नारायणघाटमा समुन्द्र बनाउँछु, बिहे र डिनर बोटमै हुन्छः पूर्व अर्थमन्त्री पाण्डे

  २०७८ माघ २१ गते ११:४२     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे नेपालको आर्थिक विकास र औद्योगिकीकरण सुरु नै नभएको भन्दै चिन्ता व्यक्त गर्दछन् । नेपालको विकास नहुनुमा नेपालीमा काम गर्न संस्कार नै नहुनु प्रमुख कारण रहेको उनको ठम्याई छ ।

औद्योगिक क्षेत्रको विकास नहुनुमा जग्गाको मूल्य अत्याधिक बृद्धि हुनु र जमिनको उचित व्यवस्थापन हुन नसक्नु रहेको पाण्डे बताउँछन् । २०२१ सालमा वर्गिकरण गरिए अनुसार अव जमिनको उपयोगित हुन नसक्ने भन्दै उनी जमिनको उचित व्यवस्थापन गर्न नसक्ने हो भने विकासको गति नै अघि बढ्न नसक्ने ठोकुवा गर्छन् ।

यस्तै, शासनसत्ता संचालन गर्नेहरुले बढी भ्रष्टाचार गरेको आरोप लाग्ने गरेपनि यथार्थ त्यस्तो नभएको उनको विश्लेषण छ । मल्लकाल, शाहकाल, पन्चायतकाल वा अहिलेको प्रजातन्त्र कालमा धेरै धन कमाएर सन्ततिलाई समेत पुग्नेगरी कुनै पनि नेताले थुपारेको नदेखिएको उनले सुनाए । उनले अहिले नेपालको प्रमुख समस्या भ्रष्टाचार होइन भने । मानिसहरु आर्थिक गतिविधिमा संलग्न नहुने नै अहिलेको नेपालको प्रमुख समस्या भएको उनको भनाई ।

निजी क्षेत्रलाई हेर्ने आम धारणा, उनको निर्वाचन क्षेत्रमा भएका विकास, देश विकासको उनको अवधारणा, जमिनमा निजी स्वामित्व हुनु हुदैन भनेको के हो, उनका परिवारका सदस्यहरु किन राजनीतिमा आएनन् भन्ने जस्ता विषयमा केन्द्रित रहेर विकासन्युजका लागि शिव सत्यालले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पाण्डेसँग विकास बहस गरेका छन्ः

परिवारका अरु सदस्यहरु के गर्नुहुन्छ ?

मेरो श्रीमती राजनीतिक कार्यकर्ता पनि हो, सामाजिक कार्यकर्ता पनि हो । एनजीओ एक्टिभिटिजमा लाग्ने स्थिति छ । पहिला शिक्षिका हो । पछि पूर्णकालिक राजनीतिक कार्यकर्ता पनि हो । बच्चाबच्ची भएपछि दुबै जना राजनीतिमा लाग्ने अवस्था थिएन । मैले पन्चायतकालकै कुरा गरेको । त्यसपछि उनले शिक्षिका तथा सामाजिक कार्यकर्ता भएर काम गर्ने स्थिति भयो ।

छोराहरु दुइटा छन् । दुइटै इन्जिनियर छन् । सफट्वयरमा पनि र खासगरी आर्टिफिसियल इन्टलिजेन्ट्सको क्षेत्रमा लागेका छन् । पढ्न त उनीहरुले इलेक्टिक इन्जिनियरिङ, इनर्जी इन्जिनियरिङ र कम्प्युटर साइन्स पढेका छन् । काम चाही बढी सफ्टवयर र कम्प्युटरसँग सम्बन्धित गर्छन् ।

नेपालमै हुनुहुन्छ छोराहरु ?

नेपालमै छन् ।

छोराहरु राजनीतिमा लाग्नुभएको छैन ?

राजनीतिक परिवार नै भएकोले तिनीहरु राजनीति वाहिर हुँदैनन् । मभन्दा बढी राजनीतिक विश्लेषण गर्छन् । सही, गलत छुट्टयाउने क्षमता राख्छन् । तर, भौतिक रुपले पार्टीका संगठनभित्र रहेका भने छैनन् । नेताका छोराछोरीको पार्टीमा आवद्धताको समस्या पनि छ । मेरो जेठो छोराले भन्ने सन्दर्भ छ । त्यो के भने ‘मैले त्यो पार्टीमा काम गर्दा कम्तिमा मैले जाने जति हुनुपर्छ । सकेसम्म मैलेभन्दा धेरै जानेको हुनुपर्छ । त्यहाँ संलग्न हुन पाएँ भने म खुसी हुन्छु । मैले जानेको जति पनि नजान्ने या मैले भन्दा पनि कम जान्ने भयो भने उनीहरुका कुरा मैले सुन्ने कसरी हुन सक्छ र’ भन्ने गर्छन् ।

मेरा छोराहरु राजनीतिमा आउन भन्ने लाग्दैन तपाईंलाई ?

म व्यक्तिगत रुपमा उनीहरु जे गर्छन्, उनीहरुको रुचीको आधारमा उनीहरुको विशेषताको आधारमा आफ्नो बाटो लिउन भन्ने म चाहन्छु । किन भने मलाई मेरा बुवाआमाले लाग भनेको बाटोमा म लागिनँ । मेरो बाटो म आफैले तय गरें । मेरो विहेबारी लगायतका विषयमा मेरो पूर्ण स्वतन्त्रता रह्यो । त्यसैले मेरा छोराछोरीलाई मैले भने अनुसार गर भन्ने कुरा न न्यायोचित हुन्छ, न उनीहरु त्यसो गर्न नै तयार हुन्छन् । हामी राजनीतिमा लागेको हुनाले हाम्रा छोराछोरीले पनि राजनीतिको जानकारी राखुन भन्ने लाग्छ । अहिलेको पुस्ताले यस्तो जानकारी राख्छ पनि ।

तपाईं अहिले भर्खर २४ वर्षको हुनुहुन्थ्यो, विश्वविद्यालय तहको अध्ययन भर्खर पूरा गर्नुभएको थियो र तपाईको चेतनास्तर भने अहिलेको जत्तिनै हुन्थ्यो भने तपाईं राजनीतिमा लाग्नुहुन्थ्यो होला ?

सायद म लाग्दैन थें होला । यो प्रश्नमा मेरो अर्काे कुरा पनि छ । त्यो के हो भने आजको सन्दर्भमा नौजवानहरुले जे सोच्छन्, उनीहरुको नजरबाट ठिकै पनि होला । तर, तिनीहरुले हाम्रो इतिहास जानेको हुनुपर्छ । यो अवस्था हिजो थियो कि थिएन ? थिएन । अघिल्लो पुस्ताले नलडेको भए, अघिल्लो पुस्ताले राजनीतिक आन्दोलनमा आफ्नो त्याग नदेखाएको भए आजको पिडीको लागि यो अवसर प्राप्त हुने थिएन । हामीलाई अहिले हिजोको त्यागको सम्मान गर्ने र आजको आवश्यकता औल्याउने पुस्ता चाहिएको छ ।

मैले धेरै ठाउँमा भन्ने गरेको छु कि अब हामीले तेस्रो पुस्ता पार्टी बनाऔं । त्यो भनेको के हो भने २००६ सालमा नेकपा बन्यो । २००३÷२००४ सालमा नेपाली काँग्रेस बन्यो । त्यो बेलामा राणा शासन थियो । राणा शासनको विरुद्धमा बोल्ने हिम्मत कसैको थिएन । त्यसबेला बोल्न सक्नेहरु मात्रै यो आन्दोलनमा रहन्थ्यो । मेरा पनि पूर्वजले जतिबेला राणा शासन विरुद्ध आन्दोलन सुरु गरे, ती पनि जवान नै थिए । राणा शासनले कुनै पनि सम्भावनाको ढोका थुनेर बसेको थियो । त्यसैले त्यो बेलाका जवानले आन्दोलन रोजे । पछिल्लो समय राजा र पन्चायतले त्यसैगरी ढोका बन्द गरेर बसेको थियो ।

हिजोको हाम्रो दक्षता भनेको कसरी राणा ढाल्ने, कसरी पन्चायत ढाल्ने, कसरी राजा ढाल्ने भन्ने थियो । अब गरिबी ढाल्नु छ, देशभित्रबाट बेरोजगारी खतम गर्नुछ ।

राणा शासन विरुद्ध आन्दोलन गर्ने त्यो बेलाका युवाहरु विपी कोइराला, मनमोहन अधिकारी, गंगालाल श्रेष्ठहरु खातापिता परिवारका पढे लेखेका नौजवानहरु थिए । त्यसबेलाको परिस्थितिले जन्माएका नेताहरु हुन् उनीहरु । अब नयाँ पार्टी बनाउने भनेको आर्थिक रुपले समृद्ध नेपाल कसरी बनाउने भनेर हो । अब नागरिकलाई धनी कसरी बनाउने, सक्षम कसरी बनाउने भन्ने विषय होला सायद । त्यसको लागि क्यालिटी चाहियो । अबको पार्टी त्यो क्वालिटीयुक्त बनाऔं । हिजोको एजेन्डाले अब पार्टीहरु बन्दैनन् । हिजोको हाम्रो दक्षता भनेको कसरी राणा ढाल्ने, कसरी पन्चायत ढाल्ने, कसरी राजा ढाल्ने भन्ने थियो । अब गरिबी ढाल्नु छ, देशभित्रबाट बेरोजगारी खतम गर्नुछ । नारा लगाएर रोजगारी सिर्जना हुँदैन ।

तपाईंको निर्वाचन क्षेत्रलाई तपाईंले के दिनुभयो ?

मैले मेरो निर्वाचन क्षेत्रलाई धेरै कुरा दिएको छु । मैले चुनावको बेलामा मेरो निर्वाचन क्षेत्रमा १० वटा ठूला आयोजना अगाडि बढाउँँछु भन्ने कबुल गरेको थिएँ । जस्तो, मैले सौराहामा ठूलो अन्तराष्ट्रियस्तरको हल बनाउछु भनेको थिए, बन्दैछ, गएर हेर्नुहोला । दोस्रो, मैले सौराहादेखि माथि लोथरसम्म पर्यटन रोड बनाउने र सो क्षेत्रमा पर्यटन पूर्वाधार बनाएर पर्यटन क्षेत्रको विकास गर्छु भन्ने मेरो प्रतिवद्धता थियो ।

मैले के सोचेको छु भने भण्डारादेखि गल्छीसम्म ४० किलोमिटर र गल्छीदेखि काठमाडौं ४० किलोमिटर सडक हुन्छ । यो भयो भने भण्डाराबाट एक घण्टामा काठमाडौं आइपुगिन्छ ।

कोभिडले अलिकति असर गर्यो । तर, पनि सौराहाको पर्यटन भण्डारासम्म गएको छ । सडक बनिरहेको छ । २५ करोड रुपैयाँ बजेट विनियोजन भइरहेको छ । सडक पिच भइरहेको छ । काम भइरहेको छ । भण्डारा मलेखु सडक अगाडि बढेको छ । अझ मैले सुरुङसहितको बाटो बनाउछु भनेको छु । यसपालीदेखि सर्बे सुरु भएको छ । भण्डारा मलेखु ४१ किलोमिटर बाटो टनेलसहितको हुन्छ । त्यो सडक भण्डारा गल्छी जोड्यो भने जम्मा ४० किलोमिटरको मात्रै हुने रहेछ । सुरुङ अलि बढी हुने रहेछ । मैले के सोचेको छु भने भण्डारादेखि गल्छीसम्म ४० किलोमिटर र गल्छीदेखि काठमाडौं ४० किलोमिटर सडक हुन्छ । यो भयो भने भण्डाराबाट एक घण्टामा काठमाडौं आइपुगिन्छ ।

पूर्वी चितवनमा एउटा रंगशाला बनाउँछु भनेको थिएँ । खैरेनीमा एउटा रंगशाला बनेको छ । पूर्वी चितवनमा एउटा अस्पताल बनाउने भनेको थिएँ । रत्ननगरमा एउटा ५० बेडको अस्पताल बनेको छ । त्यसलाई १०० बेडको बनाउन पहल गरिरहेको छु । अर्काे एउटा अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो । कोभिडको कारण केही ढिला भयो । बैदेशिक सहायतामा बनाउने भनिएको छ । निजी क्षेत्रको लगानी आउने भनिएको थियो । त्यसमा केही ढिलाई भएको छ ।

मैले चाहेर पनि गर्न नसकेको एउटा काम छ । त्यो के हो भने शक्तिखोरको औद्योगिक क्षेत्र, जसले पूर्वी चितवनको विकास गर्नेवाला थियो । त्यसको वातावरणीय प्रभाव मूल्यांकन हुन सकेन । सरकारले १० वटा औद्योगिक क्षेत्रको काम अघि बढाउने भने पनि कुनै पनि ठाउँको काम अघि बढेको छैन । यो काम भने चाहेर पनि गर्न सकिरहेको छैन । बाँकी कामको सन्दर्भमा भन्ने हो भने पूर्वी चितवनका प्राय सबै सडक कालोपत्रे गरिसकिएको छ । मैले लोथर सौराहाको तटबन्ध गर्छु भनेको थिएँ । त्यसको लागि आरसीसी वालसहितको तटबन्द गर्ने गरी काम अघि बढेको छ । कयर तटबन्द गर्छु भनेको थिएँ । त्यसको लागि १ अर्ब ३६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसको काम पनि सुरु भएको छ । शक्तिखोरदेखि सौराहासम्मको तटबन्दको काम भइरहेको छ । पूर्वी चितवनमा कम्पाउण्डवाल सहितका विद्यालयका भवन बनेका छन् । पूर्वी चितवनमा सबैका घरमा खानेपानीका धारा पुगेका छन् । मैले चुनाव जित्नुअघि खानेपानीको सुविधा थिएन ।

देश विकासको लागि तपाईंसँग विशेष अवधारणा छ भन्ने लाग्छ, तपाईंको निर्वाचन क्षेत्रमा त्यसको प्रतिविम्ब पाइन्छ ?

पाइन्छ । जस्तो कि चिवतनको चैनपुर क्षेत्रमा बाटो राम्रो भएको कारण ५० भन्दा बढी उद्योग त्यहाँ गएका छन् । अहिले पूर्वी चितवन आद्योगिक हब पनि बनिरहेको छ । यद्यपि, हाम्रा केही प्रतिबन्धहरु छन् । जस्तो कि सौराहा क्षेत्रमा पर्यटन क्षेत्र छ । त्यसैले हामीले प्रदुषण गर्ने उद्योगहरु त्यहाँ लानु हुँदैन ।

तपाईं जमिनमा निजी स्वामित्व हुनुहुँदै भन्नुहुन्थ्यो, धारणा परिवर्तन गर्नुभयो कि त्यसमै हुनुहुन्छ ?

छैन, मैले धारणा परिवर्तन गरेको छैन । जमिनमा सुधार नगरेसम्म नेपालको औद्योगिकीकरण र कृषिमा क्रान्ति हुँदैन ।

जमिनमा निजी स्वामित्व हुनुहुँदैन भनेको के हो ?

मेरो भित्र मनले के भन्छ भने जमिनको निजी स्वामित्वको अवधारणाले हाम्रो समग्र आर्थिक विकासलाई अवरोध गरिरहेको छ । तर, अहिले नै निजी स्वामित्व अन्त्य गर्न सकिदैन भन्ने पनि म जान्दछु । किनभने म राजनीतिक कार्यकर्ता हूँ, राजनीतिक दबाब कति हुन्छ, यसले के अर्थ राख्छ, कति असर पुर्याउछ भन्ने पनि मैले बुझेको छु । त्यसैले नयाँ विकल्प के हुन सक्छ, यसलाई कसरी समाधान गर्ने भन्ने पनि मैले सोचेको छु ।

जस्तो, २०२१ सालमा हाम्रो भूमिसुधार लागू हुँदा सम्पूर्ण जमिनलाई अवल, द्वयम, सीम र चहार गरी ४ वर्गमा वर्गिकरण गरियो । अवल भनेको पानी लाग्ने खेत, द्वयम भनेको राम्रो बारी वा कम पानी लाग्ने खेत, सीम भनेको अलि कमसल जमिन र चहार भनेको खरबारी ।

हाम्रो परिभाषा अनुसार सगरमाथा चहार भयो । किनभने त्यहाँ पानी लाग्ने धानखेत छैन । पर्यटकहरु हाम्रो खेत हेर्न आउँदैनन् । पर्यटन उद्योगको लागि सगरमाथा अवल जमिन हो ।

हाम्रो परिभाषा अनुसार सगरमाथा चहार भयो । किनभने त्यहाँ पानी लाग्ने धानखेत छैन । पर्यटकहरु हाम्रो खेत हेर्न आउँदैनन् । पर्यटन उद्योगको लागि सगरमाथा अवल जमिन हो । २०२१ सालमा नगरकोट चहार थियो, खरबारी । अहिले तल बागेश्वरीको भन्दा माथि डाडाको भाउ बढेर गयो । अब कुन अवल, कुन चहार । अवल भनेको बढी मूल्य पर्ने जमिन पनि होला । पहिला सौराहामा कसैले पनि खोलाको नजिक गएर जमिन किन्दैनथ्यो । भित्रभित्र जमिन खोजेर बाढी र जंगली जनावर नलाग्ने ठाउँतिर बस्ने गरिन्थ्यो । अहिले खोलाको सबैभन्दा नजिकको जमिन कठ्ठाकै ७ देखि १० करोड रुपैयाँ पर्छ । धेरै महंगो छ । अब कुन अवल ?

म अर्थमन्त्री भएको बेलामा बजेट निर्माणको सन्दर्भमा विभिन्न ठाउँमा गएको थिएँ । यस्तैमा एक पटक हेटौडा गएको थिएँ । त्यहाँ एक जना उद्योगीले आएर भने– यहाँ पहिला केही पनि थिएन । मैले एकान्त ठाउँमा जग्गा किनेर उद्योग लगाएँ । एक मजदुरले उद्योगको बाहिरपट्टी राजमार्गमा उनकी श्रीमतीलाई एउटा सानो चिया पसल खोलिदिएछन् । मेरो उद्योगमा ६/७ सय मजदुर काम गर्थे । सबैले एक एक कप चिया खाँदा पनि ६/७ सय कप चिया विक्री हुन थालेछ । ती मजदुरको भन्दा उनकी श्रमतीको कमाई बढी हुन थालेछ । अरु मजदुरले पनि त्यो कुरा देखे । अनि कसैले कपडा पसल खोले, कसैले भात खुवाउने पसल खोले । अहिले गाउँ भयो । अब उद्योगले प्रदुषण गर्यो, निस्केर जा भनेर मलाई भन्छन् । मेरो कारणले विकास भएको छ, मलाई नै जा भनेर अब निस्केर कहाँ जाऊ हजुर भने ।

एउटा भोटरले ७ सय जनालाई रोजगारी दिने हैसियत राख्छ ? तर, हामी भोटका दास भएर एउटा भोटरको कुरा सुनेर ७ सय मानिसलाई रोजगारी दिने उद्योग बन्द गराउन खोज्छौं ।

त्यसपछि मलाई लाग्यो– हामी कस्ता लफंगा रहेछौं । अनि म अध्ययन गर्न थालें । मलाई लाग्यो– घर बनाउने ठाउँमा उद्योग लगाउन दिनु भएन । उद्योग लगाउने ठाउँमा घर बनाउन दिनु भएन । यदि यसो गरेनौं भने कुन ठाउँमा उद्योग रहन्छ ? आज भोट हाल्ने मान्छेको बढी आवश्यकता छ कि उद्योग लगाउने मान्छेको आवश्यकता बढी छ ? एउटा उद्योगले ७ सय मान्छेलाई रोजगारी दिएको हुन्छ । एउटा भोटरले ७ सय जनालाई रोजगारी दिने हैसियत राख्छ ? तर, हामी भोटका दास भएर एउटा भोटरको कुरा सुनेर ७ सय मानिसलाई रोजगारी दिने उद्योग बन्द गराउन खोज्छौं ।

हाम्रो यो सोँचलाई बदल्नुपर्छ । अब जमिनलाई कृषि, आवाशीय, औद्योगिक, व्यवसायिक बन र सार्वजनिक भनेर जमिनको वर्गिकरण गर्नुपर्छ । अब कृषि हुने ठाउँमा कृषि मात्रै, आवाश हुने ठाउँमा आवाश मात्रै, उद्योग हुने ठाउँमा उद्योग मात्रै, व्यवसाय गर्ने भनिएको ठाउँमा व्यवसाय मात्रै गर्न दिऊ । यसरी जमिनलाई नछुट्टयाउने हो भने, जमिनको मनपरी ढंगले प्रयोग गर्न थाल्यौं भने हाम्रो केही पनि विकास हुँदैन ।

उद्योग खोल्नको लागि जग्गा चाहिन्छ । थोरै जग्गाले पुग्दैन । जग्गाको मूल्य धेरै बढ्यो । भएजति पैसा जग्गामा हालेर अब उद्योग खोल्न सकिदैन । त्यसैकारण उद्योग खोल्न पनि जमिन सस्तो चाहिन्छ, कृषि गर्न पनि जमिन सस्तो चाहिन्छ । २० लाख रुपैयाँ कठ्ठाको जग्गा किनेर कृषि गर्दा त्यसको व्याज तिर्न पुग्छ ? कृषिको जमिन भनेर छुट्टयाउने र त्यो जमिनमा कृषि बाहेक केही पनि गर्न नपाइने भन्ने हो भने त्यो जमिनको मूल्य बढ्दैन । कृषिको जमिन भनिएको छ, अरु प्रयोजनमा प्रयोग गर्न पाइदैन भने कि कृषि नै गर्नुपर्यो, होइन भने उसैले छोडेर हिड्छ । त्यसो हुँदा जमिनमा निजी स्वामित्व नराख्ने भनेर सरकारले केही गरिरहनै परेन ।

जमिनको उपयोगिता अनुसार वर्गिकरण नगर्दा हाम्रो देशको औद्योगिक विकास भएन भन्ने तपाईंको निष्कर्ष हो ?

काठमाडौं उपत्यकामा अहिले ५ वटा पाँचतारे होटलको माग छ भनिन्छ । त्यस्तो एउटा होटल बनाउन १५० रोपनी जग्गा चाहिएला । पहिलो कुरा त त्यति जमिन नै पाइदैन । पाइयो भने पनि ज्यादै महंगो पर्छ । २ करोड रुपैयाँ नै एक रोपनी जग्गा पाइयो भने (त्यति मूल्यमा पाइदैन) १५० रोपनीको साढे २ अर्ब रुपैयाँ पर्यो । जग्गा किन्न मात्रै साढे २ अर्ब पर्यो भने होटल बनाउन थप लगानी कहाँबाट जुटाउने ?

राज्यले भाडा खाने होइन । तर, नेपालमा भाडा खाने, व्याज खाने, जागिर खाने मेन्टालिटी छ । यो बदल्नुपर्छ । यी भाडा खानेले पनि देश बनाउँदैनन् । जागिर खानेले पनि देश बनाउन सक्दैनन् र व्याज खानेले पनि देश बनाउन सक्दैनन् ।

यहाँ त सरकारले कुनै लगानीकर्तालाई म १५० रोपनी जग्गा सस्तो व्याजमा दिन्छु, तिमीले होटल खोल भन्नुपर्ने हो । किनभने राज्यले भाडा खाने होइन । तर, नेपालमा भाडा खाने, व्याज खाने, जागिर खाने मेन्टालिटी छ । यो बदल्नुपर्छ । यी भाडा खानेले पनि देश बनाउँदैनन् । जागिर खानेले पनि देश बनाउन सक्दैनन् र व्याज खानेले पनि देश बनाउन सक्दैनन् । देश बनाउनको लागि मानिसहरु उद्यमी बन्नुपर्यो । उद्यमी बन्नको लागि जग्गा कहाँबाट ल्याउने ? पैसा कहाँबाट जुटाउने ? समय कति लाग्छ ? अरु देशमा एक वर्षमा बन्ने भवन हाम्रो देशमा ५ वर्षमा पनि तयार हुँदैन । यस्तो अवस्था भएपछि हाम्रो व्यवसायी अन्य देशको व्यवसायीसँग प्रतिस्पर्धी नै बन्न सक्दैन । यस्ता समस्याको गहिराईमा नपुगी व्यवसायीलाई चोर भन्दियो भने उनीहरुमाथि अन्याय हुन्छ । उद्योग खोल्ने जग्गा किन्दा नै उसको पैसा सकियो भने उसले उद्योग खोल्नै सक्दैन ।

अब हामी औद्योगिकरणतर्फ जाने हो भने सरकारले सातै प्रदेशमा १५ सयदेखि ३ हजार विगाह जमिन किन्ने र निश्चित शर्तको अधिनमा रहेर उद्योग खोल्न जमिन सस्तो भाडामा दिने गर्नुपर्छ । यसरी दिदा पनि कौडीको मूल्यमा जग्गा दियो भनेर संचार माध्यममै आउँछ । देशले त भाडा खाने होइन नि । जस्तो कि चन्द्रागिरी हिल्सको कुरा म सुनिरहेको हुन्छु । कसैले पैसा खाएर, अपारदर्शी किसिमले, प्रक्रिया पूरा नगरी जग्गा दिएको छ भने कारबाही गरौं ।

म अपारदर्शी काम गर्नेका पक्षमा छैन । मिडियाले के प्रश्न उठाएको म देख्छु भने चन्द्रागिरीले कति जमिन प्रयोग गरेको छ र कति भाडा तिरेको छ भनेर । मिडियाको मेन्टालिटी पनि भाडा खाने नै म देख्छु । चन्द्रागिरी हिल्समा वर्षको १० अर्बको कारोबार भयो भने भ्याट वापत नै १ अर्ब ३० करोड रुपैयाँ उठ्छ । त्यो जमिनको भाडा १ अर्ब ३० करोड रुपैयाँ कसैले तिर्न सक्छ ? अनि भाडा ठूलो भयो कि १ अर्ब ३० करोड कर धेरै भयो ? त्यसैले राज्यले के गर्दा बढी फाइदा छ, त्यतातिर जानु पर्यो । कम्युनिष्ट नै भनिने देश चीनले उद्योग गर्नको लागि निःशुल्क जग्गा दिन्छ । जाने वित्तिकै यो प्लटमा काम गर्नुस् भनेर जग्गा दिन्छ । ढोकासम्म नै बाटो ल्याइदिन्छ । सम्पूर्ण पूर्वाधार उपलब्ध गराइदिन्छ । किनभने उसले पर हेरेको छ । रोजगारी सिर्जना हुन्छ, उत्पादित वस्तु बेचेर विदेशी मुद्रा भित्रन्छ । राजस्व आउँछ र भविष्यमा यो प्रविधि पनि म भित्र्याउँछु भनेर उसले सोचिरहेको छ ।

यो कुरा त तपाईले नेताहरुलाई पढाउनु पर्ने भयो । किनभने अहिले एक जना वहालवाला मन्त्री नै पशुपतिको धर्मशाला सेभेनस्टार होटल जस्तो रहेछ भनेर सक्ड हुनुभएछ । हो, शुल्कका विषयमा उहाँले प्रश्न गर्न सक्नुहुन्थ्यो तर उहाँ त धर्मशालको सुविधा देखेर चकित पर्नुभएछ । वहालवाला मन्त्रीले त हाम्रो धर्मशाला पनि सेभेनस्टार स्ट्याण्डर्डको छ भनेर गर्व गर्नुपर्ने होइन र ?

पोलिटिसिएनलाई त म यो कुरा पढाएको पढायै छु । म फेरि एउटा उदाहरण दिन्छु । म एउटा कार्यक्रममा नारायणघाट गएको थिएँ । चितवन उद्योग वाणिज्य संघले हाम्रो चितवन कस्तो हुन्छ भनेर सो कार्यक्रम गरेको थियो । म मुख्य अतिथी थिएँ । मैले त्यहाँ आफ्नो सोचको केही कुरा राखेको थिएँ ।

नारायणीको दुबै छेउमा गोलाघाटसम्म म तटबन्द गर्छु । गोलाघाटमा ड्याम बाधेर पानी जम्मा पार्छु । अनि दुबैतिर फुललेनको हाइवे बनाउँछु र दुबैतिर रिसोर्ट बनाउँछु । अनि बेलुका बोटमा डिनर गर्ने, विहे पनि बोटमै गर्ने व्यवस्था मिलाउँछु । त्यो भयो भने लाखौं मानिसले त्यहाँबाट आम्दानी गर्ने अवस्था रहन्छ ।

जस्तो कि मैले भनेको थिए– मेरो समय र मलाई मौका मिल्यो भने नारायणीको दुबै छेउमा गोलाघाटसम्म म तटबन्द गर्छु । गोलाघाटमा ड्याम बाधेर पानी जम्मा पार्छु । अनि दुबैतिर फुललेनको हाइवे बनाउँछु र दुबैतिर रिसोर्ट बनाउँछु । अनि बेलुका बोटमा डिनर गर्ने, विहे पनि बोटमै गर्ने व्यवस्था मिलाउँछु । त्यो भयो भने लाखौं मानिसले त्यहाँबाट आम्दानी गर्ने अवस्था रहन्छ । म नारायणघाटमा समुन्द्र बनाउँछु । समुन्द्रमा हुने सबै सुविधा र विशेषता नारायणघाटमा हुन्छ भनेर सबैलाई बोलाउँछु भनेर मैले भनेको थिएँ ।

मेरो त्यो कुरा सुनेपछि एकजना मानिस मलाई भेट्न आए । मेरो प्रस्तावका विषयमा थप कुरा गरे । मेरो कुरा सुनेपछि ५/६ जना मिलेछन् । कम्पनी दर्ता गरेछन् र नारायणीमा स्टीमर चलाउने भनेर सुरु गरे । तर, कोभिड महामारीका कारण उनीहरुले पूर्वनिर्धारित समयमा स्टीमर चलाउन पाएका छैनन् । सम्भवतः बैशाखदेखि सुरु गर्लान् ।

मैले भन्न खोजेको के मात्रै हो भने सरकारले वाटो देखाइदिने हो, अवसर सिर्जना गरिदिने हो । बाँकी काम त व्यक्तिले गर्ने हो । सरकारले व्यवसाय कुनै पनि देशमा गर्दैन । हाम्रो देशमा सबैकुरा सरकारसँग प्रश्न गरिन्छ । आफ्नो काम गर्ने होइन, दिनभरी खेलेर बस्ने, अनि सरकारले गरिदिएन, म गरिब भएँ भन्ने ? काम गरेर खानु पर्यो । हामी नेपालमा अल्छी पनि छौं । राजनीतिक नेताहरुमा पनि अल्पकालिक, तथाकथित प्रचारबाजीमा, कुनै परिणाम नदिने काममा लाग्ने प्रबृत्ति देखियो । नागरिक पनि त्यस्ता कामको पछि लाग्नु भएन । अब हामी गम्भीर हुनुपर्छ । नेताहरु आफ्नो राजनीतिक उद्देश्यका लागि झगडा गर्छन् । जनता त्यसको पछि किन लाग्नु ? अब नागरिकले आफ्नो एजेण्डामा पार्टी रोज्नुपर्यो । हामीले त्यसो गरेनौं भने नेताहरुले जे पनि गर्छन् । अब नागरिक र नेताहरु दुईटैले दुइटैलाई खबरदारी गरिरहनु पर्यो ।

तपाईंले हजार र ५ सय दरका नोट छाप्न प्रतिवन्द्ध लगाउने कुरा पनि गर्नुभएको थियो नि ?

अब त्यो कुरा मैले भनिरहनै परेन । संसार नै त्यतातिर गइसक्यो । अहिले डिजिटल इकोनोमीले गर्दा हजार र ५ सय दरका मात्रै होइन, कुनै पनि नोट नै नचाहिने अवस्था आउन लागिसक्यो ।

तर, तपाईंले पहिला भ्रष्टाचार नियन्त्रणका लागि हजार र ५ सय दरका नोट छाप्न रोकौं भन्ने प्रस्ताव गर्नुभएको थियो, अहिले भन्नुभएको कुरा त प्रविधिसँग सम्बन्धित भयो नि ?

प्रविधिको मात्रै कुरा होइन । भ्रष्टाचार नियन्त्रण गर्ने एउटा एजेन्डा यो पनि हो । भ्रष्टाचार यहाँ मात्रै होइन, विश्वव्यापी समस्या हो । सन् १८७० सम्म बेलायत संसारकै सबैभन्दा भ्रष्ट मुलुक थियो । एकबेला अमेरिका असाध्यै भ्रष्ट मुलुक थियो । अमेरिकी राष्ट्रपतिका उम्मेदवार रुजबेल्टले आफ्नो चुनावी घोषणापत्रमा ‘नेता र कर्मचारी यति धेरै भ्रष्ट भए कि यसलाई कसरी नियन्त्रण गर्ने भनेर मलाई टाउको रिंगटा लाग्छ । अझ स्थानीय तहमा बढी भ्रष्टाचार छ ।’ उनीहरुले प्रविधि र प्रणाली विकास गर्दै गएर आधारभूत तहमा भ्रष्टाचार नियन्त्रण गर्दै गए । अमेरिकाले सानो दरको मात्रै नोट छाप्नु पनि यसैको एउटा सिलशिला थियो । अब उनीहरु डिजिटल करेन्सीमा जाने भए । यो विषय प्रविधि र भ्रष्टाचार नियन्त्रण दुबै विषयसँग सम्बन्धित छ । संसारै डिजिटल करेन्सीतिर गएपछि नेपालमा पनि नोट छाप्न छोडिन्छ ।

तर, म अहिले के भन्छु भने यो भ्रष्टाचार नियन्त्रणमा भन्दा पनि मानिसहरु आर्थिक गतिविधिमा लाग्नुपर्यो । अहिले नेपालको एक नम्बर समस्या भ्रष्टाचार होइन । भ्रष्टाचार हुँदाहुँदै पनि प्रगति गर्ने देशहरु छन् । भ्रष्टाचारप्रति म नरम भएर वा यसलाई हल्का ढंगले लिन खोजेको होइन । भ्रष्टाचार एउटा समस्या हो । तर, भ्रष्टाचारभन्दा पनि ठूलो समस्या मान्छेले कामै नगर्ने, आर्थिक गतिविधिमा नै नलाग्ने हो ।

अहिले सबै मान्छेलाई आर्थिक गतिविधिमा संलग्न गराउनु पर्यो । भ्रष्टाचार नियन्त्रण गर्ने बेला अहिले भएको छैन । अबको १५ वर्षपछि गर्नुपर्छ । कसैले कमाएको पैसा राज्यले चाह्यो भने एक सेकेन्डमा तानिदिन्छ । कुनै गाह्रो नै छैन । मैले सरकार चलाएको बेलामा के बुझें भने सरकारमा अलि स्मार्ट मान्छे बस्यो भने तपाईले कमाएको पैसा चाह्यो भने एक सेकेन्डमा तानिदिन्छ । तपाईंले केही फूर्ति गर्नुपर्दैन । राज्य त्यस्तो चिज हो । त्यसैले भ्रष्टाचार मुख्य समस्या होइन । आर्थिक गतिविधि बढ्दै गएपछि एक विन्दुमा भ्रष्टाचार पनि बढ्छ । अर्काे विन्दुमा पुगेपछि भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने आवाज पनि उठ्छ । नियन्त्रण गर्ने उपाय पनि खोजिन्छ र नियन्त्रण गर्नको लागि पैसा खर्च गर्ने क्षमता राज्यसँग पनि हुन्छ । तर, अहिले बेला भएको छैन । हाम्रो अर्थतन्त्र नै सानो छ । यही बेलामा तपाईंले करापझ्याप पारिदिनुभयो भने नेपालको पैसा बाहिर सिफ्ट हुन थाल्छ । नेपालमा लगानी हुने पैसा बाहिर पठाएर के गर्नु ? नेपालमै लगानी गर्नुपर्यो पहिला । अहिले त सबै कुरा फ्रि छ जस्तो गरेर लगानी गर्न दिनुपर्यो । पहिला कमाउन प्रेरित गर्नुपर्यो ।

कहाँ गयो पैसा ? चुनावको बेलामा अलिअलि चन्दा मागे होलान्, चुनावको बेलामा खर्च गरे होलान्, कार्यकर्तालाई खुवाए होला, पैसा सकियो । पैसा कहाँ गयो त ? पैसा व्यवसायीको हातमा गएको होला, व्यूरोक्र्याट्सको हातमा गएको होला, अलिअलि मिडियाको हातमा पनि गएको होला । बद्नाम राजनीति भएको होला ।

मैले केही मान्छेहरुलाई काउन्टर प्रश्न पनि गर्ने गरेको छु । जस्तो कि नेपालमा मल्लवंशले ६ सय वर्ष राज्य गरे । ल ६ जना मल्लको नाम बताउँनुस् त, मल्लको शासनकालमा कमाएर उसका उत्तराधिकारी, उसका सन्तती पनि धनी भएको ? त्यो त धेरै पुरानो कुरा गर्नुभयो भन्नुहोला । शाहवंशले साढे २ सय वर्षदेखि अस्तिसम्म शासन गर्दैथियो । २०६५ को जेठमा अन्त्य भयो । ल त शाहवंशको १० जना मान्छेको नाम बताइदिनुस् त, जसले लुटेर खाए भन्ने ? एउटा ज्ञानेन्द्रको बाहेक तपाई कसैको नाम दिन सक्नुहुन्न । पन्चले लुटेर खाए भनेर हामीले भन्यौं । कमाउने १० जना पन्चको नाम दिनुस् त ? काँग्रेसले खायो भनेर हामीले नै भाषण गर्दै हिड्यौं । मर्ने बेलामा खुमबहादुर खड्का सरकारले ५० लाख मलाई पनि दिए हुन्थ्यो, बाँच्थे कि भनेर निवेदन दिदैथिए । कहाँ गयो पैसा ? चुनावको बेलामा अलिअलि चन्दा मागे होलान्, चुनावको बेलामा खर्च गरे होलान्, कार्यकर्तालाई खुवाए होला, पैसा सकियो । पैसा कहाँ गयो त ? पैसा व्यवसायीको हातमा गएको होला, व्यूरोक्र्याट्सको हातमा गएको होला, अलिअलि मिडियाको हातमा पनि गएको होला । बद्नाम राजनीति भएको होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.