प्रभु लाइफबाट बाहिरिए पौडेल, प्रसाई सीईओ बन्दै

  २०७८ फागुन ३० गते १७:१७     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल पुग्न १ वर्षभन्दा बढी समय बाँकी छदै पौडेलले पदबाट राजीनामा दिएका हुन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका पौडेललाई प्रभु लाइफले २०७६ साल साउन १ गतेदेखि ४ वर्षको लागि सीईओमा नियुक्ति दिएको थियो । पौडेलले दिएको राजनीतिमा संचालक समितिले फागुन १८ गते स्वीकृत गरिसकेको छ । उनको राजीनामा चैतदेखि लागू हुनेछ ।

कम्पनी संचालक समितिले चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईलाई कन्सल्ट्याण्टको रुपमा भित्र्याएको छ । प्रसाईलाई सीईओ बनाउने गरी कन्सल्ट्याण्ट बनाएर भित्र्याएको महसुस गरेर पौडेलले राजीनामा दिएका हुन् ।

प्रसाईलाई चैत ७ गतेदेखि लागू हुने गरी कन्सल्ट्याण्टका रुपमा कम्पनीमा नियुक्ति दिइएको छ । प्रसाई नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट बीचमै राजीनामा दिएर बसेका सीए हुन् । उनले नेपाल लाइफ छोडेको ६ महिना आगामी बैशाख २२ गते पूरा हुँदैछ ।

कुनै कम्पनीको प्रमुख कार्यकारी अधिकृतले जिम्मेवारीबाट अलग भएको ६ महिना पछि मात्रै अर्काे कम्पनीको सोही पदमा जान पाउने नीतिगत व्यवस्था बीमा समितिले गरेको छ । समितिको सो व्यवस्थाको कारण प्रसाईलाई तत्काल सीईओ बनाएर प्रभु लाइफमा भित्र्याउन नसक्ने अवस्था सिर्जना भएपछि कन्सल्ट्याण्टको रुपमा भित्र्याइएको र कुलिङ पिरियड सकिएपछि सीईओ बनाइने स्रोतले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.