पोखरालाई कार्बन तटस्थ सहर बनाउन छलफल

  २०७८ फागुन १० गते १५:२२     विकासन्युज

पाेखरा । पोखरा महानगरपालिकाको आयोजना र बेलायती सहयोग नियोगको प्राविधिक सहयोगमा पोखरालाई कार्बन तटस्थ सहर बनाउने बारे छलफल भएको छ ।

महानगरको ‘दीर्घकालीन सोचपत्र पोखरा २१००’ मा पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य निर्धारण गरिएकाले सो लक्ष्य पूरा गर्न महानगरभित्र मुख्य कार्वन उत्सर्जन गर्ने क्षेत्रहरु पत्ता लगाई सोको निराकरणका लागि आवश्यक रणनीति अपनाउने उद्देश्यले सरोकारवालाबीच कार्यशाला आयोजना गरिएको हो ।

कार्यक्रममा प्राडा ओम शर्माले पोखरालाई कार्बन न्युट्रल बनाउन आवश्यक रहेको विषयसँगै महानगरको स्थिति पत्रमा कसरी काम भइरहेको छ भन्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।

परियोजनाका प्राविधिक निर्देशक डा जिम आर्थरले महानगरले दीर्घकालीन सोच बनाउँदा कार्बन न्युट्रल बनाउने विषयमा गरेको प्रतिवद्धता स्मरण गर्दै उक्त कार्यमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय सहरका रुपमा थप परिचित बनाउन महानगरको अग्रसरतालाई प्रशंसनीय रहेको धारणा राखे ।

सुदृढ परियोजनाका नीतिगत सल्लाहकार तथा पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको प्रतिबद्धताअनुसार कार्बन तटस्थताको दिशामा अघि बढ्न जरुरी भएको र सो कार्यमा पोखरा महानगर अग्रस्थानमा रहेको बताए ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कार्बन उत्सर्जन अहिलेको अति आवश्यक विषय भएकाले यसमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले वातावरण मैत्री हरित दिगो र समावेशी विकासका क्षेत्रमा महानगरले गरेको कार्य प्रशंसनीय रहेको बताउँदै दूतावासका तर्फबाट यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालस्थित बेलायती दूतावासका वरिष्ठ सल्लाहकार डा सविता थापाले अबको युग कार्वन तटस्थाको बनाउन अपरिहार्य भएकाले पालिकाहरुले कार्बन तटस्थ योजना बनाएर विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले महानगर दीर्घकालीन सोचअनुरुप कार्वन तटस्थाको विकासको मोडलमा अगाडि बढेर मार्गचित्र तय भएको र त्यसको कार्यन्वयनमा लैजाने सबैको दायित्व रहेको बताए ।

महानगरको सहरी योजनाका उपाध्यक्ष रामचन्द्र लामिछानेले पोखरा पर्यावरणीय संवेदनशील सहर भएकाले यहाँका विकास योजनाहरुलाई कार्बन तटस्थ बनाएर तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले यस्ता कार्यक्रमले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न सहयोग गर्ने बताउँदै प्रदेश मन्त्रालयले पनि यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्ने बताए ।

सुदृढ परियोजना पोखराका संयोजक होमनाथ गैरेले महानगरको स्थिति पत्र तयारका क्रममा सङ्कलित सूचना तथा तथ्याङ्कको प्रारम्भिक नतिजा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विज्ञहरुले प्रस्तुत गरेका विषयमाथि सरोकालाहरुले विषयगत रुपमा छलफल गरेर न्यून कार्बन उत्सर्जनका लागि गर्नुपर्ने नीतिगत तथा प्रक्रियागत सुधारका विषयमा सुझाव प्रस्तुत गर्दै महानगर, प्रदेश तथा सङ्घीय सरकारले अवलम्बन गर्नुपर्ने तत्कालीन र दीर्घकालीन नीतिबारे स्पष्ट गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.