सुरु भयो हिमाल आरोहण : डोरी टाग्न आइसफल डाक्टर टोली सगरमाथा बेस क्याममा

  २०७८ चैत ७ गते ९:५८     विकासन्युज

काठमाडौं । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल डाक्टर टोली आधार शिविर पुगेका छन् । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल डाक्टर आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।

गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साइत हेराएपछि काम सुरु गर्ने छ । ‘अहिले टोली आधार शिविरमा बसेको छ’, उनले भने, ‘विगतझैँ यस वर्ष पनि साइतअनुसार काम सुरु हुन्छ ।’

आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्छन् । भ¥याङ राख्नेदेखि डोरी टाग्नेलगायत काम उनीहरुले गर्नेछन् । आधार शिविरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गरिन्छ ।

पर्यटक आउने क्रम सुरु

पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम सुरु भएको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खुम्बु क्षेत्रमा केही दिनयता दैनिक १०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समय खुम्बु क्षेत्रमा पर्यटकको आगमन हुन सकेको थिएन । अहिले धमाधम पर्यटक आउन थालेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ छुकुमका पर्यटन व्यवसायी तेन्जिङ जाङ्बु शेर्पाले बताए । अहिले लुक्लास्थित लतेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताए । लुक्लामा दैनिक २० वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका लछन् ।

हिउँदमा काठमाडाँैबाट लुक्ला खाली आउने र लुक्लाबाट उल्लेख्य सङ्ख्यामा यात्रु लिएर फर्कने जहाज अहिले बिना यात्रु फर्कने गरेका छन् । चिसो मौसममा खुम्बु छाड्ने यात्रुको सङ्ख्या अत्यधिक हुने भए पनि पर्यटक आगमनको याम सुरु भएसँगै भित्रिने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म खुम्बु क्षेत्रमा पर्यटक आउजाउ बढ्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.