२०७८ माघ २० गते १३:५६ सन्तोष रोकाया
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १८ गते वाणिज्य बैंकका सीईओहरुलाई सम्बाेधन गर्दै एउटा पत्र पठायो । पत्रमा वाणिज्य बैंकहरुमा ७ लाखभन्दा बढी नगद कारोबारगर्नेहरुकाे सम्पूर्ण विवरण पठाउन निर्देशन गरिएकाे छ ।
राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागद्वारा जारी पत्रमा लेखिएको छ, ‘यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले त्यस बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ, सोही सन्दर्भमा त्यस बैंकबाट २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म प्रति कारोबार ७ लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारहरुको तोकिएको ढाँचामा विभागको इमेलमा माघ २४ गतेभित्र उपलब्ध गराइदिनु अनुरोध छ ।’
हुन नेपाल राष्ट्र बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई आफुले चाहेको अवस्थामा विभिन्न तथ्यांक तथा सूचनाहरु उपलब्ध गराउन आग्रह गर्दै आएको छ । तर, यस पटकको यो पत्रले बैंकहरु मात्रै होइन बैंकिङ च्यानलमार्फत ठूलो कारोबार गर्ने सेवाग्राहीहरुलाई पनि तरंगित बनाएको छ ।
राष्ट्र बैंकले ७ लाखभन्दा बढी नगद कारोबार गर्ने कारोबारीको विवरण किन माग्यो ? राष्ट्र बैंकले उनीहरुको विवरण मागेर के गर्न खोजेको हो ? अहिले यिनै र यस्तै विभिन्न प्रश्नहरु र चासो बैंकका सेवाग्राहीमा छ ।
राष्ट्र बैंक अहिले नै यी प्रश्नको जवाफ प्रष्ट दिन चाहँदैन । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकले विभिन्न विवरणहरु माग गर्नु नियमित प्रक्रिया नै रहेको बताउँछन् । तर, अहिले नै विवरण माग गर्नुको कारण भन्ने पक्षमा राष्ट्र बैंक नभएको उनले प्रष्ट पारे ।
‘हामीले विवरण माग गरेर यो नै गर्छौं भनेर अहिले नै भन्दैनौं, यसको प्रयोजन के भन्ने विषयमा पनि खुलाउन मिल्दैन, हामीले बैंकहरुलाई विभिन्न सूचनाहरु माग गरिरहेका हुन्छौं, ती सूचना माग गर्नुको आ–आफ्नै प्रयोजन हुन सक्छन्,’ उनले भने ।
राष्ट्र बैंक स्रोतका अनुसार अब राष्ट्र बैंकले प्रत्येक ग्राहकले कुन क्षेत्रमा लगानी गर्दैछ ? बैंकमा गरेको बचतको स्रोत केहो ? भन्ने लगायतका विषयमा सुक्ष्म निगरानी तथा अध्ययन गर्दैछ । पछिल्लो समय क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतका भर्चुअल करेन्सीमा लगानी भइरहेको भन्दै राष्ट्र बैंकले यस विषयको अध्ययन तथा निगरानी गर्न बैंकहरुसँग राष्ट्र बैंकले यो विवरण माग गरेको धेरैकाे बुझाई छ ।
सह–प्रवक्ता पोखरेल भने त्यस विषयबारे शंका गर्न पाइने तर्क दिन्छन् । ‘धेरैले राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको निगरानीका लागि पनि विवरण माग गरेको हो भनेर शंका गर्न सक्छन्, शंका गर्न पाइयो, कुन सेवाग्राहीले कहाँ खर्च गर्दैछ, कहाँ लगानी गरिरहेको छ भनेर हामीले जान्नु पर्ने स्वभाविक पनि हो, यसमा त्रसिनु पर्ने अवस्था छैन,’ उनले विकासन्युजसँग भने ।
नेपाल राष्ट्र बैंकले ७ लाखभन्दा बढी नगद कारोबार गर्ने ग्राहकको नाम, खाता नम्बर, कारोबार गरेको रकम, कहिले र किन निकालेको हो, लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनु भनेर बैंकहरुलाई पत्राचार गरेको हो ।
हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । यसबाहेक शंकास्पद कारोबार सम्बन्धमा अनिवार्यरुपमा वित्तीय जानकारी इकाईमा बैंक तथा वित्तीय संस्थाले जानकारी दिनुपर्ने प्रावधान छ ।
राष्ट्र बैंक स्रोतका अनुसार पछिल्लो समय बैंकमा भित्रिनेभन्दा बाहिरिने रकम बढेकोले कतै पैसा अनावश्यक क्षेत्र गइरहेको छ कि भन्ने बुझ्नका लागि पनि बैंकले यस्तो विवरण माग गरेको हो ।
‘बैंकमा भित्रिने भन्दा बाहिरिने रकम बढ्दो छ, त्यो रकम कुन ठाउँमा लगानी भयो भन्ने स्रोत भेटिँदैन, अब यसलाई औपचारिकता दिन अर्थात स्रोत पनि भेटिने किसिमले राष्ट्र बैंकले काम गर्दैछ, यसले नगद कुन वर्गले धेरै चलाउने रहेछ, कस्ता पेशा ब्यवसायमा बढी नगद प्रवाह हुने रेछ भन्ने विषय पनि जानकारी हुन आउँछ, त्यसैले याे विवरण माग गरिएकाे हाे’ राष्ट्र बैंक स्रोतले भन्यो ।
नेपाल राष्ट्र बैंकले अब ७ लाखभन्दा बढी कारोबार गर्नेमाथि सुक्ष्म ढंगले निगरानी तथा अध्ययन गर्नेछ । सोही अध्ययनका आधारमा राष्ट्र बैंकले एक्सन लिनेछ । पछिल्लो समय सरकारले क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतका भर्चुअल करेन्सी कारोबार गर्नेहरु माथि सुक्ष्म ढंगले निगरानी गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
यस्ताे हाेईन हरेक भुक्तानीकाे विवरण पठाउने नि। राष्ट्र बैकलाई कनम भएन रे क्या