जलविद्युत आयोजनाको पीपीए तत्काल खुलाउन इपानको माग

  २०७८ फागुन १६ गते १७:३७     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानले तत्काल पीपीए खुला गर्न माग गरेका छन् । इप्पानले सोमबार नेपालविद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई भेटी तत्काल पीपीए खुला गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्राधिकरणले विगत करिब तीन वर्षदेखि पीपीए नगर्दा ऊर्जा उद्यमीहरुले आयोजनाहरुको पहिचान र वसकासका लागि गरेको अबौंको लगानी जोखिममा परेको भन्दै उनीहरुले तत्काल पीपीए खुला गर्न माग गरेका छन् ।

इपानको अनुसार अहिले प्राधिकरणमा ९ हजार मेगावाटभन्दा बढी क्षमताका २१५ वटा आयोजनाहरुले सबै प्रक्रिया र मापदण्ड पुरा गरेर पीपीएका लागि आवेदन गरेका छन् । तर यि आयोजनाहरुको पीपीए नहुँदा व्यवसायीहरुले तीन वर्षदेखि सर्वेक्षण अनुमतिपत्रको वार्षिक नविकरण दस्तुर तिर्नु परिरहेको र उत्पादन अनुमतिपत्र लिएकाहरुले वार्षिक आय गुमाइरहेकाे उनीहरुकाे भनाइ छ ।

यस अवस्थाले एकातिर समग्र आयोजनाहरुको लागत उच्च हुने र अर्कोतिर निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्दा नेपाल सरकारले लिएको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्यमा समेत गम्भीर प्रभाव परिरहेको र नेपाल सरकारको ठूलो प्रयत्नबाट निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानी गर्न आएकोमा विस्तापित हुने खतरा बढेको इपानले बताएको छ ।

प्राधिकरणले हिउँदमा अरबौंकोे विद्युत आयात गरिरहेको तथ्यलाई वेवास्ता गरेर वर्षा याममा थोरै विद्युत खेर गयो भन्ने बहानामा पीपीए बन्द गरेको इपानको आरोप छ ।

पीपीए गरिएका आयोजनाहरुबाट कम्तीमा ५ वर्षपछिबाट मात्र विद्युत उत्पादन गर्न सकिने यथार्थलाई प्राधिकरणले भुल्न खोजेको इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘विद्युत ऐन, २०४९ देखिका ऊर्जा क्षेत्रको नेतृत्वमा रहेका मन्त्रीज्यूहरु, निजामती कर्मचारीहरु, निजी क्षेत्र र प्राधिकरणले गरेको अथक प्रयत्नपछि बनेको लयलाई पीपीए नगरेर तोड्न खोजिएको छ,’ उनले भने ।

प्राधिकरणको यस्तो अकर्मन्यताले निजी क्षेत्रका प्रवर्धकहरु निराश र अन्यौलमा पर्न थालेका उनी बताउँछन् ।

इपानको अनुसार अहिलेसम्म निजी क्षेत्रले उर्जा उत्पादनका आयोजनाहरुको पहिचान, अध्ययन, विकासका लागि करिब १० खर्ब लगानी गरिसकेको छ भने आगामी ७ वर्षमा थप १७ खर्बभन्दा बढी लगानी गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.