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थका आयात गरेर नेपालमा प्रशोधन गरी पुनः तेस्रो देशमा निर्यात गर्ने गरेका छन् ।

८२ प्रतिशत निर्यात

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो आठ महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलकमा हुने निर्यात ८२.९० प्रतिशतले बढेको छ । तथ्यांक अनुसार ८ महिनाको १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो ।

गत वर्षको सोही अवधिमा नेपालले ८० अर्ब ७७ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालुु आवमा निर्यातमा उल्लेख्य सुधार भएको छ ।

तथ्यांक अनुसार आठ महिनाको अवधिमा निर्यातसँगै आयातमा समेत बृद्धि भएको छ । आठ महिनाको अवधिमा नेपालले भारत लगायतका देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड बढीको विदेशी वस्तुको आयात गरेको छ ।

गत आर्थिक वर्ष ९ खर्ब ४३ अर्ब ९८ करोड बराबरको आयात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा ३ खर्ब ६४ अर्ब बढीकोे आयात भएको छ ।

साढे ११ खर्बको व्यापार घाटा

निर्यातको तुलनामा आयातमा बृद्धि हुँदा व्यापार घाटामा बृद्धि भएको छ । चालु आवको आठत महिनामा एघार खर्ब रुपैयाँ बढीको आयात हुँदा ३४.५० प्रतिशतले व्यापार घाटा बढेको छ ।

चालु आवको आठ महिनामा नेपालको ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तैगरी चालु आवको ८ महिनामै नेपालको वैदेशिक व्यापार ४२.१३ प्रतिशतले बढेको छ । यस अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.