दाबी रकम समयमै नदिए बीमा कम्पनीले अब व्याज दिनुपर्ने

  २०७८ चैत ७ गते १३:४७     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरूले समयमै बीमाको दाबी रकम भुक्तानी नगरे बीमितलाई व्याज दिनुपर्ने व्यवस्था हुने भएको छ ।

बीमा समितिको आयोजनामा ललितपुरमा आइतबार सम्पन्न जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी जानी बुझी समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि बीमा रकमको व्याजसमेत दिनुपर्ने व्यवस्था गर्न लागेको बताएका हुन् ।

अध्यक्ष सिलवालले देशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका साथै बीमितको हित रक्षा गर्नु बीमा समितिको मुख्य कार्य भएको उल्लेख गर्दै कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही गरिने स्पष्ट गरे । साथै बीमाको दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए ।

उनले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको र त्यसको मस्यौदासमेत बुझाइसकेको उल्लेख गर्दै त्यसलाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तयार रहेको जानकारी दिए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताउँदै बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्सुरेन्स इन्ष्टिच्युट नेपाललाई अनुमती दिइएको जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलले समितिले एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी दिँदै बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमाप्रतिको विश्वास कायम राख्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.