विदेश छोडेर गाउँमा खेती रोज्नेको सफलता…

  २०७८ फागुन १० गते १६:१३     विकासन्युज

बलेवा । तमानखोला गाउँपालिका–२ कटेरी गाउँका ढालेन्द्र छन्त्याल वर्षमा एक दुई पटकमात्रै घरमा पुग्छने । उच्च पहाडका जङ्गलमा भेडाको बथानका पछि उनको बाँकी दैनिकी चलिरहेको छ ।

वर्षाको समयमा तमानखोलाका उच्च पहाडमा चर्ने उहाँका भेडा हिउँदमा हिउँ परेपछि गलकोट नगरपालिकाको उच्च पहाडमा पुग्छन् । तीनै भेडाको पछि लाग्ने ढालेन्द्र र उनका साथीको दैनिकी हिउँद र वर्षामा फरक–फरक ठाउँमा चल्ने गरेको छ । ढालेन्द्रका साना ठूला गरेर १०० भेडा छन् । अरु सातजना साथीका पनि सोही सङ्ख्यामा भेडा छन् ।

सबैका भेडा एकै ठाउँमा चराउँदा धमिरो लागेको काठजस्तै देखिन्छन् पहाड । भेडीगोठका गोठाला ढालेन्द्र पेशामा सन्तुष्ट हुन्छन् । साथीभाइ पालो गरेर घरपरिवारको रेखदेख गर्न पाइने, आफ्नै माटो, आफ्नै भाषा र आफ्नासँगै बसेर काम गर्दा हुने आम्दानीले उनलाई सन्तुष्ट बनाएको छ । लामो समय दुबई, कतार र साउदी अरबको तातो हावामा काम गरेका ढालेन्द्रले भेडा पाल्न थालेको पाँच वर्ष भयो । उनीजस्तै विदेशमा दुःख भोगेर देशको माटो सम्झेका साथीको सहकार्यमा भेडा पाल्न थालेका ढालेन्द्रले सुरुमा चार लाख लगानी गरेका हुन् ।

अहिले वर्षमा सबै खर्च कटाएर तीन लाख आम्दानी हुन्छ । ‘विदेशमा भोगेको दुःख सम्झेर यहाँ मेहनत गरेको छु, आफ्नै परिवारजस्तो लाग्छ भेडीगोठ’, उनले भने, ‘अब विदेश जान्न यतै रमाइलो छ ।’ उनीहरुले एउटा वयस्क भेडालाई ३५ हजारसम्ममा बेच्छन् । साना पाठापाठीको पनि १० देखि १५ हजार पर्छ । ‘विदेश पुगेपछि गाउँमै केही गर्न सकिन्छ भन्ने बुझेँ’, उनले भने, ‘अहिले थालेको व्यवसायमा सन्तुष्ट छु ।’ भेडापालनका लागि चरण क्षेत्र राम्रो भएकाले तमानखोला गाउँपालिका उपयुक्त क्षेत्र हो । अन्य उत्पादन कम हुने, जङ्गल र पाखा धेरै भएकाले यहाँका किसानले मासुजन्य उत्पादनमा ध्यान दिन्छन् । भेडाको उन र मासु दुवैबाट किसानले मुनाफा लिने गरेका छन् ।

कटेरी गाउँकै ओम पुनले आफ्नो जीवनको महत्वपूर्ण समय विदेशी माटोमा बिताए । ४८ वर्षीय ओम पुन बहराइन र साउदी अरबको तातो हावामा १२/१२ वर्ष काम गरेर अहिले गाउँ फर्किनुभएको छ । विदेशमा कमाएको पैसाले उनको पोखरामा घर छ । तर, ओमबहादुर भने तमानको हावापानी सम्झेर गाउँ फर्किएका छन् । ‘पोखरा बस्नै मन लागेन, भाइ बसाइँ सरेर गयो, बाबाआमा एक्लै हुनुभयो, अनि म गाउँ फर्किएँ’, उनले भने, ‘यहाँ शिक्षा, स्वास्थ्य र पूर्वाधार नभएर सुविधा सम्पन्न ठाउँ खोज्ने हामी अब यहीँ ती सुविधा पुर्याउन लाग्नुपर्छ ।’

पुनले बहराइनमा रहँदा गाउँकै जनज्योति आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन बनाउन जग्गाका लागि सहयोग अभियान चलाएका थिए । अभियानमा सङ्कलन भएको आठ लाखले जग्गा खरिद गरेर अहिले विद्यालयको पक्की भवन बनेको छ । पैतृक सम्पत्ति गाउँकै पाखोबारीमा खेतीपाती गरेर ओमबहादुरले घरखर्च चलाएका छन् । जन्मे–हुर्केको ठाउँमा रमेर बाबाआमाको सेवामा खटेका ओमबहादुर विदेशबाट गाउँ फर्केर पाखो बारी कोतर्ने उदाहरण हुन् । कटेरिकै चुडामणि छन्त्याल पनि विदेशको कमाइले आर्जेको सम्पत्तिको सुख सयल छोडेर गाउँमा तरकारी फार्म चलाएर बसेका छन् ।

बसाइँ सरेर जानेहरुले जग्गा नबेच्ने र बसाइँसराइको कागज नगर्ने भएकाले यहाँको वास्तविक तथ्याङ्क भने छैन् । तर गाउँमा सुविधा नभएको भनेर छोड्ने दिनानुदिन बढ्दै छन् । बसाइँ सर्ने रोगमा मलमपट्टी लगाउन गाउँ भित्रिएका ढालेन्द्र, ओमबहादुर र चुडामणिजस्ता युवा पनि छन् । विदेशबाट फर्केर गाउँमा उद्यम, व्यवसाय र खेतीपाती गर्नेलाई गाउँपालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याएको छ । ‘गतवर्षमा ४० वटा भेडीगोठ सुधारका लागि अनुदान दिएका थियौं’, गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘ऋणमा सहुलियत, व्यवसायमा अनुदान र प्रविधि तथा तालिम निःशुल्क उपलव्ध गराउने कार्यक्रम हामीसँग छन् ।’ गाउँ फर्केका युवाले गाउँमै भविष्य खोज्ने उनले बताए ।

तीनै तहका सरकारले साथ सहयोग गरे गाउँमा पनि नमूना काम गर्न सकिने उदाहरण उनीहरुले दिएको स्थानीयवासी बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.